प्राडा पौडेललाई इन्टरनेसनल पोइट्री अवार्ड

प्राडा पौडेललाई इन्टरनेसनल पोइट्री अवार्ड


नेपाल प्रज्ञा–प्रतिष्ठानका साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेललाई इनसाइक्लोपेडिया विकिपोइजियाका तर्फबाट उक्त संस्थाका प्रतिनिधि रोक्को लनटाले नेपाल प्रज्ञा–प्रतिष्ठानमा आएर क्रस गोल्ड इन्टरनेसनल पोइट्री अवार्ड प्रदान गर्नुभएको छ ।

विकिपोइजिया इनसाइक्लोपेडिया पोइजियाको गत जनवरी ३ का दिन इटालीमा सम्पन्न कङ्ग्रेसले प्रा.डा. पौडेललाई मानार्थ अध्यक्षको सम्मान र उक्त अवार्ड प्रदान गर्ने निर्णय गरेको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको पद्य÷काव्य विभागले नेपाली कविता/काव्यका क्षेत्रमा पुऱ्याएको योगदानको कदर गर्दै उक्त सम्मान र अवार्ड प्रदान गरिएको उक्त संस्थाका प्रतिनिधि लनटाले बताउनुभयो । इनसाइक्लोपेडिया विकिपोइजियामा हालसम्म विश्वभरबाट दशलाखभन्दा बढी कविहरू सदस्यका रूपमा समेटिएका छन् ।

अवार्ड प्रदानका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाल प्रज्ञा–प्रतिष्ठानको पद्य/काव्य विभागका प्रमुखलाई सम्मान गरेकोमा उक्त विकिपोइजिया इनसाइक्लोपेडिया पोइजियाप्रति धन्यवाद ज्ञापन गर्नुहुँदै यस कार्यले विश्वमा कविता÷काव्यको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उक्त अवसरमा द्विपक्षीय सांस्कृतिक एवम् काव्यिक आदान प्रदान गर्ने सम्बन्धमा पनि छलफल भएको थियो ।

कविता/काव्यका क्षेत्रमा काम गर्ने संस्था/विभागका प्रमुखलाई प्रदान गरिने उक्त सम्मानबाट यसअगि विश्वभरबाट १६ जना व्यक्तित्वहरू सम्मानित भएका छन् । प्रा.डा. पौडेल सो सम्मान प्राप्त गर्ने १७ औँ व्यक्तित्व हुनुहुन्छ ।