कोरोनासँग कसरी लड्दै छ अष्ट्रिया ?

कोरोनासँग कसरी लड्दै छ अष्ट्रिया ?


Sagar Subedi, Vienna

चीनको वुहान प्रान्तमा पहिलोपटक देखिएको कोरोना भाइरस अहिले संसारको टाउकोदुःखाइको विषय बनेको छ । यो समाचार तयार गर्दैगर्दा संसारभर करिव एक लाख बीस हजार जनसंख्यामा यो भाइरस संक्रमण देखिएको छ भने करोडौँ नागरिक यसबाट प्रत्यक्ष प्रभावित बन्न पुगेका छन् । विश्व स्वाथ्य संगठनले त यो भाइरसको कारण विश्वभर धेरै नागरिकको ज्यान जान सक्ने भन्दै ‘महामारी’ नै घोषणा गरिसकेको अवस्था छ ।

प्रारम्भिक अवस्थामा चीन, दक्षिण कोरिया, इरान प्रथमप्रभाावित छेत्र भनिएको अवस्था थियो, तर ड्रामाटिक रुपमा युरोपको इटालीमा यसको चर्को संक्रमण देखियो । विज्ञहरुका अनुसार चिसोमा हुने फ्लुका कारण मर्ने विश्वब्यापी गणक संख्या १ प्रतिशत भनिएको र कोरोनाको प्रारम्भिक मृत्युदर २ देखि ३ प्रतिशत भनिएको थियो । तर, इटालीको अवस्थालाई हेर्दा मृत्युदर ६–७ प्रतिशतसम्म बढेको पाइयो । इटालीले सुरुकै दिनमा केही लापर्वाही गरेको कारण त्यहाँ उक्त संक्रमणलाई नियन्त्रण गर्न गाह्रो हुने देखिएको र अहिले केही स्टेट नै क्वारेन्टाइनमा राखिनुका साथै एक प्रकारको स्टेट इमर्जेन्सी लागु गरेको अवस्था छ । तथापि, भाइरस संक्रमण घट्नुको साटो बढेको देखिँदै छ ।

हुन त यसरी तीव्र रूपले संक्रमण फैलिने रोगहरू हिजो पनि देखिए पनि मानिसहरूमा आज जस्तो डरको अवस्था थिएन । किनकि, त्यो बेला सामाजिक संजाल त्यसमा पनि विशेष गरी ‘फेसबुक’ तथा ‘युट्युब’हरू थिएनन् । जस्तै ठुला महामारीजन्य रोग पनि जनता लाइ लागेपछि थाहा हुन्थ्यो तर कति खतरनाक भन्ने तत्काल थाहा हुने अवस्था हुँदैनथ्यो । तर, वर्तमान समयमा तत्काल थाहा हुन्छ, त्यसैमा पनि क्लिक बढाउने नाममा प्रसारित ‘फेक न्युज’ तथा अल्पज्ञानी तथा तथाकथित ‘फेसबुके विज्ञ’हरूका कारण पनि जनमानसमा हिजोभन्दा आज त्रास बढ्दै गैरहेको अवस्था छ ।

अष्ट्रिया, त्यसमाथि पनि एक भूपरिवेस्टिक देश, महामारीको चर्को प्रकोप भएको इटालीबाट सबैभन्दा नजिकको देश समेत भएको नाताले यहाँ इटालीको गल्तीतर्फ हेर्दै संक्रमण फैलन नदिन अष्ट्रियन गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा सामाजिक मन्त्रालय मिलेर यो भाइरसविरुद्ध जनतालाई सुरक्षित तुल्याउन हरेक दिन लागिपरिरहेको देखिन्छ । सोहीअनुरुप हरेक दिन ‘प्रेस ब्रिफ’ भैरहेको छ, अनि विभिन्न सञ्चारमाध्यम तथा वेबसाइट, टोलफ्री टेलिफोनमार्फत जनतालाई सत्यतथ्य जानकारी दिइरहेको छ ।

सोहीअनुरुप अष्ट्रियाले आफ्ना सम्पूर्ण नागरिकलाई विश्वभरी जो–जहाँ छन् स्वदेश फिर्ता आउन आग्रह गरेको छ भने इटालीबाट आउने सम्पूर्ण नाकाहरूका साथै आज (१३ मार्च)देखि स्विजरल्याण्डबाट अष्ट्रिया छिर्ने नाका सिल गरिएका छन् । यस्तै, अन्तरयुरोपीय केही देशमा हवाई उडान पनि बन्द गरिएको छ । तर विभिन्न कारणवश अष्ट्रियाबाहिर रहेका नागरिकका लागि स्वास्थजाँचका साथ आउने ब्यवस्थ्या मिलाइएको छ ।

आजको प्रेस ब्रिफमा अष्ट्रीयन कान्सलर (प्रधानमन्त्री) सिबास्टियान कुर्जले पुस्टि भएको संक्रमणबारे अष्ट्रियावासीलाई जानकारी दिँदै ४२८ जनामा संक्रमण पुष्टि भएको, दशौँ हजारमा टेस्ट गरिएको र अष्ट्रियाको टिरोल राज्यस्थित संक्रमण फैलिएका दुई गाउँलाई अर्को सुचना जारी नभएसम्म क्वारेन्टाइनमा राखिएको पनि जानकारी दिइयो ।

अर्को सूचना नभएसम्मका लागि अष्ट्रियाभर फार्मेसी, सुपरमार्केट, ब्यांक, ड्रगोरीहरु नियमत खुल्ने, कुनै पनि अवस्थामा खादान्यजन्य पदार्थमा कमी आउन नदिने, साथै अष्ट्रियामा अवस्थित रेस्टुरेन्ट तथा बारहरु दिउँसो तीन बजेसम्मका लागि मात्र खोल्न पाउने जानकारी सो अवसरमा दिइयो । साथै, सरकारको प्रमुख उत्तरदायित्व आफ्ना नागरिकको सुरक्ष्या र वर्तमान संकटको घडीमा नागरिककै लागि काम गरिरहेको अनि यो अवस्थामा अर्थतन्त्रमा पर्न गएको प्रभावलाई कम गर्नका निमित्त भोलि एक विशेष प्याकेज प्रस्तुत गर्ने बताइयो ।

यसैबीच अष्ट्रियामा अष्ट्रियन जनताका लागि आवश्यक खाद्यान्य मनग्य रहेको र भविष्यमा पनि खाद्य संकट नहुने र नागरिकहरुले कुनै त्रास नलिई आफु संक्रमणबाट बच्न सामुहिक गतिविधि नगर्न, विशेषगरी ६० कटेका नागरिकको स्वस्थ्यमा ध्यान दिन अष्ट्रियावासीलाई आग्रह गरियो ।

उक्त प्रेस ब्रिफमा अष्ट्रियन गृहमन्त्री कार्ल नेहामेर, स्वास्थमन्त्री रुडी आन्दसोबेर समेतले अपनाउनु पर्ने सतर्कता तथा अष्ट्रियाले कोरोनाविरुद्ध बनाएको प्लानका विषयमा प्रकाश पार्दै सञ्चारकर्मीले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए ।

हाम्रा विशेष प्रतिनीधि सुवेदीलाई Twitter मा follow गर्नका लागि
https://twitter=com/sagaraustria