कारबाही गर्नुपर्ने थापा र बाँस्तोलालाई स्यावासी किन ?

सरकारले पाँच लाख दियो, राखेप पाँच लाख दिने तयारीमा !

■ श्रीविक्रम भण्डारी



राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुख कुलबहादुर थापा र पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख चण्डिका बाँस्तोलाको गैरजिम्मेवारी कार्यले जनकपुरमा बालक आलोक राउतको मृत्यु भएको थियो । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को भव्य उद्घाटन काठमाडौंमा भइसक्दा पनि आर्थिक अनियमितता गर्नकै लागि जनकपुरमा पनि आतिसबाजी गर्दा यस्तो अप्रिय घटना घटेको थियो । जनकपुरमा आयोजना गरिएको एउटा खेल कुस्तीको लागि कुनै आतिसबाजीको जरुरी थिएन ।

तर, थापा र बाँस्तोलाको मिलेमतोमा जनकपुरमा पनि भव्य उद्घाटन गरिएको थियो । त्यसको सम्पूर्ण जिम्मेवारी बाँस्तोलाले पाएका थिए । तर, बाँस्तोलाले उद्घाटनपछि देखाएको गैरजिम्मेवारीले बालक आलोक राउतको मृत्यु भयो । आलोकको मृत्युपछि १३औँ सागमा कलङ्कको दागसमेत लाग्यो । तर, राखेपले यो घटनालाई गम्भीरतापूर्वक लिँदै दोषी थापा र बाँस्तोलाउपर कानुनी कारबाही अगाडि बढाउनुपर्नेमा उल्टै घटनालाई ढाकछोप गर्दै उनीहरूलाई उन्मुक्ति र स्यावासी दिने कार्य गरेको छ । आखिर किन ? अहिले यो प्रश्न खेलकुदमा हटकेट बनेको छ ।

पटका पड्किएर ज्यान गुमाएका आलोकको मृत्युपश्चात् उनका बुबा शोभित राउतले थापा र बाँस्तोलाविरुद्ध किटानी जाहेरी दिँदै जिल्ला प्रशासन कार्यालयमा जागिरसहित १० लाख क्षतिपूर्तिको माग गर्दै उजुरी दर्ता गराएका थिए । त्यसपछि सरकारले शोभितलाई हालै पाँच लाख प्रदान गरेको थियो भने राखेपले करारमा पियनको जागिर । पियनको जागिरसँगै राखेपका सदस्यसचिव रमेश सिलवालले थप पाँच लाख केही समयपछि दिने भनेपछि शोभित धनुषामा हाजिर गर्न पुगेका थिए । दोषीलाई कारबाही गराउनुको साटो छोराको मूल्यलाई जागिर र पैसामा बेचेका शोभितलाई अहिले पनि छोराभन्दा त्यही पियनको जागिर र केही लाख रुपैयाँ नै प्यारो बनेको छ । शोभितलाई छोराभन्दा जागिर र पैसा किन प्यारो बन्यो, त्यसमा उनको बाध्यता मात्र नभई गरिबी पनि त्यत्तिकै लुकेको प्रस्ट हुन्छ । अन्यथा आफ्नो ११ वर्षीय छोराको मृत्यु हुँदा एउटा पियनको जागिर र पाँच लाख रुपैयाँमा कदापि चित्त बुझाउने थिएनन् ।

शोभितलाई यसरी बाध्य पार्न र मौनता साँध्न आरोपी थापा र बाँस्तोलाले विशेष भूमिका निभाएका हुन् भन्दा अतिसयोक्ति नहोला । यदि यो घटनामा शोभितको छोराको सट्टा अन्यको छोराको निधन भएको भए अर्थात् यसरी किटानी जाहेर गरिएको भए दुवैजना अहिले प्रहरीको हिरासतमा हुन्थे । उनीहरूप्रति कानुनी कारबाही अगाडि बढिरहेको हुन्थ्यो । यसरी गल्ती एउटाले गर्ने त्यसको भर्पाई सरकारले व्यहोर्नुपर्ने यो कस्तो विडम्बना ! राज्यको ढुकुटी रित्याउन अहम् भूमिका निभाउने व्यक्तिलाई कानुनी कठघरामा उभ्याउनुको साटो उल्टै सुनपानी छर्केर चोख्याउनुपछाडिको रहस्य के हो, सदस्यसचिवज्यू ? कतै दुवैजना नेकपाका निकटका कर्मचारी भएर त होइन– प्रश्न उठ्नु स्वाभाविक हो ।

यस्तो थियो घटना

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेल जनकपुरमा आयोजना भएको थियो । उक्त खेल आयोजनापूर्व उद्घाटन समारोहमा काठमाडौं र पोखराझैँ जनकपुरमा पनि आतिसबाजी गरिएको थियो । आतिसबाजीपछि सम्बन्धित निकायका व्यक्तिको लापरबाही र गैरजिम्मेवारीले गर्दा ११ वर्षीय अबोध बालक आलोक राउतको पटाका पड्किएर घाइते भई मृत्यु भएको थियो । उक्त दुर्घटना जनकपुर उपमहानगरपालिका– १३ पिडारीमा भएको थियो ।

प्राप्त जानकारीअनुसार पटाका पट्काएको ठाउँलाई सम्बन्धित निकायका जिम्मेवार व्यक्तिले सिल गर्नुपर्नेमा आतिसबाजी गरी त्यसै छोडेर जाँदा यस्तो दुर्घटना भएको थियो । आतिसबाजी भएको दोस्रो दिन आलोक राउत चउरमा खेल्न गएका थिए । सो अवसरमा राति आतिसबाजी गरिएकामध्ये नपड्किएको एक थान पटाका घरमा ल्याए । पटाकासँग खेल्ने क्रममा आलोकलाई पनि आतिसबाजी गर्ने मन लाग्यो । त्यसपछि उनले उक्त पटाकालाई आगोको भुङ्ग्रामा हाले । एकैछिनपछि उक्त पटाका पड्कियो, पटाका पड्किँदा नजिकै रहेका आलोक गम्भीर घाइते भए । त्यसपछि उनलाई अस्पताल पुऱ्याउँदा पनि बचाउन सकिएन र उनको मृत्यु भयो ।

यो घटनालाई सामसुम पार्न १३औँ साग समारोह समितिका सचिव तथा प्रशासन विभागका प्रमुख कुलबहादुर थापा ज्यान छोडेर लागेका छन् । उक्त प्रतियोगिताका लागि आतिसबाजी एवम् पटाकाको जिम्मा समारोह समितिका सचिवका रूपमा रहेका थापाको थियो । पछि थापाले त्यसको जिम्मेवारी जनकपुरका लागि पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख चण्डिका बाँस्तोलालाई दिएका थिए । आतिसबाजी सकेर बाँस्तोला विराटनगरतर्फ लागेपछि भोलिपल्ट यस्तो घटना घटेको थियो । सम्बन्धित निकायका व्यक्तिको चरम लापरबाहीका कारण यस्तो दुर्घटना घटेपछि अहिले यो घटनालाई जिल्लामै मिलाउन थापाले धनुषा जिल्ला खेलकुद विकास समितिका प्रमुख विनोद सिंहलाई दबाब दिएका थिए ।

पटाका दुर्घटनामा आलोक राउतको मृत्यु भएपछि त्यसको केही दिनपश्चात् नै उनका बुबा शोभित राउतले राष्ट्रिय खेलकुद परिषद्मा १० लाखको क्षतिपूर्ति र आफूलाई परिषद्मा जागिर दिनुपर्ने मागसहित निवेदन दिएका थिए । तर, लामो समयसम्म पनि उक्त निवेदनमा परिषद्ले कुनै सुनुवाइ नगरेपछि शोभितले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषामा थापासहित उक्त घटनामा जिम्मेवार कर्मचारी चण्डिकाविरुद्ध गत साता किटानी जाहेरी दिएका थिए । यसरी आफूसहित चण्डिकाका विरुद्ध किटानी जाहेरी परेपछि निकै आत्तिएका थापाले त्यसपछि शोभितलाई काठमाडौं बोलाएका थिए ।

त्यसपछि माघ २६ गते थापाकै कार्यकक्षमा उनीहरूको गोप्य वार्ता भएको थियो । उक्त गोप्य वार्तामा थापाले नौलो नाटकको मञ्चन गर्दै घटनालाई मत्थर पार्न शोभितलाई परिषदमा जागिर दिने वचन दिएका थिए । स्मरणीय छ, ०५२ सालमा तत्कालीन राखेपका उपाध्यक्ष सोमनाथ प्यासीको स्वकीय सचिवको रूपमा परिषद्मा छिरेका थापाको शुरुको नियुक्तिसमेत नरहेको कसैबाट छिपेको छैन । यस्तो अवस्थामा अहिले विभागीय प्रमुख भए पनि एउटा डनपेन किन्ने हैसियतसमेत नभएका थापाले कर्मचारी नियुक्तिजस्तो अत्यन्त संवेदनशील कार्य गर्ने अधिकार कहाँबाट पाए, त्यसमा राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल गम्भीर हुन आवश्यक देखिएको छ ।

यतिबेला राखेपअन्तर्गत र आफूनिकटका कर्मचारीउपर प्रहरीमा किटानी जाहेर परेपछि त्यसबाट उन्मुक्ति पाउन थापाले नियुक्तिको नाटक मञ्चन गरेपछि परिषद्का आमकर्मचारीबीच चर्चाको विषय बनेको छ । स्मरण रहोस्, कानुनअनुसार पनि फौजदारी मुद्दामा मिलापत्र गर्न मिल्दैन । यो कुराप्रति अनविज्ञ थापाले कानुनको सिद्धान्त र मान्यताविपरीत मृतक आलोकका बुबा शोभितलाई जागिरको प्रलोभन दिँदै किटानी जाहेरी फिर्ता लिन बाध्य गर्दै गैरकानुनी कार्यसमेत गरेका छन् । जिल्ला प्रशासन कार्यालय र प्रहरीमा परेको किटानी जाहेरी फिर्ता लिन कानुनसम्मत मिल्दैन भन्ने कानुनविद्हरूको जिकिर रहेको छ । अर्को कुरा, राज्यको जिम्मेवार सुरक्षा निकाय प्रहरी र प्रमुख जिल्ला अधिकारीले प्रचलित कानुनको परिपालना गर्नुपर्ने दायित्वबाट यतिबेला पन्छिन कदापि मिल्दैन ।

पटाका घटनालाई निस्तेज पार्न मृतकका बुबा शोभितलाई राखेपका सदस्यसचिव रमेशकुमार सिलवालसँग साँठगाँठ गर्दै थापाले राखेपमा करारको कर्मचारी (पियन)को रूपमा नियुक्ति दिएको थाहा भएको छ । यसरी छोराको ज्यान गएकोमा दुःखी हुनुभन्दा शोभित जागिर पाएर मख्ख भएको खुलासा भएको छ । प्राप्त जानकारीअनुसार शोभितले १० लाखको क्षतिपूर्तिको मागसहित राखेपमा निवेदन दर्ता गरे पनि थापाले पाँच लाख अहिले दिने र पाँच लाख पछि दिने सर्तमा शोभितलाई नियुक्ति दिएका थिए । सोअनुसार सरकारको तर्फबाट शोभितले अहिले पाँच लाख र जागिर पाइसकेका छन् ।

पछिल्लो समयमा विकसित यो घटनाबारे सत्यतथ्य बुझ्न शोभितसँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन् । यसरी कर्मचारी नियुक्तिसम्बन्धी कुनै अधिकार नै नभएका विभागीय प्रमुख कुलबहादुर थापाले प्रदान गरेको भन्ने नियुक्तिको वैधानिकतामाथि भोलि प्रश्न उठ्ने कुरामा दुईमत छैन । यदि थापाले नियुक्ति दिएका हुन् भने त्यो गैरजिम्मेवार र गैरकानुनी कार्य हो । यदि सदस्यसचिव सिलवालको मिलेमतोमा जागिर दिइएको हो भने त्यसको पनि छानबिन हुनुपर्ने आवश्यकता प्रस्ट रूपमा देखिएको छ । किनकि यो फौजदारी मुद्दा हो, थापा र बाँस्तोलाका कारण एक बालकले ज्यान गुमाएको छ ।

त्यस्तै, जनकपुरमा आतिसबाजी गर्न ल्याइएको पटाका नेपाली सेनाले उपलब्ध नगराएको स्रोतको दाबी छ । प्रचलित कानुनले विस्फोटक पदार्थ पटाका किनबेच गर्न निषेध गरेको छ । यस्तो अवस्थामा भारतीय व्यापारीसँग अनैतिक साँठगाँठ गरी जनकपुरमा पटाका भित्र्याएर आतिसबाजी गरिएको बुझिएको छ । आतिसबाजी गरिए पनि त्यसपछि घट्ने सम्भावित घटना र दुर्घटनाप्रति सम्बन्धित निकायका व्यक्तिको लापरबाही र गैरजिम्मेवारीले गर्दा बालक आलोकको मृत्यु भएको छ । यसका लागि किटानीसहितको जाहेरी परिसकेको अवस्थामा अब थापाले चालेको कर्मचारी नियुक्तिको नाटक भविष्यमा उनलाई बचाउन कति सफल होला– त्यो हेर्न लायक भएको छ । स्मरणीय छ, यस घटनाबारे अहिलेसम्म राष्ट्रिय खेलकुद परिषद्ले कुनै जानकारी सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया