‘पहिले उठाए सुनसानको फाइदा, अहिले भिडको आड लिँदै छन्’

‘पहिले उठाए सुनसानको फाइदा, अहिले भिडको आड लिँदै छन्’


■ आचार्य प्रभा (अमेरिका)

२८–३० वर्षअघिको कुरा हो । त्यो समय म तीन छोरीकी आमा भए पनि त्यस्तो उमेर गएको देखिन्न थिएँ । भनौँ मलाई भरसक त विवाहित पनि भन्दैन थिए कतिले । त्यतिबेला गीत रेकर्ड गराउने उद्देश्यले केही समयको निम्ति म काठमाडौं गएकी थिएँ । एक दिनको कुरा हो, त्यो दिन शनिबार थियो । म लगनखेल दिदीकोमा बसेकी थिएँ । मलाई कमलादी रेकर्डिङ स्टुडियोबाट तुरुन्त फोटो खिचेर लिएर आउनु भन्ने फोन आयो । म हतारको साथ उक्त ठाउँमा गएँ । त्यहाँ पुगेपछि म फेरि फोटो खिच्न भनी कमलादीबाट फोटो स्टुडियो खोज्दै पुतलीसडकतिर लागेँ । यस्तै दिनको १–२ बजेको हुँदो हो । दिन धुम्म थियो । मान्छेको आवतजावत थिएन । छिटपुट ट्याक्सी र बाइकहरू एक–दुईवटा गुडिरहेका थिए ।

म आफ्नो धुनमा घोप्टिएर सडकको दाहिने किनाराबाट पुतलीसडकतिर गइरहेकी थिएँ । म नितान्त आफ्नो एकसुरमा हिँड्दै थिएँ । अचानक म झसङ्ग भएँ । कता–कता मेरो छेउमा एउटा बाइक बिस्तारै गुडिरहेको आभास मलाई भयो र यसो टाउको उठाएर त्यो बाइकतिर हेरेँ । दुईजना मानिस सवार थिए । ती दुवैले चस्मा र माक्स लगाएका थिए । मैले यसो हेर्नासाथ त्यो बाइक कुदाउनेले चाहिँ मलाई टाउकोको इशाराले कहाँ गएको ? भनेजस्तो गऱ्यो, तर मैले वास्ता गरिनँ ।

म आफ्नो सुरमा हिँडिनै रहेकी थिएँ । फेरि उसरी नै बाइक मेरै छेउमा ल्याएर बिस्तारै गुडाउन थाल्यो । म छक्क परेँ । किन यो मान्छेले बाइक पनि मान्छे हिँडाए जसरी बिस्तारो चलाएको होला भनेर । यसो पुलुक्क हेरेको त पछाडि बस्ने मान्छे गायब । अनि त त्यो मान्छेले म सँगसँगै बाइक बिस्तारै गुडाउँदै कहाँ जाने हो ? म पुऱ्याइदिन्छु भन्न थाल्यो । मैले पनि भनिरहेकी छु– काहीँ टाढा होइन, यही पुतलीसडक हो भन्दा पनि त्यो मान्छे बाटो नै रोक्न खोजेर एकोहोरो म पुऱ्याइदिन्छु भन्छ । म पनि रिसाएर जवाफ दिइरहेकै छु कि म आफैँ जान सकिहाल्छु नि । तपाईंलाई केको साह्रो पऱ्यो हँ ?

अँ हँ … त्यो मान्छे टेर्नेवाला छैन । त्यसपछि त त्यसले मलाई बाटो नै छेक्न खोजेर ‘नाम के हो ?’ भन्दै एकोहोरो सोध्न थाल्यो । मैले निकै रिसाएर जवाफ दिए पनि त्यो मान्छे टेर्नेवाला छैन । मलाई हिँड्न पनि दिँदैन । एकछिनपछि त ‘मलाई तिमी मन पऱ्यो’ पनि भन्न थाल्यो । मैले बेस्सरी कराएर गाली गरेँ र पनि जाने नाम लिँदैन । मैले आफ्नो सही कुरा भनेँ, म तीनजना बच्चाकी आमा हुँ । म बूढी भइसकेको मान्छे भन्छु अँ हँ.. पत्याउँदैन । कसै गर्दा पनि नछोड्ने भएपछि मैले फोन गरेर मेरो मान्छे बोलाउँछु भनेर डर देखाएँ । त्यसपछि चाहिँ त्यो मान्छे बल्ल अलिक स्पिडमा गयो कमलादी मोड काटेर ।

म ढुक्क भएँ । बल्ल पिछा छाड्यो भनेर र म पुतलीसडकको दाहिनेतिर स्टुडियो खोज्दै लागेँ । अहिलेको जस्तो पुतलीसडक भिड थिएन । धन्न एबीसी या यस्तै नाम भएको स्टुडियो भेटेँ र फोटो खिचाएँ । मैले त त्यो मान्छेलाई बिर्सिसकेकी थिएँ । फोटो इमर्जेन्सी छ भनेर दुई घन्टा पर्खिने आग्रह गरे स्टुडियोवालाले । म बसिरहेकी थिएँ फोटो पर्खेर, त्यो दिन शनिबार परेकोले सबैतिर बन्द थियो । खै किन हो त्यो स्टुडियोचाहिँ खुला भएर मैले मौका पाएँ ।

केही समयपश्चात् मेरो आँखा बाटोपारितिर पुग्यो । यसो हेर्छु त त्यही मान्छे ठीक अगाडि बाटोमा बाइक रोकेर मलाई नै हेरिरहेको छ । अनि त मलाई डर लाग्यो । मैले त्यो स्टुडियोको केटालाई भनेँ । ‘भाइ हेर्नु न ऊ परको त्यो मान्छेले मलाई अघि पनि निकै पिछा गरेर दिक्क लायो । बल्लबल्ल म यहाँसम्म आएँ । मैले रिसाएपछि त गएको थियो । ऊ परबाट हेरिरहेको छ भाइ । मलाई मद्दत गर्नु न । त्यसले मेरो पिछा छाड्दैन जस्तो छ । मलाई कमलादीसम्म पुऱ्याइदिनु न भनेँ । त्यो केटो त उल्टो डराएर ‘होइन.. आज शनिबार हो पसल बन्द गर्नुपर्छ । बरु म फोटो दिन्छु तपाईं आफैँ जानुहोस्’ पो भन्छ । त्यसपछि त मेरो हंशले ठाउँ छोड्यो ।

मलाई निकै डर लाग्न थाल्यो । त्यो चण्डाल परबाट उसरी नै घुरिरहेको छ । त्यो लाछी केटोले त सहयोग गर्नुको सट्टा मलाई बाहिर निकालेर हतारहतार पसल बन्द गरेर बाटो लाग्यो । म दोधारमा परेँ । अब के गरूँ ? भयो । यसो हेरेको अलिक पल्लोपट्टि टेलिफोन भएको एउटा किराना पसल खोल्दै गरेको देखेँ र हतारहतार त्यतातिर लागेँ, त्यो मान्छेले अझै मलाई निगरानी गरिरहेकै थियो । मैले ब्यागबाट डायरी निकालेर घरमा फोन गरेँ । घरमा पनि दिदीकी छोरी मात्र थिई, फोन उठाई । मैले वृत्तान्त कुरा उसलाई भनेँ । उसले म साथीहरूलाई फोन गरेर त्यो ठाउँमा जाउ, भन्छु । त्यहाँबाट तपाईं कतै नजानु भनी । म त्यहीँ उभिइरहेँ ।

केही समयपछि उसका दुईजना साथीहरू आए । ती दुई केटा आएर मेरोछेउमा बाइक रोक्नासाथ त्यो मान्छे टाप ठोक्यो । ती केटाहरूले देख्दै देखेनन् । मैले उल्लु बनाएजस्तो भयो । केही समय तिनीहरूले पर्खिए, त्यो मान्छे गायब भयो । अनि ती केटाहरूले भने आन्टी हामी जान्छौँ, अब त्यो नआउला, नडराउनुहोस् भनेर बिदा मागे । मैले पनि नाइँ भन्न सकिनँ उनीहरू बाटो लागे । केही समयपछि त त्यो मान्छे फेरि प्रकट भयो । अब भने झन् मेरो हंशले ठाउँ छाड्यो । म निकै त्रसित भइसकेकी थिएँ ।

त्यो मान्छे त्यहीँ टहलिरहेको थियो फेरि मैले अर्को ठाउँमा फोन गरेँ जुन व्यक्तिसँग मेरो भेटघाट थिएन । ऊ मेरो रचनाको शुभचिन्तक थियो । हाम्रो निकै समय अघिदेखि पत्राचार हुन्थ्यो । त्यो समय उसको फोन नम्बर मसँग थियो र मैले उसलाई प्रत्यक्ष नदेखे पनि उसको विचार र भावना मलाई राम्रै लाग्थ्यो । मैले उसलाई फोन गरेर आफ्नो अवस्थाबारे बताएँ, ऊ पनि आधा घन्टापश्चात् आयो । त्यो मान्छे उसरी नै पारिबाट मलाई वाच गरिरहेको थियो । जब मेरो मित्र पनि उसरी नै हेल्मेट कालो चस्मा र माक्समा आयो । पहिला त उससँग नै म त्रसित बनेँ उसरी नै । तर जब उसले माक्स र चस्मा खोलेर मलाई छेउमा आएर भन्यो म नै हुँ फलाना भनेर । त्यो देख्नासाथ त्यो अघि टाप ठोकिसकेको रहेछ । हाम्रो पनि नयाँ भेट थियो हामी एकछिन त्यहीँ उभिएर कुरा गर्दै थियौँ । केही समयपछि त एउटी युवती पछाडि राखेर फेरि त्यो व्यक्ति त हाम्रै छेउबाट हुइयँ बत्तिएर गयो । सोचेँ यसले फेरि कुन युवतीलाई मुर्गा बनायो भनेर । त्यसपछि म कमलादीतर्फ नगई सीधै लगनखेलतिर लागेँ । ती मित्रले एउटा ट्याम्पो खोजेर चढाइदिए र म टेम्पोमा बसेँ । उसले लगनखेलसम्म स्कर्टिग गर्दै पुऱ्यायो मेरो सुरक्षाका लागि ।

अहिले सम्झिन्छु काठमाडौंको यो भिड, कोलाहल र ट्याक्सी–गाडीको ठेलमठेल भिडमा त्यो निष्पट सुनसान काठमाडौं कति निरीह थियो । जाडो मौसमको कारणले त्यो दिन त मैले एउटै पैदलयात्री देखिनँ । कमसेकम कोही–कोही हिँडिरहेको देखिएको भए, ट्याक्सी, गाडीको चहलपहल भएको भए पनि त त्यस्ता आपराधिक मनस्थितिहरूले दिउँसै नारीहरूलाई पापी आँखाले हेर्ने हिम्मत गर्न सक्दैनथे होला ।

म विगतको शून्य काठमाडौं र अहिलेको कोलाहलमय काठमाडौंलाई दाँजेर सम्झिन्छु । त्यो समय सुनसानको फाइदा उठाउने पापिष्ट आँखाहरू पनि उत्तिकै सल्बलाएका थिए भने अहिले भिडको फाइदा उठाएर पनि उसरी नै कोलाहलबीच नारी आवाजलाई चुप गराएर बलात्कार र मृत्युको सजाय दिने दुष्टहरूको कमी छैन । अनि त कसरी आफ्नो अस्मिता र जिउको संरक्षण गर्न सक्ने ? गाउँबाट आफ्नो जीविकोपार्जन गर्न आउने ती अञ्जान र निर्बल नारीहरूले ।

म त केही हदसम्म चलाख नै थिएँ र शिक्षित पनि । मैले आफ्नो चलाखीपनले नै त्यो दिन आफूलाई सुरक्षित गर्न समर्थ बनेँ । नत्र म पनि अञ्जान र सोझी भएकी भए यतिबेला कुन अवस्थामा कहाँ पुऱ्याइएकी हुन्थेँ हुँला ? कहिलेकाहीँ २८–३० वर्षअघिको त्यो पल सम्झिँदा जिउमा काँढा उम्रिन्छ । त्यसैले काठमाडौं देशको राजधानी जसरी भएको छ उसरी नै अपराधीहरूको पनि मनोमानी गर्ने स्थल भएको थियो उसबेला पनि र अहिले पनि ।

हरेक नारीले आफूलाई सचेत बनाएर नहिँड्ने हो भने दिनमा सयौँ अबला नारीहरू यस्ता राक्षसहरूको पञ्जामा पर्न सक्छन् । तर, समयले कोल्टे फेरेको छ । हरेक प्राविधिक कुराहरूको सहजताले गर्दा त्यो समयजस्तो नारीहरूले त्रसित पक्कै हुनुपर्दैन । आफूलाई सजग बनाएर हिँड्नु हो भने ती पापिष्टका आँखाहरूले गिद्दे नजर लाउन हिम्मत गरिनहाल्लान् भन्छु म ।

त्यो घटना घटेको लगभग २–४ वर्षपछि म र मेरो श्रीमान् बागबजार (खसीबजारछेउमा) केही मित्रहरूसँग उभिएर गफ गरिरहेका थियौँ । त्यही मान्छेलाई मैले त्यही ट्र्याकसुट र त्यही अवस्थामा बाइकमा जाँदै गरेको देखेँ । मैले पनि यसो हेरेँ, त्यसले त झन् मलाई प्रस्टै चिन्यो कि क्या हो हेर्दै–हेर्दै हुरुरु बाइकमा गयो । अनि सम्झिएँ– त्यसले त्यसबेला मलाई आफूतिर आकर्षित गर्न भनेका वाक्यहरू । र, मैले म त तीनवटा बच्चाकी आमा भन्दा पनि त्यो लम्पटले नपत्याएर मलाई एकोहोरो ढुकेर पर्खिएको त्यो पल । जिन्दगीमा कस्ता–कस्ता मान्छेहरूसँग भेट हुँदोरहेछ ? सम्झेर आफैँ आश्चर्यचकित हुन्छु ।