किन अलग भए उषा र जीपी ?

किन अलग भए उषा र जीपी ?


केही महिनाअघिदेखि चलेको हल्लालाई सत्य सावित गर्दै पूर्व मिस नेपाल उषा खड्गीले सञ्चारकर्मी जिपी तिमिल्सिनासँगको वैवाहिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेकी छन् ।

जीवनको लामो समय सँगै बिताउँदा पनि आफूमाथि शारीरिक तथा मानिसक यातना नरोकिएको र जिपीमा सुधार नआएकाले आफूले सम्बन्ध अन्त्य गर्ने निर्णय लिएको खड्गीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छन् ।

आफ्नो सत्रवर्षे लामो वैवाहिक जीवन अन्त्यको घोषणा गर्दै उनले आफूलाई साथ र समर्थन दिने सबैलाई ‘धन्यवाद’ भनेकी छिन् । साथै, सबैको समर्थनले आफूलाई अझै आत्मबलका साथ उभिन र आफ्ना सन्तानका लागि हरदम लड्न साहस पैदा गर्ने उनले बताएकी छन् ।

उषाको विवाह नेपाल टेलिभिजनको पूर्व कार्यक्रम प्रस्तोता जिपी तिमिल्सिनासँग भएको थियो । टेलिभिजन कार्यक्रमले उनीहरूको जोडी जुराएको थियो । उन्नाइस वर्षअघि चिनजान भई प्रेम सम्बन्ध बढाएका उषा र जिपीले १७ वर्षअघि अन्तरजातीय विवाह गरेका थिए ।

सन् २००० मा आयोजना भएको मिस नेपाल प्रतियोगिता जितेर उषा खड्गी सातौं मिस नेपाल कहलिएकी थिइन् । उषा सन् १९९९ मा मिस पोखराको पहिलो उपविजेता थिइन् र पछि उनले सन् २००० मा मिस वीरगञ्ज भाग लिँदै पहिलो उपविजेता भएकी थिइन् ।

वीरगञ्ज निवासी उत्तमबहादुर खड्गी र उर्मिला खड्गीकी छोरी उषा तीन दिदी–बहिनी र एक भाइमध्ये जेठी हुन् ।

उषा र जीपीको वैवाहिक जीवनमा खटपट देखिएको कुरा ६ महिनाभन्दा अघिदेखि उनीहरूका परिजन एवम् ‘फ्रेण्ड सर्कल’बीच चर्चामा थियो । वैवाहिक जीवनमा खटपट परेपछि दुवै डिभोर्सको स्थितिमा पुगेको हल्ला चलेको थियो । सामान्य घर झगडा बढेको उतिबेलै दुवैले स्वीकारे पनि डिभोर्स गर्ने भने चर्चाचाहिँ हल्ला मात्र भएको जीपीले प्रतिक्रिया दिएका थिए । तथापि, सामाजिक सञ्जालमा उषाले आफ्ना छोराछोरीका तस्बिर मात्र अपलोड गर्ने र जीपीले पनि सामाजिक सञ्जालमा उषा खड्गीसँगका तस्बिर शेयर नगर्ने गरेबाट यी दुई छुट्टिने अवस्थामा पुगेको अडकल काटिएको थियो ।