गभर्नरमा नौ नामको चर्चा

गभर्नरमा नौ नामको चर्चा


फागुनको पहिलो साता नै शुरु हुनुपर्ने राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अझै शुरु भएको छैन । आगामी चैत ५ गते हालका गभर्नरको कार्यकाल समाप्त हुँदै छ र, नियमानुसार एक महिनाअघि नै गभर्नर नियुक्तिको प्रक्रिया शुरु गर्नुपर्ने थियो । अर्थमन्त्रीको अध्यक्षतामा एकजना पूर्वगभर्नर तथा एक अर्थशास्त्रीमध्येका व्यक्तिहरू सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति गठन भई त्यस्तो कमिटीले सिफारिस गर्ने तीनजनामध्ये एकजनालाई सरकारले गभर्नर नियुक्त गर्नुपर्ने कानूनी व्यवस्था छ । तर, अर्थमन्त्री युवराज खतिवडाले सिफारिस कमिटी बनाउनेतर्फ समयमै ध्यान दिएनन् ।

आफूले चाहेका व्यक्तिलाई गभर्नर बनाउन नमिल्ने स्थिति भएपछि अर्थमन्त्री खतिवडाले यसतर्फ उदासीनता देखाएको बताइन्छ । भनिन्छ, खतिवडा महाप्रसाद अधिकारीलाई गभर्नर बनाउन चाहन्छन् । तर, राष्ट्र बैंक नियमावलीअनुसार गभर्नर नियुक्त हुन स्नातकोत्तर गरेको हुनुपर्छ । महाप्रसाद चार्टर्ड एकाउटेन्ट हुन् र त्रिभुवन विश्वविद्यालयले सीएलाई स्नातकसरहको मात्र मान्यता दिने निर्णय गरिसकेको छ ।

त्यसैले महाप्रसादको गभर्नर बन्न योग्यता नपुग्ने देखिएको छ, कदाचित उनलाई खतिवडाले बलजफ्ती नियुक्ति गराएछन् भने पनि अदालतले योग्यता नपुगेका व्यक्तिको पक्षमा निर्णय दिने विश्वास गर्न सकिँदैन । डिपुटी गभर्नर चिन्तामणि सिवाकोटी गभर्नर पदका बलिया दाबेदार मानिन्छन् र, प्रधानमन्त्री केपी शर्मा ओली पनि सिवाकोटीकै पक्षमा रहनुभएको बुझिएको छ । अर्थमन्त्री खतिवडा भने चिन्तामणिलाई गभर्नरका लागि योग्य मान्दैनन् । खतिवडाले चिन्तामणिबारे अनौपचारिक टिप्पणी गर्दै ‘पैसाका लागि जेसुकै गर्न तयार रहने र विषयगत दक्षताको अभाव भएका व्यक्ति’ भन्ने गरेका छन् ।

यसरी खतिवडाले चिन्तामणिविरुद्ध धारणा प्रकट गरेको भए पनि प्रधानमन्त्री दाहिना भएकोले यसपटक सिवाकोटीले मौका पाउने सम्भावना ज्यादा रहेको अनुमान गरिन्छ । राष्ट्र बैंक गभर्नरका निम्ति अन्य केही व्यक्तिहरूको नाम पनि चर्चामा छ । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, राष्ट्र बैंकबाट सेवानिवृत्त अर्थशास्त्री डा. गोविन्दबहादुर थापा तथा राष्ट्र बैंकबाटै सेवानिवृत्त अर्का अर्थशास्त्री डा. रवीन्द्रप्रसाद पाण्डेलाई पनि नियुक्तिका निम्ति योग्य मानिन्छ ।

तर, अहिले मुलुकमा योग्यभन्दा पनि आफ्नो मानिसलाई मौका दिने परम्परा बसेको र उल्लिखित तीनैजना व्यक्तिप्रति युवराज खतिवडा ज्यादा पूर्वाग्रही भएकोले पनि उहाँहरूको नियुक्तिको सम्भावना न्यून देखिएको छ । त्यसो त मीनबहादुर श्रेष्ठ, शिवराज श्रेष्ठ, राजन खनाल र रामेश्वर खनालको नामसमेत सम्भावित गभर्नरका रूपमा लिइन्छ । मीनबहादुर श्रेष्ठ प्रचण्डको निकट भएको, शिवराज श्रेष्ठ आफूअनुकूल व्यक्ति नरहेको, राजन खनालमा नेतृत्वक्षमता दुर्बल भएको र रामेश्वर खनाल सत्ताधारीहरूको इच्छाभन्दा व्यावसायिकतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने स्वभावको भएकोले नाम चर्चामा भए पनि उहाँहरूमध्येबाट कसैलाई गभर्नर नियुक्त गरिने सम्भावना क्षीण छ ।

त्यसैले यो अवस्था र व्यवस्था सुहाउँदो चिन्तामणि सिवाकोटी नै राष्ट्र बैंकको गभर्नर बन्न सक्ने स्थिति छ, तर युवराज खतिवडा र महासचिव विष्णु पौडेलको चल्यो भने महाप्रसाद अधिकारीलाई नै गभर्नर चयन गर्न पनि असम्भव छैन । अर्थमन्त्री खतिवडाले नेपाल राष्ट्र बैंकको स्वायत्ततालाई समाप्त गर्दै सरकारको लाचार छाया बनाउने गरी कानूनको मस्यौदा तर्जुमा गरेका छन् । गोविन्दबहादुर थापा, दीपेन्द्रबहादुर क्षेत्री, रामेश्वर खनाल र रवीन्द्र पाण्डेजस्ता मानिसको चयन भएको अवस्थामा प्रस्तावित ऐन जस्ताको त्यस्तै पारित गराउन अड्चन पैदा हुन सक्ने भएकोले पनि यी नामहरू अर्थमन्त्रीको डायरीमै नभएको बताइन्छ ।

चर्चामा आएकामध्ये महाप्रसादलाई अर्थमन्त्री र चिन्तामणिलाई प्रधानमन्त्रीको साथ भएकोले दुईमध्ये एकलाई गभर्नर बनाइने विश्वास गरिएको छ ।