गन्तव्यहीन यात्रा नै अस्थिरताको कारक

■ इन्द्रबहादुर बराल



२०७४ को सङ्घीय संसद्को निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको चुनावी गठबन्धन र निर्वाचन–परिणामले उनीहरूमा ठूलै उत्साह–उमङ्ग छायो । झन्डै दुई तिहाइनजिकको परिणाम पूर्वएमाले–माओवादी गठबन्धनले पायो पनि । तर, दुर्भाग्य त्यो बहुमतले नेपाली जनतामा पलाएको आशा भने निराशामा परिणत हुन पुगेको आज दुई वर्षपछि छर्लङ्ग हुन पुगेको छ । जसरी अलग–अलग चरित्र र गन्तव्य तय गरेर हिँडेका दुई कथित कम्युनिस्ट पार्टी आकस्मिक रूपमा हतार–हतार ‘एकीकृत’ हुन पुगेका थिए, त्यसलाई ‘फुटेको घैंटो र टुटेको सुराहीका टुक्रा जोडेर नयाँ भाँडोको आकार दिने कोसिस’को रूपमा जानिफकारहरूले शुरुमै औंल्याएका थिए । फुटेको माटोको भाँडो यसै पनि जोडिँदैन, त्यसमाथि भिन्न स्वरुप र आकारका भाँडोलाई मिलाउने प्रयास नै दुनियाँको लागि अस्वाभाविक थियो । आज सोही यथार्थ चरितार्थ हुँदै छ ।

यतिबेला सरकारको चौतर्फी विरोध र आलोचना थेग्नै नसक्ने गरी भइरहेकोे छ । प्रत्यक्षतः जनताका दैनन्दिनीलाई सहज तुल्याउन नसकेको र विकास–निर्माणका काममा पनि चुनावी घोषणापत्रअनुसार पटक्कै पाइलो चाल्न नसकेको, उल्टै भ्रष्टाचारका नयाँ–नयाँ प्रकरणले जन्म लिँदा जनता निराश र आक्रोशित बन्न पुगेका छन् भने यस्तो निराशादायी माहोलबीच सत्तारुढ दलभित्रै व्यक्तिविशेषलाई देवत्वकरण गर्ने या मानमद्र्धन गरेर धुलिसात तुल्याउने गुटगत रस्साकस्सी चर्किन पुगेको छ । सत्तारुढ दलभित्रको यस्तो यदुवंशी झगडाले नेपालमा त बलियो सरकार टिक्नै सक्दैन कि भन्ने चिन्तासमेत जन्माइदिएको छ ।

हुन पनि प्रथम आमनिर्वाचन २०१५ मा नेपाली काङ्ग्रेसले दुईतिहाइ बहुमत ल्यायो, तर महत्वाकाङ्क्षी राजा महेन्द्रले ‘माटोअनुकुलको व्यवस्था’ अपरिहार्य देख्दा जनताद्वारा अनुमोदित काङ्ग्रेस सरकार सैनिक बलमा अपदस्थ हुन पुग्यो भने निर्दलीय पञ्चायती व्यवस्थाको प्रादुर्भाव गरियो । यसरी एकतन्त्रीय शक्तिशाली व्यवस्था लागू गरिए पनि अपेक्षित विकास हुन नसकी नेपाल पिछडिएकै मुलुकको रूपमा रहन विवश भयो । तीसवर्षे पञ्चायती व्यवस्था ढलेर प्रजातान्त्रिक परिपाटी शुरु भएको पनि तीसै वर्ष पूरा भएको छ । बीचका विभिन्न उतारचढावयुक्त कालखण्डबाट गुज्रँदै अहिले आएर करिब दुईतिहाइको कम्युनिस्ट सरकारले देशमा शासन गरिरहेको छ । बलियो सरकारले स्थायित्व, शान्ति र विकास दिएर नेपालीका सबै दुःख हरण गर्ने ठानिएको थियो । तर, उल्टै बलियो भनिएको सत्तारुढ पार्टी नै इतिहासकै सर्वाधिक अकर्मण्य सावित भई नेपालीका सपना नै धुलिसात हुने त होइन भन्ने चिन्ता र चासो ह्वात्तै बढेको छ । यो वास्तवमै दुःखद पक्ष हो ।

इतिहासकै स्थायी सरकार भनेर चित्रण गरिएको वर्तमान सरकार अस्थिरताको भूमरीमा पर्नुको मूल कारण के होला ? खोजी हुन आवश्यक छ । रोगको सही निदान (डाइग्नोसिस) नभएसम्म उपचार (ट्रिटमेन्ट) ठीक ढङ्गले अघि बढ्न सक्दैन । त्यसैले यी दुई– पूर्वएमाले र पूर्वमाओवादीको मूलभूत सिद्धान्तको गम्भीर रूपले अध्ययन–विश्लेषण गर्ने बेला आएको छ ।

पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको मिलन मूलतः राजनीतिक नभई क्षणिक राजनीतिक स्वार्थमा आधारित या सत्ताकेन्द्रित थियो र त्यस्तै देखिँदै छ पनि । निश्चित राजनीतिक गन्तव्य नभएका र आ–आफ्नै स्वार्थबाट घेरिनुका साथै वाह्य शक्तिबाट परिचालित हुनाको कारण अहिले यो अवस्था सिर्जना भएको महसुस गरिँदै छ । हुन त एमाले र माओवादी दुवै पार्टीको विचारको स्रोत एउटै हो । कार्यनीति र रणनीतिक रूपमा केही भिन्नताजस्तो मात्र देखिन्थ्यो । माओवादीले चलाएको दशवर्षे जनयुद्धमा करिब १७ हजार नेपालीका छोराछोरीले आफ्नो अमूल्य जीवन गुमाए पनि तत्कालीन नेकपा मालेले पनि झापामा निर्दोष मानिसको घाँटी छिनाएकै हुन् । यो दृष्टिकोण र हेराइमा मात्रात्मक फरक भए पनि चरित्र एउटै हो भन्दा कसैका प्रति अन्याय नहोला ।

हुन त नेपाली काङ्ग्रेसले पनि हतियार नउठाएको होइन, तर उसले लक्षित ठाउँमा प्रहार गरेको थियो । जनकपुरमा राजा महेन्द्रमाथि बम प्रहार गरेकै हो, भलै उसले सर्वसाधारण सुतिरहेको मानिसको गला रेटेन, पढाइरहेका शिक्षकलाई थुतेर बाहिर निकाली रुखमा झुन्ड्याएर मारेन अनि काजकिरियामा बसेका मानिसको हत्या गरेन । क्रान्तिका नाममा माओवादी, माले र नेपाली काङ्ग्रेसले सबैले हतियार उठाए, तर फरक लक्ष्य वा उद्देश्य थिए । अरूले सोझासाझा जनताको मुड गिड्ने काम गरे, तर काङ्ग्रेसले चाहिँ प्रजातन्त्रको गला रेट्ने निरङ्कुश राजालाई लक्षित ग¥यो । तथापि प्रजातन्त्रको पुनर्स्थापनापछिका दिनहरू त्यति सुखद हुन सकेनन् ।

प्रजातन्त्रको पुनस्र्थापनापछिको पहिलो जननिर्वाचित सरकारले सुविधाजनक बहुमत त प्राप्त ग¥यो, तर आपसी मनोमालिन्य र असहिष्णुताले सरकार असमयमा नै विघटन हुन पुग्यो । यसको दुर्भाग्यको जिम्मा नेपाली काङ्ग्रेसले लिनु नै पथ्र्यो र लियो पनि । तर, आपसी झगडाको शिकार बनेका कारण मध्यावधि निर्वाचनमा नेपाली जनताले नराम्रोसँग लोप्पा खुवाइदिए काङ्ग्रेसलाई । त्यही कारणले फेरि अर्को भयानक विद्रोहको जन्म भयो, नेकपा माओवादी नामको । त्यो विद्रोहले लामो समयदेखि थाती रहेको गणतन्त्रको यात्रालाई पूर्णता दिन त सफल भयो, तर राजनीतिक स्थायित्व दिन सकेन । त्यसको परिणाम अहिले पनि राजनीतिक स्थायित्वमाथि अनेक शङ्का–उपशङ्का जन्माइरहेको छ ।

यसको पछाडि पर्याप्त गृहकार्यबिना नै गरिएको पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको एकता नै हो । दुई भिन्न उद्देश्य बोकेका ठूला कम्युनिस्ट पार्टी एउटाले जनताको बहुदलीय जनवाद र अर्को माओवादीतर्फको गन्तव्य कायम राख्नु नै यी दुवैका लागि अभिसाप हो । पूर्वएमालेमा पनि केही जडसूत्रवादको धङधङीले पछ्याइरहेको भान हुन्छ । जनताका नैसर्गिक अधिकारको पक्षधर बन्दै गएकाहरूको एउटा लाइन देखिँदै छ भने पुरातनवादी अर्थात् जडसूत्रवादीहरूको अर्को लाइन छ डबल नेकपाभित्र । यही नै अहिलेको राजनीतिक धु्रवीकरण हो सत्तारुढ दल नेकपा (नेकपा) मा । एउटा सत्य के हो भने प्रधानमन्त्री ओलीले आफ्नो गुटलाई आवश्यकभन्दा बढी काखी च्यापे, आफ्ना कोटरीका मान्छेहरूलाई पुल्पुल्याए । पार्टीभित्र विवादको विजारोपणको एउटा कारण त्यो पनि रह्यो ।

जनताबाट धेरै अपेक्षा गरिएका पात्र भएर पनि उनको असहिष्णु र दम्भीपन जनताको नजर बिझाउने विषय बन्न पुग्यो । सरकार प्रमुख हुनुको नाताले परिपक्वता हुनुपर्नेमा केटाकेटीपन देखिँदै गयो प्रधानमन्त्री ओलीमा । जन्मदिन मनाउने शैलीसमेत राजा–महाराजाभन्दा केही फरक नहुँदा जनतामा मोहभङ्ग नै हुन पुग्यो । राजा–महाराजाले कम्तीमा पनि नेपालको नक्सा आकारको केक त काटेनन् ! यसको चित्तबुझ्दो स्पष्टीकरण दिनबाट पनि प्रधानमन्त्री ओली चुके ।
देशको महत्वपूर्ण सार्वजनिक सम्पत्ति एउटा यती समूहको एकलौटी दोहन गराएर यसका सञ्चालकलाई पनि देवत्वकरण गर्न खोज्नु अत्यन्तै आपत्तिजनक मात्र होइन, लज्जास्पद नै हो । नेपालकै राजनीतिक इतिहासमा ओली सरकारजस्तो भ्रष्ट केही सुन्न र पढ्न पाइएको थिएन भन्नेहरू यतिबेला धेरै छन् । के कम्युनिस्ट पार्टीको सत्तालाई भदौको राँगोजस्तो मैमत्त हुन सुहाउँथ्यो त ?

प्रतिपक्ष दलहरू क्रमशः एकताबद्ध हुँदै जाने र सत्तापक्षमा विभाजित मानसिकता देखिँदा समग्र देशको भविष्य नै अन्योलपूर्ण हुनेमा कुनै द्विविधा रहँदैन । मुलुकलाई एकदमै अनिश्चयको भुमरीमा फसाउने काम स्वयम् सत्तापक्षबाट हुनु दुर्भाग्यपूर्ण छ । यही अस्थिरताउन्मुख अवस्थाबाट लाभ उठाउन दुलाबाट फुत्त–फुत्त निस्केका पात्रहरू सलबलाएका छन् । सोझो भाषामा भन्दा प्रतिक्रियावादी शक्तिहरूको चुरीफुरी निकै देखिँदै छ । सत्तारुढ दलभित्रको आन्तरिक विवाद र कलहबीच राजसंस्थावादी र कट्टर धर्मवादीहरूले चलखेल बढाएका छन् । हिन्दूवादीबाट त्यति खतरा नभए पनि आफूलाई राजावादी भन्नेहरूले मुलुकमा बेग्लै प्रकारको बितण्डा र अस्थिरता पैदा गर्ने हुन् कि भन्ने खतरा छ । तर यसतर्फ शासनको बागडोर हातमा हुनेले ध्यान पुऱ्याएको अनुभूति गर्न सकिएको छैन । त्यसो त ८१.३ प्रतिशत हिन्दू भएको देश नेपाल धर्मनिरपेक्ष घोषित हुनु आफैँमा एउटा दुःखदाश्चर्यको कुरा थियो । कतै हाम्रा राजनीतिक दल र तिनका नेताहरू बाह्य शक्तिको डिजाइनमा फसेका त होइनन् भन्ने आशङ्कालाई यस्तै–यस्तै उल्टापाल्टा व्यवहारले तथ्य सावित गराउँदै थियो । तथापि, परम्परा कायम गर्ने नाममा अर्कै–अर्कै चलखेल हुन गयो भने देशको अस्तित्व नै मेटिने खतरा पैदा नहोला भन्न सकिन्न ।

यसकारण पनि देशले प्राप्त गरेको परिवर्तनलाई संस्थागत र स्थायित्व दिन सबैभन्दा पहिले सत्तारुढ दलले नै देशमा भएको लुटतन्त्रलाई तुरुन्त रोकी भ्रष्टाचारीलाई गोर्खेलौरी लाउनुपर्छ । यो वा त्यो वहानामा कुनै पनि भ्रष्टाचारलाई लुकाउन र जोगाउन खोजियो भने भ्रष्टहरूतर्फ सोझिएको आरोप स्वयम् प्रधानमन्त्रीको पोल्टामै थुप्रिन सक्छ । गन्तव्यहीन यात्राले मुलुकलाई पार लाउन सक्दैन । सत्तारुढ दलको यात्रा गन्तव्यहीन नबनोस् भन्ने सबैको कामना छ, तर भीरबाट खस्न लागेकोलाई राम राम मात्रै भन्न सकिन्छ, काँध नै थाप्न त को पो अघि सर्छ र ? सम्बन्धित सबैलाई यो हेक्का रहोस् ।

प्रतिक्रिया