अब कोही हुन नपरोस् बलिको बोका

अब कोही हुन नपरोस् बलिको बोका


■ सोमविक्रम सिंह

वैदिक सनातन संस्कारअनुरूप राग, रिस, लोभ, लालच, इर्ष्या, माया आदि तपस्यामार्फत त्याग्नुलाई नै बलि दिनु भनिन्छ सायद । तर, वैदिक सनातनहरू पनि मांसाहारी हुँदै गएपछि बलि दिने नाममा पशुपक्षीलाई मार्न थालियो र भगवानको नाममा मासु खान थालियो । प्रायजसो देवीको मन्दिरमा चढाउन लतारेर लगिएको बोकालाई नै सङ्केत गर्दै बलिको बोका भन्न थालियो । भगवानको नाममा मांसाहारीले मन्दिरमा बोका रेटेर मासु खाने प्रचलनले गर्दा आज हिन्दू र हिन्दुत्वकै बदनाम हुने अवस्था छ । तर, यहाँ कुनै धर्म र मांसाहारीको बहसभन्दा पनि आफू बच्न अरूलाई बोका बनाउने प्रवृत्तिको कुरा उठाउने प्रयास गरिँदै छ ।

अदालतको फैसलाबाट जेलमुक्त हुनेबित्तिकै पूर्वसभामुख एवम् नेकपाका नेता कृष्णबहादुर महराले ‘जेलभित्र रहेका करिब पचहत्तर प्रतिशत कैदीहरू निर्दोष छन् र तिनीहरूको मुक्तिका लागि प्रयास रहने’ अभिव्यक्ति दिनुभयो । हो, उहाँको विरुद्व उजुरी दिने महिलासँग बुबाछोरी वा प्रेम सम्बन्ध जे भए पनि उहाँलाई फसाउन षड्यन्त्र रचिएको थियो भन्दा फरक पर्ने छैन । कोही पनि व्यक्ति अन्जान मान्छेको घरमा मासु–रक्सी लिएर त्यसै जाँदैनन्, त्यसमाथि पनि त्यस्तो प्रतिष्ठित ओहोदामा रहेका व्यक्तित्व ! यो व्यवस्थाविरुद्व लाग्ने व्यक्तिका लागि उहाँ भलै महादानव नै लाग्दो हो, तर उहाँको प्रतिष्ठामा नै आँच पुग्ने र चरित्र हत्या हुनुको मुख्य कारण भनेकै अहिले समाचारको मुख्य विषय बनेको एमसीसी संसद्मा टेबल नहुनु नै हो भन्ने जगजाहेर भइसकेको छ ।

स्मरण रहोस्, डिल्लीबजार जेलमा रहँदा खुमबहादुर खड्का बारम्बार ‘मलाई गिरिजाले फसाए, अन्तमा मेरो राजनीतिक लहर र चर्चा देखेर हत्तासिएर बलिको बोको बनाए’ भन्ने गर्नुहुन्थ्यो । गिरिजा यतिसम्म बाठा छन् कि प्रचण्डले देखाएको राष्ट्रपतिको लोभमा लागेर विदेशीको एजेन्डा धर्मनिरपेक्ष र सङ्घीयता लागू गरेका हुन् भनी उहाँ भन्नुहुन्थ्यो । ‘हुन त राजाले मलाई बारम्बार दुःख दिए, प्रजातान्त्रको घाँटी निचोरे, तर गिरिजा आफू गणतन्त्रको प्रथम राष्ट्रपति बन्ने लोभमा राजासँगको सहमतिलाई समेत लत्याएर राजा ज्ञानेन्द्रलाई नै बलिको बोको तुल्याए’ भन्नुहुन्थ्यो खड्का ।

त्यस्तै, जेलजीवन बिताएर बसेका श्यामसुन्दर गुप्ता र अर्का हाई प्रोफाइल व्यक्तित्व जेपी गुप्ता हुनुहुन्थ्यो । श्यामसुन्दर मधेसी नेतामध्ये म अलि बढी राष्ट्रवादी भएकोले भारतले फसाएको भन्नुहुन्थ्यो भने जेपी गुप्ता अलिक शालीन स्वभावको काङ्ग्रेसकै शक्तिशाली नेतापछि मधेसी मुद्दा लिएर अगाडि आएपछि मधेसमा प्रभाव देखेर इर्ष्या गरेर आफूलाई पनि गिरिजा मार्काले फसाएको भन्नुहुन्थ्यो । तीमध्ये पछिल्लो समय हिन्दुत्वको लागि लड्नुहुने प्रभावशाली नेता खुमबहादुर खड्का आन्दोलनलाई निष्कर्षमा पुऱ्याउन नसक्दै वैकुण्ठवास हुनुभएको छ भने जेपी गुप्ता गुमनाम जीवन व्यतीत गर्दै हुनुहुन्छ । यस्तै, श्यामसुन्दर अझै पनि जेलजीवनमै हुनुहुन्छ । जे होस्, त्यस समय पनि यी नेताका अभिव्यक्ति पनि महराको झैँ थियो, टाठाबाठा शक्तिशाली अभियुक्त जति खुला जीवन मौजमस्तीमा छन् भने प्रायः निर्दोष र सोझासाझा या आर्थिक कारणले मुद्दा लड्न नसकेकाहरू जेलमा सडिरहेका छन् ।

यसो हो भने अभिव्यक्तिको स्वतन्त्रता र मौलिक हकअधिकार, व्यक्तिगत स्वतन्त्रतासहितको प्रजातन्त्र भनेर किन ‘नालायक’हरू फलाकिरहेका छन् ? जब कि न्याय पाउन नसकेर त्यत्तिका जेलमा सडिरहेका छन् । न्यायको आधारभूत अधिकारलाई मान्यता दिने हो भने नौजना अपराधी छुटोस्, तर एकजना पनि निर्दोषले दोषी भई जेलजीवन व्यतीत गर्न नपरोस् भन्छ । तर, अहिले नौजना नै निर्दोष कतै जेलमा सडिरहेका त छैनन् बलिको बोका बनेर ? भनी औँला उठाउन सकिन्छ ।

यहाँ त राजादेखि रङ्कसम्मलाई अगाडि बढ्न भऱ्याङ चाहिएकै छ, बलिको बोका बनाइएकै छ । तसर्थ, जित्नेले इतिहास लेख्छ भनेझैँ १७ हजारको बलि चढाएर प्रचण्डले पनि शासन सत्ता लिएकै थिए भने झापा काण्ड रचेर बलिको बोका रेटेझैँ टाउको काटेर शासन सत्ता हत्याएकै हुन् । मधेसमा गौर हत्याकाण्ड रची महिला तथा अन्यलाई कति निर्ममताका साथ घोची–घोची मारियो । त्यसरी नै मुक्ति सेनाले पनि कैयौँलाई बलिको बोकालाई काटेझैँ काटी शासन हत्याएकै हुन् भन्नेमा दुईमत छैन् । अब बन्द गरौँ– अरूलाई प्रयोग गरी शासन–सत्ता हत्याउने प्रथा ‘बलिको बोका’ अब कोही हुन नपरोस् ।

चिरपरिचित सुडान काण्डमा पनि मुख्य खलनायकहरू जो राजनीतिको रङ ओडेका थिए, ती नेताहरू खुलेआम भ्रष्टाचारीलाई फाँसी दे भन्दै आफूचाहिँ हाँसी–हाँसी घुस खाइरहेका छन् भने बलिका बोकाजति सबै नेपाल प्रहरीका अधिकृतहरू मात्रै बने । त्यसबेला धेरै नेताको नाम पत्रपत्रिकाभरि छ्यापछ्याप्ती आइरहेको थियो । प्रहरी अधिकृतका श्रीमती तथा परिवारहरू ओमविक्रम राणालाई गुहार्न जाँदा हामीलाई नेताहरूले फसाउँदैनन् र आफूलाई बचाउने आश्वासन दिएका छन् भनी ढाडस दिएर पठाउने गरेका थिए । अन्ततोगत्वा नेपाल प्रहरी मात्रै बलिको बोका बने, यूएनबाट कमाइएको आफ्नै सिपाहीहरूको रगतपसिनाबाट छुछ्याइएको केही प्रतिशत रकमबाट खडा गरिएको नेपाल प्रहरी ट्रस्टमा नेताहरूको गिद्धे दृष्टि लाग्यो । त्यसरी जेलजीवन व्यतीत गरिरहेका पूर्वआईजीपी रमेश चन्दको फैसलापत्र हेर्दा त यस्तो लाग्छ– उहाँलाई कुन बुँदा लगाएर कुन कसुरमा किन उनको विरुद्व फैसला भयो होला ? मानिलिउँ उहाँ भ्रष्टाचारी नै हुनुभयो रे, तर उहाँलाई लगाइएको कसुर, बकपत्र, फैसला हेर्दा सायद कुनै व्यक्तिगत रिसइवीमा बलिको बोका बनाइएको भान हुन्छ । उहाँविरुद्व फैसला भएपछि किन एक वर्षसम्म पुनरावलोकनको हकअधिकार बन्चित गर्नका लागि पूर्णपाठमा एक वर्षभन्दा बढी हस्ताक्षर नगरी कुन दुरासयका साथ जेल राखियो ? कसरी राष्ट्रपति भण्डारीबाट महाअभियोग लागिसकेका श्रीमान् कार्कीबाट उनको विरुद्व अभियोगमा फैसला भयो ?

राजनीतिक कोपभाजनमा परेको बताइएको रेसम चौधरीको लेख र भनाइ सुन्दा पनि आफू बलिको बोका नै भएको बताउँछन् । उनले आफूलाई नार्कोटिक टेस्टसम्म गर्न चुनौती दिन्छन् । निर्दोष व्यक्ति मारिनु कुनै पनि हालतमा राम्रो होइन, तर त्यस दिन कसको निर्देशनमा त्यत्रो आन्दोलनकारी आए आफैँ छक्कै पर्छन् । तर, त्यस आन्दोलनका नेतृत्व लिने अरू मन्त्री पदमा आसिन हुन आफूलगायत केही सोझा थारूहरू मात्रै किन बलिको बोका बनाइयो ? उनी प्रतिप्रश्न गर्छन् । उनी सशङ्कित हुँदै भन्छन्– कतै त्यो घटना माओवादीले आफूलाई फसाउन र गृहयुद्व चर्काउन त गरेनन् ? यसमा पनि आफूलाई कुनै तत्वले बलिको बोका बनाएकै हुन् भन्ने उनको धारणा पाइन्छ । त्यसबेला उनले जुन किसिमले प्रहरी र स्थानीय प्रशासनलाई प्रत्येक तहमा सम्पर्क गरिरहेका र सुझाव दिइरहेको बताइन्छ, तर कुन तत्वले त्यो आन्दोलनलाई भड्काउने काम गऱ्यो ! उनी आश्चर्यचकित छन् । चौधरी पनि आफूलाई बलिको बोका नै बनाएर फसाइएको बताउँछन् । उनको भविष्य अब न्यायालयले नै तय गर्नेछ निकट भविष्यमा ।

हुन त विचित्रको संसार छ, यहाँ सबैले सबैलाई बलिको बोका बनाइएको हुन्छ । अगाडि बढ्न कसैले कसैलाई भऱ्याङ बनाएर हिँडेकै छन् । यहाँ त राजादेखि रङ्कसम्मलाई अगाडि बढ्न भऱ्याङ चाहिएकै छ, बलिको बोका बनाइएकै छ । तसर्थ, जित्नेले इतिहास लेख्छ भनेझैँ १७ हजारको बलि चढाएर प्रचण्डले पनि शासन सत्ता लिएकै थिए भने झापा काण्ड रचेर बलिको बोका रेटेझैँ टाउको काटेर शासन सत्ता हत्याएकै हुन् । मधेसमा गौर हत्याकाण्ड रची महिला तथा अन्यलाई कति निर्ममताका साथ घोची–घोची मारियो । त्यसरी नै मुक्ति सेनाले पनि कैयौँलाई बलिको बोकालाई काटेझैँ काटी शासन हत्याएकै हुन् भन्नेमा दुईमत छैन् । अब बन्द गरौँ– अरूलाई प्रयोग गरी शासन–सत्ता हत्याउने प्रथा ‘बलिको बोका’ अब कोही हुन नपरोस् ।