एसियाकै ‘महान् नेता’ साबित हुँदै मोदीजी !

एसियाकै ‘महान् नेता’ साबित हुँदै मोदीजी !


■ राजेन्द्रप्रसाद पाठक

कर्मले उच्च सम्मान साथै महानतासमेत दिलाउँछ भन्ने कुरा केवल कहावत होइन । हिन्दूको महान् शास्त्र वेदको पनि वेदले यस कुराको पुष्टि गरेको छ । अझै भनौँ कर्म गर्नेहरू कहिलेकाहीँ ‘डिरेल’ पनि हुन्छन् । सकारात्मक आलोचनाले उनीहरूमा सुधार पनि ल्याउँछ । महान् व्यक्तित्वहरूले नै हो सकारात्मक आलोचनालाई आत्मसात् गर्ने । सोही वर्गमा पर्दछन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।

नेपालीको सन्दर्भमा यसो भनिरहँदा धेरैले विमति जनाउनु पनि अस्वाभाविक नहोला । किनकि कुनै समय हामीहरूले नै हो मोदी सरकारको नाकाबन्दी सहनुपरेको । तर, एकपटकको गल्तीलाई व्यवहारले नै आत्मबोध गरिसकेपछि हरहमेसा कुनै पनि अवस्थामा साथ रहनुपर्ने र हाम्रा अनेकन समता भएको समाज र सरकारप्रमुखप्रति नकारात्मक दृष्टिकोण राखिरहनु उति उचित नहोला ।

प्राणघातक कोरोना भाइरसले संसार आतङ्कित भइरहेको हालको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिङ्गो दक्षिण एसियाको नेतृत्व सम्हाल्दै बाप–दुस्मन ठानिएको पाकिस्तानलाई समेत एकसाथ लिएर सम्पूर्ण दक्षिण एसियाली आठै देशले यसमा ऐक्यबद्धता देखाउनु अर्काे सौभाग्य पनि हो । यता हाम्रा देशका प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले व्यक्तिगत स्वास्थ्य सङ्कटका बाबजुद स्वयम् भिडियो संवादमा सरिक भएर एउटा महान् उदाहरण प्रस्तुत गर्नुभएको छ । सङ्कटका घडीमा क्षेत्रीय मुलुकहरूको एकता र अदम्य साहसले हामी ढुक्क हुने स्थितिमा नभए तापनि समग्र जनताको मनोबल बढाएको छ ।

यस्तो असाध्य रोगसँग प्रतिकार गर्ने हेतुले र आयोजक राष्ट्रको हैसियतमा एक करोड अमेरिकी डलरबराबरको कोष खडा गर्दै अन्य सहभागी राष्ट्रलाई सहयोगको आह्वान उनै नरेन्द्र मोदीद्वारा शुरुवात गरिएको छ । जुनसुकै संकटको घडीमा समेत भारतले देखाएको चासो र सद्इच्छाले हामी नेपाली विगतका तिक्ततालाई पन्छाएर नतमस्तक भएका छौँ । यस्तो घडीमा हाम्रा अन्य छिमेकी र मित्रराष्ट्रहरूले समेत चासो नदेखाएका होइनन् । टाढाको देउता र करेसाको भूत भन्ने नेपाली उखानले पनि साबित गरेको छ कि भूतै भए पनि नजिककोसँग थप अपेक्षा गर्न सक्ने सम्भावना रहन्छ । त्यसैकारण संसारका सबै देश हाम्रा अनन्य मित्र हुन्, त्यसमाथि पनि भारत हाम्रो महान् मित्र हो भन्नेमा दुईमत नरहला ।

नेपाल र नेपालीको हरकोही सङ्कटको घडीमा ढाडसस्वरूप उभिने भारतसँग हाम्रा अनेकन रिजर्भेसन होलान् । एकै ठाउँमा सुतेपछि गोडा लाग्छ, तर त्यो पनि माफ हुन्छ भनेजस्तै हामी एक–अर्कामा राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, वैवाहिकलगायत अनेकन बन्धनमा बाँधिएका छौँ । हाम्रो हरेक किसिमका नाता–सम्बन्धहरू जोडिएका छन् । हाम्रो बेलाबखतको सामान्य टसलले पनि यस्तो सम्बन्धलाई अझै मजबुत बनाएको छ ।

इतिहासले दक्षिण एसियाको उदाउँदो शक्तिराष्ट्र भारतलाई मोदीजस्तो महान् हृदयको नेता दिएको छ । उनको महानताले हामी दक्षिण एसियावासी घनीभूत कृतज्ञ भएका छौँ । साथै यस्ता महान् नेताको पालामा नै हामीहरूले विगतका बाँकी उल्झनलाई निमिट्यान्न पार्ने किसिमको कूटनीतिक शैली अपनाउन सक्यौँ भने विगतको तिक्ततालाई समेत मिठास प्रदान गर्दै सिङ्गो नेपाल र दक्षिण एसियाकै भविष्य सुनिश्चित गर्न सकिन्छ । यो समयले दिएको महान् अवसरलाई हामी नेपाली र हाम्रो देशको सरकार, कूटनीतिक निकायले उपयोग गर्न सक्षम हुनु नै आजको प्रमुख आवश्यकता हो ।