कोरोनाको जोखिमप्रति सतर्कता अपनाउन नेका सभापतिको अपिल

कोरोनाको जोखिमप्रति सतर्कता अपनाउन नेका सभापतिको अपिल


नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘कोभिड–१९’ को सङ्क्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउँदै प्रभावकारी बन्दोबस्तीका लागि सरकारलाई गम्भीर भएर कार्य गर्न अपिल गरेका छन् ।

सोमबार (३ चैत) एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले सीमा नाकामा प्रभावकारी र भरपर्दो कडाई हुन नसक्दा कुनैपनि समय सङ्क्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याएका हुन् । कोरोना भाइरसले विश्वव्यापी रूपमा महामारीको रुप लिइसकेको स्थितिमा नेपालले अपनाउनुपर्ने सतर्कताबारे सबै गम्भीर हुनुपर्नेमा देउवाको जोड छ ।

यसको जोखिम सामना गर्न सरकारलाई सम्पूर्ण साथ रहने घोषणा गरिसकेको स्मरण गराउँदै सभापति देउवाले युद्धस्तरमा कार्य गर्न सरकारलाई आग्रह गरेका छन् । सम्भावित जोखिम सामनाका लागि दक्ष जनशक्ति तयार राख्न, जरुरी उपकरणदेखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइन तथा आइसियुसम्मको अभाव हुन नदिन सरकारले युद्धस्तरमा कार्य गर्नुपर्ने उनको जिकिर छ ।

पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको र कतिपय उद्योग र अन्य व्यावसायिक क्षेत्र सङ्क्रमण पूर्वको असर भोगिरहेको बताउँदै सभापति देउवाले समग्र निजी क्षेत्रको मनोबल उच्च राख्न बैंक कर्जाको ब्याजदर घटाउन तथा ऋण चुक्ताको समयावधि थप्न जरुरी रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आएमा विशेष गरी गरिबीको रेखामुनि रहेका, न्यून आय भएका नागरिक एवं दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकालाई अत्यन्तै कष्टकर अवस्था बन्ने बताउँदै उनले त्यस्ता व्यक्तिका लागि राहतको योजना ल्याउन सरकारसँग माग गरेका छन् ।

विद्यार्थीको शैक्षिक भविष्यलाई असर नपर्ने गरी जोखिमबाट उनीहरुलाई जोगाउन आवश्यक निर्णय र सतर्कताका लागि सरकारको ध्यानाकर्षण गराउँदै देउवाले स्वदेश र विदेशमा रहेका समस्त नेपालीलाई कोरोनाबाट सतर्क रहन र एक भएर यसको सामना गर्न अपिल गरेका छन् ।