यसरी भयो माथवरसिंहको हत्या

यसरी भयो माथवरसिंहको हत्या


जंगबहादुरको चित्त बुझाउन सकियो भने जस्तोसुकै गाह्रो–साँगुरो काम पनि उसबाट गराउन सकिन्छ भन्ने गगनसिंहलाई राम्ररी थाहा थियो । माथवरसँग बदला लिन आगोझैँ जलिरहेका गगनसिंह जंगबहादुरलाई प्रयोग गरेर माथवरसिंहको हत्या गराउने षड्यन्त्रमा लागे । माथवरसिंहसँग जंगबहादुरको खटपट भएको केही समयमै एक दिन गगनसिंह माथवरसिंहका विरुद्ध रचेको षड्यन्त्रको विवरण सुनाउने आशयले राति नौ बजे रानीको खोपीमा गए । यस अभियानमा हतार गर्ने कारण के थियो भने ढिलो गरेको खण्डमा माथवरसिंहविरुद्ध बदला लिने जंगबहादुरको रिस शान्त हुन सक्थ्यो ।

त्यसकारण उनले तातेको बेलामा फलामलाई हिर्काउने नीति अख्तियार गरे । गगनसिंहले रानीका कानमा आफ्नो योजना सुनाए– ‘महारानी, माथवसिंहलाई निर्वासनबाट यहाँसम्म ल्याउने महत्वपूर्ण अस्त्र हजुर नै साबित हुनुभएको छ, तर हजुरले त्यो मान्छे एउटा छली र देशद्रोही रहेछ भनेर बुझ्नुपर्छ । हजुरप्रति राजनिष्ठा देखाउनुको सट्टा ऊ राजकुमार सुरेन्द्रविक्रम शाहको पक्षमा लागिरहेछ । मैले गोप्य सूचना पाएको आधारमा बिन्ती गर्दै छु । केही दिनभित्रै उसले राजालाई राजकुमार सुरेन्द्रका पक्षमा गद्दीच्यूत गराउन बाध्य तुल्याउनेछ । यस प्रयोजनका लागि उसले हालै गठन गरेको तीनवटा सैन्य बल प्रयोग गर्नेछ । त्यसकारण हजुरले राजालाई हामी एउटै जालमा परेका चरा हौँ भनी फकाएर यो जालसाजीको भण्डाफोर गर्नैपर्छ ।’

यस्तो सूचना पाएर आत्तिएकी रानी तत्काल राजाको खोपीमा पदार्पण गरिन्, तर राजा मस्त निद्रामा थिए । रानीले उनलाई उठाइन् र निवेदन गर्न थालिन्, ‘महाराज, मेरा विश्वासपात्रद्वारा मैले एउटा जरुरी सूचना पाएकी छु । एक–दुई दिनभित्रै माथवरले बन्दुक देखाएर हजुरलाई गद्दीच्यूत गर्न बाध्य तुल्याउँदै छ । हाम्रो विश्वासपात्र फत्तेजंग गयातर्फ गइसकेको छ । हामीलाई उचित सल्लाह दिने यस अवस्थामा अर्को कोही छैन । हामी अति जोखिमपूर्ण अवस्थामा फसेका छौँ । यस सङ्कटको घडीमा हाम्रो प्रतिरक्षामा उभिन कोही तयार छैन । माथवरसिंहले यस घडीमा सहयोग गर्ला भनेर नठानिबक्स्योस् । उसले सुरेन्द्रप्रति देखाएको भक्ति पनि बनावटी मात्र हो । ऊ त सुरेन्द्रको नाममा पछि आफैँ सर्वेसर्वा भएर स्वार्थपूर्ति गर्ने दाउमा लागेको छ । ऊ आफ्ना सबै शत्रुलाई पन्छाएर आफैँ राजमुकुट पहिरने दाउमा छ । हजुरले देखिबक्सेकै छ, राजदरबारमा भन्दा उसको कार्यालयमा चाकरी बजाउन आउने मान्छेको भिड कति ठूलो छ । त्यसकारण हजुर षड्यन्त्रकारीदेखि बेला छँदै सतर्क होइबक्सनुपर्छ । अन्यथा हामीहरू एक साताभित्रै अस्तित्वविहीन हुने अवस्थामा पुग्नेछौँ ।’

यसप्रकारको अनुनयविनय सुन्दा रानीले आफ्ना शक्तिशाली विश्वासपात्रप्रति विश्वास गुमाइछिन् भन्ने लागेर राजा खुसी भए, तर उनको भित्री मनले रानीको अत्याहटप्रति सहानुभूति प्रकट गरेन । आफूप्रति रानीले गरेको क्रियाकलापको उनलाई राम्रो जानकारी थियो । त्यो कुरा मुखले प्रकट गर्न सकेका थिएनन् । माथवरसिंह रानीको प्राकृतिक मित्र हो भन्ने उनले सोचेका थिए । माथवरसिंहलाई मार्ने रानीको मनसाय बुझेर यस अवस्थामा उनी खुसी नै भएका थिए । उनको पनि पहिलेदेखि त्यस्तै मनसाय थियो । माथवरसिंहलाई मार्न सकेको खण्डमा आफ्नो राज्याधिकार हरेक दृष्टिकोणले सुरक्षित हुनेछ भन्ने उनले सोचेका थिए । माथवरसिंहलाई मारेपछि आफूसमानको चतुर व्यक्ति अर्को आउन सक्तैन भन्ने राजाको सोचाइ थियो । तर, माथवरसिंहलाई पन्छाएपछि उनको बाँकी भएको अधिकार पनि आफ्ना हातमा नआएर अरूकोमा जानेछ भनेर राजाले सोचेका थिएनन् । त्यस्तै, यस्तो अवस्थामा गगनसिंह र रानी सर्वशक्तिमान हुनेछन् र ‘म सदाझैँ एउटा खेलौना मात्र हुनेछु’ भन्ने पनि उनले सोचेका थिएनन् । राजा माथवरसिंहको हत्या गर्ने षड्यन्त्रमा सहयोग गर्न खुसी साथ सहमत भए ।

भोलिपल्ट रानी र गगनसिंहले हत्यासम्बन्धी षड्यन्त्रको अन्तिम रूप दिएर यस योजनामा जंगबहादुरलाई प्रयोग गर्ने योजना रचे । योजनाअनुसार एउटा चिठी लेखेर कुलमान सिंहलाई जंगबहादुरकहाँ पठाइयो । त्यसबखत जंगबहादुर थापाथलीको आफ्नो बगैँचामा पैयुँ खाँदै बसिरहेका थिए । मेरो बुबा कुलमानलाई देखेर छक्क पर्नुभयो, कारण त्यो मान्छे यसअघि बुबाकहाँ कहिल्यै आएको थिएन । बुबाले ऊ आउनाको कारण सोध्नुभयो । कुलमानले मुस्कुराउँदै गगनसिंहले लेखेको चिठी दियो । चिठीको व्यहोरा झन् रहस्यमय थियो । बुबालाई ‘गगनले तत्काल मलाई भेट्न आउनू, यसअघि कहिल्यै चर्चा र छलफल नगरिएको अति गम्भीर र महत्वपूर्ण विषयमा विचार–विमर्श गर्नु छ’ भनी लेखेका थिए । त्यसपछि घोडा सर्पट कुदाउँदै बुबा रानीकहाँ पुग्नुभयो । गगनसिंह व्यग्रताका साथ उहाँलाई पर्खेर ढोकामा उभिइरहेका थिए । बुबालाई एउटा गोप्य कोठामा लगियो । बुबालाई रानीले नबोलाउन्जेल पर्खने आदेश दिएर गगनसिंह भित्र गए । गगनसिंह फर्की बुबालाई लिएर रानीको खोपीमा गए ।

भित्र छिरेपछि गगनले चुकुल लगाएर ढोका बन्द गरे । बडो उत्सुकता र संभ्रम तथा भयग्रस्त अवस्थामा जंगबहादुर रानीको कुरा सुन्न लागे । रानीले मधुरो आवाजमा ठूलो भरोसाका साथ जंगबहादुरलाई भनिन्, ‘हुन त तिमीलाई पनि थाहा नै होला, तथापि बाध्य भएर मैले तिमीलाई यो भन्न जरुरी ठानेँ । आफ्नो महत्वाकाङ्क्षा र निजी स्वार्थ पूरा गर्न माथवरसिंहले हामी आमा, बाबु र छोराका बीच कलहको बिउ रोपिरहेछ । यो अति स्पष्ट छ उसको अन्तिम इच्छा हामी सबैलाई मारेर राज्य हरण गर्नु नै हो । त्यसैले यो सङ्कटको घडीमा हाम्रो परिवारको रक्षा गर्न सक्ने तिमीभन्दा योग्य पुरुष अर्को छैन भन्ने हामीलाई लागेको छ । हामीलाई यस विश्वासघाती प्रधानमन्त्रीका हातबाट बचाऊ । यसका लागि तिमीले उसलाई लज्जास्पद मृत्युदण्ड दिनेछौ भन्ने मेरो इच्छा छ । यसमा राजाको स्वीकृति प्राप्त भइसकेको छ । तिमीले कुनै प्रकारको डर मान्नुपर्दैन ।’

त्यसपछि रानी हुत्तिएर राजाको खोपीमा गइन् र तत्काल राजालाई लिएर हलमा आइन् । राजाले उक्त प्रस्तावको अनुमोदन गर्दै भद्दा स्वरमा जंगबहादुरलाई आदेश दिए, ‘ए जंगे ! जा र माथवरसिंहको हत्या गर ।’ जंगबहादुरले जवाफ दिए, ‘म यो कार्य आजकै रात सम्पन्न गर्नेछु, भोलिलाई पर्खने छैन ।’

(जंगबहादुरको जीवनयात्रा, अनुवादक रामबहादुर पहाडी)