कोरोनाविरुद्धको अभियानमा अष्ट्रियाको ‘कडाई’

कोरोनाविरुद्धको अभियानमा अष्ट्रियाको ‘कडाई’


Sagar Subedi, Vienna

कोरोना (COVID 19) संक्रमणको जोखिमका साथै यसको समाधान निमित्त अष्ट्रियन सरकारले १४ मार्चमा प्रस्तुत गरेको सम्भावित रोकथामका प्रावधान एवम् महामारीबाट जनतालार्ई सुरक्षित बनाउनका निमित्त छुट्टाइएको बजेटलार्ई अष्ट्रियन संसदले जस्ताको तस्तै पारित गरेको छ ।

वर्तमान भयावयी अवस्थासँग जुझ्न, सम्भावित खतरा टार्दै अर्थतन्त्रलाई मजबुत बनाउन, व्यवसायी तथा श्रमिकहरूलार्ई पर्न सक्ने संकटमा सहयोग गर्ने हेतुले सम्पूर्ण विषयमा समग्रमा मुल्याङ्कन गर्दै नयाँ ‘कोरोना नियन्त्रणसम्बन्धी कानुन’ निर्माण गरी संसदबाट पास भएको र १५ मार्च मध्यरातबाटै लागू गरिएको अष्ट्रियन संसदका सभामुख ओल्फगाङ सोबोट्काले घटना र विचारलाई जानकारी दिए ।

चान्सलर (प्रधानमन्त्री) सिबास्टियान कुर्जले आइतबार संसदमा विविध विषयहरू समेटेर प्रस्तुत गरेको मस्यौदा कानुनलाई सिङ्गो संसदले विवादरहित बनेर पास गरेको बताइएको छ भने नयाँ कानुनमा सर्वप्रथम श्रमिकका साथै ब्यवसायी वर्गलाई पर्न जाने तत्कालिन नोक्सान पूर्ति गर्नका निमित्त कुर्ज सरकारले चार हजार मिलियन युरो (लगभग ५३ खर्ब नेपाली रुपैयाँ बराबर) राहतस्वरुप एक आकस्मिक प्याकेजको रुपमा बिनियोजन गरेको छ । जसनुरूप आज (१६ मार्च, सोमबार)बाट आउँदो तीन हप्ताका लागि सम्पूर्ण ब्यवसाय (फार्मेसी, दैनिक उपभोग्य बस्तुका पसल र सुपरमार्केट, पेट्रोल स्टेसन, ब्याङ्क, टोबाको बाहेकका) बन्द गर्ने सरकारी निर्णयसँगै नागरिकहरूलाई पनि अति आवश्यक कृयाकलाप (जस्तै– दैनिक उपभोग्य सामग्री खरिद, अर्को कुनै व्यक्तिलाई सहयोग या मेडिसिनसँग सम्बन्धित व्यक्तिहरू) बाहेक बिनाकारण जो–कोही बाहिर निस्किएको खण्डमा ३६०० यूरो (चार लाख पचहत्तर हजार रुपैयाँ) सम्म जरिवाना गरिनुका साथै कुनै ब्यवसायीले कानुनको बर्खिलाप गरि पसल या उद्योग सञ्चालन गरेको पाइएमा ३० हजार युरो (चालिस लाख नेपाली रुपैयाँ) सम्म जरिवाना गर्न सकिने भनिएको छ ।

यो अवस्थालाई मध्येनजर गर्दै अस्पतालमा काम गर्ने डाक्टर, नर्स, नागरिकको सेवामा रहिरहने प्रहरी, सेना, फायर फाइटर, एम्बुलेन्समा कार्यरत कर्मचारीहरूलाई हालको लागि सम्पूर्ण छुट्टि कटौती गरेर तम्तयार अवस्थामा रही नागरिकको सेवामा लाग्न निर्देशन दिइएको छ भने सम्पूर्ण देशी तथा विदेशी नागरिकलाई संक्रमणबाट जोगिनका लागि आफ्नो घर छोडेर बाहिर नजान आग्रह गरिएको छ । साथै, कसैले कानुनको उलंघन गरेको खण्डमा कडा कारवाही गरिने चेतावनी पनि दिइएको छ ।

रक्षामन्त्री क्लाउडिया तानेरले संसदमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै सोमबारदेखि अष्ट्रियामा रहेका करिव ५० हजार सिभिल सर्भिसको तालिम लिएका मिलिसियाहरूलाई असक्त नागरिकको सहयोगमा खटाउन सकिने तथा सडकमा सेना–प्रहरीको संयुक्त गस्ती गरिने जानकारी दिइन् ।

यो समाचार तयार गर्दैगर्दा अष्ट्रियामा ८६० जना नागरिकमा कोरोना संक्रमण भेटिएको, ६ जना निको भएर घर फर्केको साथै एक व्यक्तिको मृत्यु भएको र जति पनि संक्रमितहरू थिए– धेरै भन्दा धेरै इटालीबाट छुट्टि मनाएर फर्किएकाहरू रहेको, त्यसमा पनि बढी संक्रमण संघीय राज्य टिरोलमा रहेको विवरणहरूमा जनाइएका छन् भने संघीय राज्य टिरोलका केही जिल्ला तथा गाउँलाई सम्पूर्ण रुपमा आइसोलेसनमा राखिनुका साथै भनिएको छ कि ‘यदि तपाईमा कुनै संक्रमणको सम्भावना छैन भने पनि घर नछोड्नु ।’

अष्ट्रिया प्रवेश गर्ने सम्पूर्ण (जर्मन, स्विस, इटाली, स्लोभानिया, लिख्तेस्टाइन, हंगेरी, चेक, सोलोभाक) देशका नाकाहरू सिल गरिएको छ भने विश्वभर रहेका आफ्ना नागरिकलाई सकेसम्म छिट्टै घर फिर्ता हुन र तत्सम्बन्धी सहयोगका लागि परराष्ट्र मन्त्रालयको हटलाईनमा सम्पर्क गरी आवश्यक सुचना तथा सहयोग प्राप्त गर्न सकिने जानाइएको छ ।

विश्वविद्यालयहरू बन्द गरिएको छ भने अष्ट्रियाका स्कुलहरूमा पढ्ने विद्यार्थीलाई घरबाट अनलाईनमै पढ्न सकिने ब्यवस्था गरिएको छ । यस्तै, बाबु–आमा दुवै काममा जानैपर्ने तर घरमा चौध वर्षभन्दा मुनिका नानी–बाबुलाई स्याहार गर्ने कोही छैन भने त्यसको लागि स्याहारको ब्यवस्था गरिएको छ । खेलकुदसँग सम्बन्धित सम्पूर्ण क्रियाकलाप साथै स–साना नानी–बाबुहरू खेल्ने खेल्ने ठाउँ सम्पूर्ण रुपमा बन्द गरिएको छ । सभा–सम्मेलनहरू हालका लागि स्थगित गरिएको छ भने समूहमा पाँच जनाभन्दा बढीको संख्यामा सँगै सडकमा हिँडेको पाइएमा नयाँ कानुनअनुसार कारवाही गरिने जनाइएको छ । अति आबश्यक कामबाहेक सम्पूर्ण रुपमा आफ्नो घरमै बसेर संक्रमणबाट जोगिन आग्रह गरिएको छ ।

दैनिक विभिन्न समयमा चान्सलर कुर्जले देशवासीका नाममा अपिल गर्दै हाम्रो साथ र समझदारीले मात्र यो रोगसँग लड्न सकिने भन्दै संयम रहन आग्रह गरेका छन् भने फेक समाचारहरूमा विश्वास नगरी सत्य सूचनाका लागि सरकारी वेबसाइट तथा हटलाईनहरूमा सम्पर्क गरेर यथार्थ बुझ्न पनि आग्रह गरेका छन् ।

तपाई अष्ट्रियामा बसोबास गर्नुहुन्छ ?

तपाईलाई कोरोना भाइरस लागेको शंका छ ? तीमध्ये तलका लक्षण महसुस भएको छ ? जस्तै–

तपाईलाई ज्वरो आएको छ ?
खोकी लागेको लाग्यै छ ?
स्वास फेर्न असजिलो महसुस भएको छ ?
कुनै संक्रमित व्यक्तिसँग तपाईको सम्पर्क भएको थियो कि ?

यस्तो हो भने तपाई कुनै अस्पताल तथा तपाईको डाक्टरकहाँ नजानुहोस् । १४५० मा फोन गर्नुहोस् र तपाईको अवस्थाबारे जानकारी गराउनुहोस् । तपाईको लागि सम्पूर्ण जानकारी तथा निर्देशन, उपचार यहीँबाट सुरु हुनेछ ।

तपाई अष्ट्रियाबाहिर बाँकी विश्वमा बसोबास गर्नुहुन्छ ?

तपाई कुनै संक्रमण शंका लागेको व्यक्तिको छेउमा हुनुहुन्छ ? तुरुन्त तपाईंले आफुलाई एकदेखि दुई मिटरको फरकमा राख्नुहोस्,
भीडबाट टाढा बस्नुहोस्,
यो भाइरस सर्नको लागि (हाछ्युँ बाहेक) साधारण अवस्थामा १५ मिनेटको समय आवश्यक हुन्छ भनिएको छ,
कुनै मान्छेसँग अंकमाल तथा हात नामिलाउनुहोस्,
सार्वजनिक सवारी नचढ्नुहोस् ।

तपाईको उमेर ६० भन्दा माथि छ ?
चिनीरोग छ ? औषधि सेवन गरिरहनु भएको छ ?
उच्च रक्तपातको रोगी हुनुहुन्छ ? औषधि सेवन गरिरहनुभएको छ ?
केमो थेरापी लिइरहनु भएको छ ?
इम्युनीटी शक्तिमा कमी छ ?
यदि छ भने तपाई वर्तमान संक्रमण अवधिभर घरबाहिर नानिस्किनुहोस !

कोरोना ब्यक्तिबाट व्यक्तिमा मात्र सर्दछ, हावाबाट सरेको आजसम्म पाइएको छैन । त्यसैले अर्को व्यक्तिसँग टाढा रहनु नै संक्रमणबाट बच्ने उत्तम उपाय हुन जान्छ ।

(घटना र विचारका अष्ट्रियाका विशेष प्रतिनिधि सुवेदी पेसाले नर्स हुनुहुन्छ । उहाँलाई https://twitter.com/sagaraustria मा Follow गर्न सकिन्छ !)