सिड्नीमा रामकृष्णको शानदार गुन्जन

सिड्नीमा रामकृष्णको शानदार गुन्जन


■ राजन घिमिरे, सिड्नी

साँच्चै… जे–जस्तो हुने सोचिएको थियो अन्ततः त्यही भयो शुक्रबार (६ मार्च) सिड्नीमा । लोकप्रिय गायक रामकृष्ण ढकालको सुमधुर आवाजमा कालजयी गीत–संगीत सुन्दै उनलाई साथ दिन आएका सिड्नीवासी सङ्गीतप्रेमीहरूको साझा प्रतिक्रिया थियो– ‘धेरै कार्यक्रम हेरियो, तर यस्तो भब्य र सभ्य कार्यक्रमको अवसर जुरेको थिएन । यो ऐतिहासिक कार्यक्रम हो ।’

दर्शकको रूपमा उपस्थित विकास उप्रेतीले रामकृष्ण ढकालको सांगीतक प्रस्तुति आफ्नो जीवनमा अविष्मरणीय क्षण बनेर रहने बताए । कार्यक्रमबाट उनी निकै खुशी र सन्तुष्ट देखिए । विकासकै जस्तो अनुभूति गर्नेहरू धेरै भेटिए ।

लाइभ म्यूजÞिक ब्याण्डसहित स्टेजमा प्रस्तुत भएका रामकृष्णले ‘बिहान उठ्ने बित्तिकै’ बोलको गीतबाट कार्यक्रम शुरू गरेका थिए । कार्यक्रममा कंगारू ऐजुकेसन फाउन्डेसनको तर्फबाट रामकृष्णलाई सम्मान गरिएको थियो ।

‘रामकृष्ण जस्ता सागीतिक फाँटका एक हस्तीसँग जोडिन पाएकोमा हामी निकै खुशी छौँ’– कंगारू एजुकेशन एण्ड फाउण्डेसनका सिइओ महेशबाबु तिमल्सिनाले बताए । कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष मन केसीले विगतका दिनमा रामकृष्ण ढकालसँगको अनुभूति सुनाएका थिए । ‘साँच्चै आवाजको मात्र होइन, मनका पनि धनी गायक हुन् रामकृष्ण । यस्ता हस्तीलाई सिड्नीमा पाउँदा हामी दङ्ग छौँ’– उनले प्रशन्नता ब्यक्त गरे ।

कार्यक्रममा रामकृष्णले आफ्ना २० भन्दा बढी कालजयी गीत प्रस्तुत गरे । सिड्नीमा रहेका गायक रमण रेग्मी र सुजाता उपाध्यायको साथ उनलाई मिलेको थियो भने कार्यक्रममा प्रस्तुत गरिएको रामकृष्णको सांगीतिक यात्रा झल्कंने वृत्तचित्रको प्रदर्शनबाट उपस्थित दर्शकले ढकालको विगतदेखि वर्तमान अवस्थासम्मको सांगीतिक यात्राबारे जानकारी पाए ।
आफूले आयोजना गरेको पहिलो कार्यक्रम भब्यताका साथ सम्पन्न भएकोमा आयोजक राजु ढकाल पनि दङ्ग थिए । ‘म सबैलाई धन्यवाद दिन चाहन्छु, यो साथ र उत्साहको लागि !’– ढकालले भने ।

करिव तीन घण्टा चलेको कार्यक्रममा रामकृष्णको गीतमा झुम्नेहरू फरक विधा, क्षेत्र, तह र तप्काका स्रोता एवम्ं दर्शकहरू थिए ।

सिड्नीमा रामकृष्णको यो तेस्रो कार्यक्रम हो । उनी सन् २००९ र सन् २०१३ मा कार्यक्रमका लागि सिड्नी आएका थिए । ‘सात वर्षपछिको यो मेरो सांगीतिक प्रस्तुति यसपटक झनै उल्लेखनीय रह्यो । यो साथको लागि सबैमा नमन गर्न चाहन्छु’, गायक ढकालले प्रशन्नता ब्यक्त गर्दै भने– ‘यसपटक अष्ट्रेलियाका अन्य शहरमा पनि जाने कार्यक्रम थियो, तर विविध कारण जान सकिनँ । अब चाँडै नै फेरि आउने बाचा गर्दछु ।’