टोकियो ओलम्पिक निर्धारित समयमै हुन्छ : प्रधानमन्त्री आवे

टोकियो ओलम्पिक निर्धारित समयमै हुन्छ : प्रधानमन्त्री आवे


कोरोना भाइरसको महामारी विश्वभर फैलिरहेको अवस्थामा जापानका प्रधानमन्त्री सिन्जो आवेले महत्वपूर्ण घोषणा गरेका छन् । प्रधानमन्त्री आवेले टोकियो ओलम्पिक र पारालम्पिक खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने घोषणा गरेका हुन् ।

ओलम्पिक र पारालम्पिक खेलहरू निर्धारित समयमै हुने बताउँदै प्रधानमन्त्री आवेले कोरोना भाइरसले गर्दा अन्य देशको जस्तो नाजुक स्थिति जापानको नभएको बताए । साथै, कोरोनाले गर्दा जापानमा इमर्जेन्सी लगाउनु पर्ने अवस्था नभएको पनि उनले प्रस्ट पारेका छन् ।

प्रधानमन्त्री आवेले भने– ‘हामी सबैभन्दा पहिले कोरोना भाइरसको सङ्क्रमणको जुन किसिमले प्रचारप्रसार भैरहेको छ, त्यसबाट टाढा रहन चाहन्छौँ र योजनाअनुसार नै विना बाधा–अड्चन ओलम्पिक खेलकुदको आयोजना गर्न चाहन्छौँ ।’

त्यसको लागि सर्वप्रथम आफू फुकुसिमा शहर जान चाहेको र त्यहाँबाट ओलम्पिक मशाल रिलेको शुभारम्भ गर्दै त्यसको गवाह बन्न चाहेको खुलासा आवेले गरे । ओलम्पिक मशालको रिले यही मार्च २६ तारिखदेखि शुभारम्भ हुँदैछ ।

कोरोना भाइरसका कारण यतिबेला टोकियो ओलम्पिक २०२० को आयोजना अनिश्चित बन्दै गएको थियो । जापानमा ७ सय भन्दा बढी व्यक्ति कोरोनाबाट संक्रमित छन् । साथैै अहिलेसम्म जापानमा कोरोना भाइरसका कारण २१ ब्यक्तिले ज्यान गुमाइसकेका छन् ।

यस्तो विषम परिस्थितिमा पनि आयोजक जापान सरकार र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले ओेलम्पिक खेलको तयारी सूचारु रुपले चलिरहेको र ओलम्पिक एवम् पारालम्पिक स्थगित हुने कुनै सम्भावना नरहेको जानकारी गराएका छन् । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीका कारण जापानमा आयोजना हुने टोकियो ओलम्पिक २०२० हाललाई स्थगित गर्नुपर्ने र एक वर्ष समय सारणी गर्नुपर्ने सुझावसहितको व्यक्तिगत धारणा राखेका थिए ।

ओलम्पिकको आयोजनाको बारेमा ट्रम्पको यस्तो सुझाव आएपछि प्रधानमन्त्री आवेले ट्रम्पसँग टेलिफोनमा वार्ता गर्दै टोकियो ओलम्पिक स्थगित गर्नुपर्ने कुनै कारण नभएको प्रस्ट पारेका छन् । साथै कोरोनाकै कारण जापानमा इमर्जेन्सीको घोषण गर्नुपर्ने स्थिति नरहेको पनि बताए ।

साथै ओलम्पिक आयोजनाको मितिअगावै जापानले कोरोना संक्रमणमाथि नियन्त्रण पाउने र विना भय र त्रासमा टोकियो ओलम्पिको निर्धारित समय अर्थात् जुलाईमा नै सफल आयोजना गर्ने प्रधानमन्त्री आवेले ठोकुवा गरे । यतिबेला टोकियो ओलम्पिकलाई कोरोनाको भयबाट मुक्त गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका पदाधिकारीहरुसँग छलफल भैरहेको र उनीहरुको सकारात्मक सुझावकै कारण ओलम्पिक निर्धारित समयमा हुने प्रधानमन्त्री आवेले दाबी गरे ।

स्मरणीय छ, विश्वभरि अहिले १ लाख ४५ हजार व्यक्ति कोरोना भाइरसबाट संक्रमित छन् । कोरोनाकै कारण ५ हजार ४ सयभन्दा बढी व्यक्तिको मृत्यु भैसकेको छ ।