‘मन’लाई नियन्त्रण कसरी गर्ने ?

‘मन’लाई नियन्त्रण कसरी गर्ने ?


■ बबिता बस्नेत

‘वायुभन्दा तीव्र गति केको हुन्छ ?’ यक्षले गरेको प्रश्नको जवाफमा युधिष्ठिर भन्छन्– ‘मन’ । मनको गति हावाभन्दा तीव्र हुन्छ । जङ्गलको कुवामा पानी लिन गएका आफ्ना भाइहरू एकपछि अर्को नफर्किएपछि भाइहरूलाई खोज्दै कुवामा पुगेका युधिष्ठिरले जब सबै भाइहरू मरेको देख्छन्, स्तब्ध हुन्छन् । पानीमा केही खराबी हुनुपर्छ भनी अञ्जुलीले पानी उठाउँदै गर्दा अपरिचित कसैले मेरो प्रश्नहरूको जवाफ नदिई पानी खान पाउँदैनौ भन्छ । यक्ष प्रश्नका नामले चर्चित ती प्रश्नहरू निकै रोचक छन् । यक्षका शृङ्खलाबद्ध प्रश्नको जवाफ दिएपछि सबै भाइहरूले जीवन फिर्ता पाउँछन् । यक्ष प्रश्नमा चारवटा प्रश्नका जवाफ मनसँग सम्बन्धित छन् । साँच्चीकैको स्नान कुन हो ? जवाफमा युधिष्ठिर भन्छन्– साँच्चीकैको स्नान त्यो हो जसले मनको मैलो धुन सकोस् । यक्षले गरेको अर्को प्रश्न छ– कसलाई वशमा राख्न सके दुःख हुँदैन ? जवाफ हुन्छ– मनलाई वशमा राख्न सके दुःख हुँदैन । धर्मको सम्पूर्ण सत्य केमा हुन्छ ? भन्ने प्रश्नको जवाफमा ‘हृदय’ भनिएको हुन्छ । हृदय पनि मन नै हो ।

मनका बारेमा मानिसले विश्वभरि धेरै साहित्य सिर्जना गरेका छन् । मनसँग सम्बन्धित गीतले विश्वबजार पिटेको छ । दुःखी हुने पनि मन, खुसी हुने पनि मन । आज मलाई यस्तो गर्न मन लाग्यो, यो मन लागेन । मनले मानेन, मनैभित्रबाट यो गरूँजस्तो लाग्यो । तिम्रोजस्तो हो र मेरो मन ? कति राम्रो मन, कति निष्ठुर मन, मन पनि कसरी लागेको होला… कस्तो मन पनि नलागेको… मनले कसरी मानेको ? मनको शान्तिका लागि, मन अशान्त भएर… मनको प्रयोग गरूँ–नगरूँ ‘मन’ शब्दको प्रयोग भने हामी जताततै गरिरहेकै हुन्छौँ । सडक, सभा–सम्मेलन या साथीभाइसँग विश्वको गफ दिन जति सहज छ आफूभित्रको ब्रह्माण्डलाई बुझ्न त्यत्ति नै गाह्रो छ । मानवजीवनमा भएका चार पक्ष शरीर, मन, मस्तिष्क र आत्माबारे जति बुझ्न खोजे पनि पूर्ण बुझाइ प्राप्त गर्न कठिन छ । जति बुझ्न खोज्यो झन् गहिरो, जति भित्र गयो झन् विशाल ।

मनस्थितिअनुसार मानिस र विषयलाई हेर्ने दृष्टिकोण फरक हुन सक्छन्, भइरहेका हुन्छन् । मन के हो ? मन किन यस्तो हुन्छ ? प्रश्नहरू सानैदेखि मस्तिष्कमा नआउने होइनन्, तर जवाफ भने खासै पाइँदैन । प्रायः अग्रजहरूले भनेकोचाहिँ सुनिन्छ– मनलाई नियन्त्रण गर, आफ्नो वशमा राख, शान्त होऊ । तर, मनलाई नियन्त्रण कसरी गर्ने भनेरचाहिँ कमै चर्चा हुने गर्छ ।

कसको मन कतिबेला कहाँ पुगेको छ भनेर नापजाँच गर्ने यन्त्र हुँदो हो त मानिसहरू आफू रहेको ठाउँमा कमै भेटिन्थे होलान् । मनलाई दुई भागमा बाँडेर चर्चा गर्ने गरिएको छ, चेतन मन र अवचेतन मन ।

कहिलेकाहीँ लाग्छ– कसको मनमा के छ भन्ने थाहा हुने भए संसार कस्तो हुन्थ्यो होला ? अहिलेभन्दा कुरूप हुन्थ्यो या राम्रो हुने थियो होला ? मनमा एउटा कुरा राखेर बाहिर अर्कै गर्नेको सङ्ख्या कति छ कति । कतिपय अवस्थामा मानिससँगै भएर पनि मनचाहिँ अन्तै भइरहेको हुन्छ । वर्षौंदेखि एउटै मानिसलाई मनमा राखेर अरूसँग जीवन बिताउनेहरूको सङ्ख्या पनि ठूलो छ । साथमा हुनेलाई भन्दा नहुनेलाई मनले मन पराउने र माया गर्ने अनुभवको साक्षी आफू मात्रै भएर बाँच्नेहरू पनि छन् । मनलाई प्रभाव पार्ने कुरा धेरै छन्, कहिले दृश्यले प्रभाव पार्छ, कहिले ध्वनिले प्रभाव पार्छ । राम्रो फूल या साँझको मधुरो प्रकाश देख्दा मनभित्र एकप्रकारको भावना आउँछ । मीठो गीत, सङ्गीत या चराका धुन सुन्दा मनको बहाव फरक हुन सक्छ । द्वन्द्व या विपत् देख्दाको छटपटी फरक हुन सक्छ । जे–जे भए पनि मन र शरीरबीचको सम्बन्ध गहिरो छ । मनको असर शरीरमा पर्छ भनिन्छ । मन रमाएको बेला शरीर स्फुर्ती हुने र मन दुःखी भएको बेला आलस्य र गाह्रो हुने कुराको महसुुस त हामी सबैले गरेकै छौँ । मानिसको मन र मस्तिष्कमा के–कति दृश्य र घटनाहरू अटाउँदा रहेछन् भन्ने थाहा पाउन विपश्यना गर्नुपर्छ । जिन्दगीमा देखिएका, भोगिएका एकपछि अर्को दृश्य आँखावरिपरि आउँछन् । पेनड्राइभ, हार्डड्राइभ, गुगलड्राइभ कुनै पनि ड्राइभले मानव मन र मस्तिष्कको विशाल स्पेसलाई भेट्न सम्भव छैन ।

महाभारतमा एउटा गजबको प्रसङ्ग छ । बनवासका बेला जङ्गलमा एकपल्ट द्रौपदीले एउटा रूखबाट फल टिप्छिन् । रूखले दुःखी भएर भन्छ– यो फल वर्षौंदेखि मेरो आडमा तपस्या गरिरहेका ऋषिको लागि मैले साँचेर राखेको थिएँ, जो केही दिनमै तपस्या तोड्दै छन् । यो सुनेपछि द्रौपदीले फल रूखमै टाँसिदिन खोज्छिन् । रूखबाट आवाज आउँछ– यसका लागि मनमा एउटा कुरा बाहिर अर्को हुनुहुँदैन । तिम्रो मनमा वर्षौंदेखि कोही बसिरहेको छ । यत्तिकैमा पाण्डवहरू उनलाई खोज्दै त्यहीँ आइपुग्छन् । एकप्रकारको ‘कन्फेक्सन’को अवस्थामा रहेकी द्रौपदीले पाण्डवहरूतिर हेर्दै रूखलाई जवाफ दिन्छिन्– कृष्ण मेरा साथी हुन्, उनी मेरो कोठामा आइरहन्थे, भेट्दाभेट्दै मैले उनलाई मन पराउन थालेँ, उनी मेरो मनमा छन् । फल टाँसिएन, यसको अर्थ उनले झुट बोलिन् भन्ने प्रस्ट थियो । अन्त्यमा उनले भनिन्, ‘वर्षौंदेखि मैले जुन कुरा लुकाएर राखेकी थिएँ, त्यो कुरा आखिर आज भन्नै पऱ्यो । स्वयम्बरको दिनमै मैले कर्णलाई मन पराएकी थिएँ । कृष्णका कारण मैले उनलाई बरमाला पहिरिन सकिनँ । यदि कर्णसँग विवाह गरेको भए न मैले यति धेरै दुःख भोग्नुपर्थ्यो न त कर्णले नै यति हीनताबोध खप्नुपर्थ्यो । वर्षौंदेखि मैले कर्णलाई मनमा लिएर हिँडिरहेकी छु ।’

उनको कुराले पाण्डवहरू आश्चर्यचकित हुन्छन्, तर केही बोल्दैनन् । यसरी पाँच पति साथमा भएकी द्रौपदीले समेत मनमा अरूलाई नै राखिरहेको प्रसङ्गबाट मानिसहरू आवरण र मनबीचको ठूलो अन्तरबीच बाँचिरहेका हुन्छन् भनेर बुझ्न गाह्रो पर्दैन । मनकै कारण कहिलेकाहीँ एक्लै हुँदा भिडमा जस्तो र भिडमा हुँदा एक्लैजस्तो महसुस मानिसलाई हुने गर्छ । भान्सामा होस् या मेलापातमा, कार्यालयमा या यसै बस्दा वा यात्रामा मनमा रहेको मान्छेसँग कुरा गर्दै हिँड्नेभित्र त हामी सबै नै पर्छौं ।

मनको तरङ्ग पृथ्वीमा हुने तरङ्गभन्दा शक्तिशाली हुन्छ । जसलाई बाहिरको कुनै पनि शक्तिले नियन्त्रण गर्न सक्दैन, आफैँले गर्ने हो । भनिन्छ– सबैभन्दा नपढिएको पुस्तक मानिसको जीवन हो । आफैँभित्रको ब्रह्माण्डमाथि अध्ययन र अभ्यास गर्ने कोसिस गरौँ ।

मन प्रायः आफ्नै संसारमा रमाउँछ । कसको मन कतिबेला कहाँ पुगेको छ भनेर नापजाँच गर्ने यन्त्र हुँदो हो त मानिसहरू आफू रहेको ठाउँमा कमै भेटिन्थे होलान् । मनलाई दुई भागमा बाँडेर चर्चा गर्ने गरिएको छ, चेतन मन र अवचेतन मन । मान्छेले नचाहँदा–नचाहँदै पनि अवचेतन मनको कुरा कहिलेकाहीँ बाहिर आइदिन्छ । अनि कहिलेकाहीँचाहिँ मुखले बोल्ने र मनले सोच्ने कुरा फरक हुन सक्छ । मनमा जे छ बाहिर त्यही बोल्ने र गर्ने मानिसहरूको सङ्ख्या त्यति ठूलो हुँदैन भन्ने छ । मनले विचार उत्पन्न गर्छ । प्रेम र घृणा दुवै मनबाटै उत्पन्न हुने हुन् । आफ्नो मनलाई ‘कन्ट्रोल’ गर, नियन्त्रणमा राख भनेर सानैदेखि सुनिएको भए पनि मनलाई नियन्त्रण गर्ने रिमोटकन्ट्रोलचाहिँ अहिलेसम्म बनेको छैन । भविष्यमा बन्ने सम्भावना पनि देखिँदैन । मनलाई वशमा राख्ने काम व्यक्ति स्वयम्को हो । मनमा उत्पन्न हुने भावना र मस्तिष्कमा उत्पन्न हुने विचारको जिम्मेवार मानिस स्वयम् हो । अरूले यी कुराको जिम्मेवारी लिन सक्दैन । भगवान् गौतम बुद्धले जीवनमा सुखदुःखको कारण मन भएकाले मनलाई शत्रु नबनाउ भन्नुभएको छ ।

आफ्नो मन अशान्त भएपछि मानिसले बाहिर कतै पनि शान्ति देख्दैन । किनभने शान्ति महसुस गर्ने कुरा हो । गीतामा कृष्णले भन्नुभएको छ– मानिसको पतनको कारण काम, क्रोध, मोह र लोभ हो । यी चारवटै कुरा मनसँग सम्बन्धित छन् । एकैछिन मन तलमाथि हुँदा मानिसले ज्यान गुमाएकादेखि जेलमा पुगेकासम्म अनेक घटना छन् । मन अशान्त भएपछि मानिस ज्योतिषकहाँ जान्छन्, मन्दिरदेखि भट्टीसम्म मानिसलाई मनको परिस्थितिले नै डोऱ्याउने हो । मनको उतारचढावलाई लिएर धेरैले धेरै कुरा लेखेका छन् । तर, मनलाई बाँध्नका लागि बाहिर भौँतारिनुभन्दा पनि पलेँटी कसेर आफैंभित्रको यात्रा गर्नुपर्छ भन्नेचाहिँ कमैलाई मात्र थाहा छ । मनको तरङ्ग पृथ्वीमा हुने तरङ्गभन्दा शक्तिशाली हुन्छ । जसलाई बाहिरको कुनै पनि शक्तिले नियन्त्रण गर्न सक्दैन, आफैँले गर्ने हो । भनिन्छ– सबैभन्दा नपढिएको पुस्तक मानिसको जीवन हो । आफैँभित्रको ब्रह्माण्डमाथि अध्ययन र अभ्यास गर्ने कोसिस गरौँ ।