आत्मघाती बाटोमा काङ्ग्रेस

आत्मघाती बाटोमा काङ्ग्रेस


■ राजबाबु शङ्कर

नेपाली राजनीतिका ख्यातनाम मूर्धन्य राजनेता बीपी कोइरालाको विरासत पाएको अहिलेको मुख्य विपक्षी नेपाली काङ्ग्रेस केही वर्षयता ‘बिचरा’को नियति भोग्दै जेनतेन आफ्नो अस्तित्व धानिरहेको छ ।

लोकतान्त्रिक भनिइने र मानिने पनि काङ्ग्रेसको यस्तो दुर्गतिमा प्रथमतः सभापति शेरबहादुर देउवा मूल रूपमा जिम्मेवार भनौँ या दोषका भागी हुन् । उनले जिमिनदारी शैलीमा पार्टी हाँकिरहेको उनकै गतिविधि साक्षात् प्रमाण बनिरहेका छन् ।

उनी पार्टीको सुप्रिमो भएदेखि हालसम्म एकछत्र मनखुसी गरिरहेका छन्, तर पार्टीलाई बिर्ता ठान्ने उनको शैलीविरुद्ध काङ्ग्रेसका उनीइतर खेमाका कसैको पिताम उनलाई ‘साइज’मा राख्न सक्ने आजपर्यन्त देखिएको छैन । उनका विरोधी वा उनको शैलीका निन्दक जोसुकै हुन्, सबै नै निम्छरा साबित भइरहेका छन् । बीपीपुत्र डा.शशांक कोइराला, जो महामन्त्री नै छन्, पनि निरीह नै पाइएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलको ट्याउँट्याउँ र एकाध अन्य जोकोहीको चेतावनी, धाकधम्की पनि आजसम्मै टाइँ–टाइँ फिस्स नै भइरहेको जोकोहीका अगाडि छ ।

अब काङ्ग्रेसको १४औँ महाधिवेशन लगभग एक वर्ष मात्र बाँकी छ । तर, अहिलेसम्मै अर्थात् ४ वर्षअघि १३औँ महाधिवेशनकै म्यान्डेट गुजारेर पनि देउवाले किस्ता–किस्ता गर्दै धमाधम पार्टीका भ्रातृ–भगिनी, विभागीय प्रमुख, केन्द्रीय सदस्यलगायतको मनोनयन जारी राखेकै छन् । बहुमतीय आफ्नो गुट सिर्जना गरेका उनको यस्तो म्याद गुज्रिएका कामहरूबारे कतिपय केन्द्रीय नेता हदैसम्म चुनौतीको हुँकार भर्ने गर्छन्, तर तिनको जस्तोसुकै हुँकार अर्थनबर्थ गोविन्द गाई नै भइरहेका छन् ।

स्वभावतः काङ्ग्रेसमा विवाद चरम भइरहेको छ, आन्तरिक कलह बढ्दो छ । सभापतीय नियमित कार्यकाल चार वर्षसम्म चुप लागेर एक वर्ष अवधि थप गर्दै देउवाले फागुन १७ गते १३ विभागीय संयोजक तोके, पाँचजनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरे, यसैबीच पुनः आफूनिकट सात विभागीय संंयोजक थपे । तर, पौडेल या सिटौला वा गगन प्रभृत्ति घघडान नेताहरू विरोधको स्वर उराल्नुमा मात्रै सीमित हुन परेको छ, अर्थात् उनीहरूको विरोधको अर्थ आगामी महाधिवेशनमा देखिन सक्ला; तर आजका दिनहरूसम्म भने कुनै माने राखेको पाइएको छैन ।

आरोपकै बयान गर्ने हो भने त सभापति देउवामाथि पदको दुरुपयोग गर्दै आफ्ना मान्छेलाई पार्टीमा भर्ती गरेको र पैसा बाँडेर शक्ति आर्जन गरिरहेको भन्ने छ । र, देउवाकै कारण पार्टीको आन्तरिक जीवन विशृङ्खलित र सार्वजनिक प्रतिष्ठा खस्केको भन्ने छ । यो धेरै हदसम्म साँचो हुन सक्छ । पार्टीभित्र विकृति नबढेको पनि होइन, यो नाङ्गो सत्य हुँदै हो । तर, यतिका वर्षसम्म देउवाको गुटगत राजनीतिलाई परास्त गर्न किन कोही कसैले सकेनन् त ?

अर्थ लगाइन्छ– देउवाका अघि ती शायद बाउन्ने छन् । काङ्ग्रेस पार्टीको धाराबाहिक गाईजात्रे शृङ्खलामा अब त हेर्न के मात्रै बाँकी रह्यो होला भने, आगामी महाधिवेशनबाट समेत देउवाले आफ्नो पकड दोहोऱ्याउलान् र उनका खुँखार विरोधी खेमाबद्धहरू अर्को चार र थप एक वर्षसमेत ‘पुनः मुसिको भवः’ हुँदै पनि विरोध गरिरहेका होलान् । तर, यति हुँदाहुँदै पनि राष्ट्रिय राजनीतिमा काङ्ग्रेसको यस्तो हविगत छ, जुन लोकतन्त्रसापेक्षचाहिँ हुँदै होइन ।