कोरोना भाइरसभन्दा खतर्नाक कालोबजारिया

कोरोना भाइरसभन्दा खतर्नाक कालोबजारिया


यो विषय अब नौलो रहेन कि कोरोना भाइरसको प्रकोप विश्वव्यापी रूपमा फैलिन पुगेको छ । सय हाराहारीका मुलुकमा कोरोनाले उपस्थिति जनाउँदा यस भाइरसको उत्पत्ति थलो मानिएको चीन, जो तीव्रतर आर्थिक विकासको लागि संसारकै ‘रोल मोडल’ कहलिएको थियो, आर्थिक गतिविधिको दृष्टिले यस्तो शक्तिशाली देशको समेत ढाड भाँचिदिएको अनुभूति गरिँदै छ । विश्व अर्थतन्त्रमा यो भाइरसका कारण व्यापक नकारात्मक प्रभाव पर्ने र चरम मन्दीतर्फ लैजाने आकलन गरिँदै छ । संसारका दक्ष एवम् साधनसम्पन्न भनिएका मुलुकका लागि समेत ‘आतङ्क’ बनेर देखापरेको कोरोना भाइरसको दुष्प्रभावबाट नेपाल अछुतो रहने त सवाल नै रहेन । किनकि, खाद्यवस्तु, इन्धन, औषधिजस्ता अत्यावश्यक सामग्रीको आपूर्तिमा अचाक्ली बढेको परनिर्भरताले नेपाललाई ‘परजीवी’ देशमा रूपान्तरित तुल्याइसकेको अवस्था छ ।

देशमा परनिर्भरताको वृद्धिसँगै आमनेपालीमा परजीवीपन संस्कार वा संस्कृतिकै रूपमा मौलाएको तथ्य अब लुकेको विषय रहेन । स्वउत्पादनमा उपेक्षासँगसँगै उपभोक्ता संस्कृतिमा देखिएको भयावह बढोत्तरीका कारण सामान्य सङ्कटमा पनि अभावको त्रासले हाहाकार मच्चिने परिस्थिति यहाँ पैदा हुन थालेको छ । यतिबेला मुलुक यस्तै अभिशापबाट गुज्रिरहेको छ ।

छिमेकमै पैदा भई धुरुक्क पारेको खतर्नाक रोगप्रति सचेतना अपनाउनैपर्छ । यसबाट जोगिने हरसम्भव प्रयत्न समयमै गरिनु बुद्धिमत्ता नै ठहरिन्छ । तर, महामारीबाट जोगिने नाममा अनर्थका व्यवहार र हौवाको पछि लाग्नु त्यत्तिकै प्रत्युत्पादक हुन सक्छ । वास्तवमा आजका दिनसम्म नेपालमा प्रमाणित तवरले कोरोना भाइरसबाट सङ्क्रमित पात्र भेटिएका छैनन् । उत्पत्ति स्थल चीनको वुहानबाट आएका पौने दुई सय नेपाली सबै स्वस्थ ठहरिएर आ–आफ्ना घर फर्किसकेका छन् भने सङ्क्रमणको आशङ्कामा जो–जतिमा परीक्षण गरिए, सबै रिपोर्ट ‘निगेटिभ’ देखिएका छन् । तैपनि जनस्तरदेखि सरकारी निकायसम्ममा कोरोनाको त्रास यसरी छाउन पुगेको छ कि मानौँ मुलुकको समस्त माहोल नै कोरोना भाइरसमय भइसकेको छ ! रोग नआउँदै रोगसँग लड्न गरिएको ‘प्रयत्न’ले बेग्लै खतरा उत्पन्न गराउने सम्भावना बढाएको छ ।

जस्तो कि अनेक प्रकरणका कारण आलोचना व्यहोरिरहेको सरकारले यस मामलालाई सायद ‘काम देखाउने’ मौका ठानेर हुन सक्छ– सभा–समारोह बन्द गर्न, भोज–भतेर नगर्न एकप्रकारको उर्दी नै जारी गऱ्यो । दायाँबायाँ विचार नगरी विद्यालय बन्द गराउने, विद्यार्थीका नियमित परीक्षाहरू समयअगावै गराउने, खेलकुद प्रतियोगिता रोक्ने, सिनेमा हल खाली गराउने र यहाँसम्म कि कल–कारखानासमेत बन्द हुने परिवेश निर्माण गरिएको छ । सरकारी निकायको यस अपरिपक्वताका कारण दैनिक उपभोग्य सामग्रीको बजारमा हाहाकार मच्चिएको छ ।

एकातिर आमउपभोक्तामा सामान सङ्ग्रह गर्ने होड चलेको छ भने अर्कोतिर मौका–बेमौकाको दुरुपयोग गरी अनुचित नाफा आर्जन गर्न पल्किएका कालो बजारियाहरू नैतिक धरातलबाट भासिएर उपभोक्ता लुट्न उद्यत् देखिएका छन् । चामल, दाल, तरकारी, नुनतेल, ग्यासजस्ता दैनन्दिन उपभोग्य सामग्रीको मूल्य मनपरी बढाउनेदेखि कृत्रिम अभाव सिर्जना गरेर आर्जन गर्ने मुनाफाखोरहरूको बजारमा बोलवाला चलेको छ । सरकारी निकाय स्वयमले त्रास पैदा गरिदिने अनि यथार्थ बुझ्ने स्वप्रयत्न नगरी जतिसुकै मूल्य तिरेर भए पनि सामानको जोहो गर्न नागरिक तप्काले मरिहत्ते हाल्ने यस अनपेक्षित परिस्थितिका कारण चाँडै नै लुटपाटको अवस्था पैदा हुने त होइन भन्ने त्रास उत्पन्न गरिदिएको छ । वास्तवमा यस्तै अवस्था रहने हो भने कोरोना भाइरसभन्दा खतर्नाक त कालोबजारी नै हुने पक्कापक्कीजस्तै छ । रोगसँग बच्ने तयारीको नाममा झन् विचित्र ढङ्गको ‘मृत्यु’ निम्त्याउने यो अवस्था असामान्य या कहालीलाग्दो छ भन्ने समयमै मनन गर्नु जरुरी छ ।

छोटो अवधिमै कालोबजारी र कृत्रिम अभाव चुलिइसकेको छ, तर सम्बन्धित सरकारी संयन्त्रको काम भने उही झाराटार्ने प्रकारकै देखिन्छ । ‘कालोबजारी देखिए ११३७ मा फोन गर्नु’ भन्ने उर्दी जारी गरेर सरकार हात बाँधेर बसेको छ । सरकारी अनुगमन अक्षम र अप्रभावकारी मात्र होइन कि कालोबजारियालाई कारबाही गर्न नभई आमउपभोक्ताको आवाजलाई निरुत्साहित तुल्याउन मात्र रहेछ भन्ने भान पर्दै छ । यो दुर्भाग्यपूर्ण छ ।

त्यसो त हरेक सङ्कटले एउटा अवसरको सिर्जना पनि गरिरहेको हुन्छ भन्ने मान्यता छ । तर, सङ्कटलाई अवसरको रूपमा पहिचान गरेर त्यसअनुरूपको लाभ उठाउन पनि विशेष प्रकारको विवेक आवश्यक पर्छ, अनि विवेकलाई व्यवहारमा उतार्ने क्षमताको खाँचो पनि त्यत्तिकै अपरिहार्य हुन आउँछ । त्यस्तो विवेक र क्षमता वर्तमान राजनीतिक नेतृत्व एवम् मुलुकमा विद्यमान कर्मचारीतन्त्रमा कति होला ? यस सवालको जवाफ खोजिरहनै पर्दैन, वर्तमान हरेक परिस्थिति नै यसका साक्षी छन् । तसर्थ, सरकारको मुख नताकी आमनागरिक नै सचेत र जिम्मेवार बन्नु समयको माग हो । कोरोना भाइरसको त्रासमा कालोबजारियालाई प्रोत्साहित नगरौँ !