ट्राफिक नियम बाल्यकालदेखि नै किन सिकाउने ?

ट्राफिक नियम बाल्यकालदेखि नै किन सिकाउने ?


■ सनत आचार्य

काठमाडौंका सडकमा देखिने ३३ वर्षीया जापानी ट्राफिक स्वयम्सेवकको नाम आयुमी ओहासी हो, तर उनका गुरुले नेपालीलाई बोलाउन सजिलो होस् भनेर उनको नेपाली नाम सुप्रभा लामा राखिदिए । हिजोआज उनका साथीहरू उनलाई सुप्रभा भनेर नै चिन्छन्, बोलाउँछन् । यिनै आयुमी अर्थात् सुप्रभा हिजोआज दैनिकजसो काठमाडौंको व्यस्त सडकमा सवारीचालकलाई अनुशासित तुल्याइरहेको अवस्थामा देखिन्छिन् ।

सुप्रभा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म काठमाडौंका विभिन्न सडकमा हातमा सूचना र सन्देशमूलक ‘प्ले कार्ड’ बोकेर जेब्रा क्रसिङको छेउछाउमा देखिन्छिन् । गलत ठाउँबाट बाटो काट्ने बटुवाहरूलाई ‘यहाँबाट होइन, जेब्रा क्रसिङ वा आकासे पुलबाट बाटो काट्नुपर्छ, मानिसको जीवन अमूल्य छ, दुर्घटना पर्न सक्छ’ भनी सिकाउँछिन्, जानकारी दिन्छिन् । गत जेठमा आएकी उनले नयाँ बानेश्वर, भोटाहिटी, पुतलीसडकलगायतका सडकमा बटुवालाई सडक सुरक्षाबारे जानकारी प्रदान गरिसकेकी छिन् भने काठमाडौंका अधिकांश बाटोको निरीक्षण पनि गरिसकेकी छिन् । उनी नेपालमा सडकमा दुर्घटना बढी हुने र यात्रुलाई सडक सुरक्षासम्बन्धी जानकारी दिने सोचअनुसार नेपालमा जाइकामार्फत काम गरिरहेकी छिन् ।

यति मात्र होइन, उनले ट्राफिक प्रहरीको सहयोगमा विभिन्न विद्यालयमा बालबालिकालाई ट्राफिक सचेतना कक्षा पनि सञ्चालन गर्दै आइरहेकी छिन् । उनी भन्छिन्, ‘ट्राफिक नियमसम्बन्धी जानकारी बच्चादेखि नै सिकाउने हो भने सडक दुर्घटना कम हुन सक्छ ।’ जापानमा पनि विगतमा यस्तै प्रकारको समस्या रहेको उनको भनाइ छ ।

अहिले बसाइँसराइ र शहरीकरणका कारण राजधानीलगायत देशका प्रमुख शहरको जनघनत्व दिन प्रतिदिन बढिरहेको छ । प्रत्येक वर्ष सडकमा गुड्ने सवारीसाधनको सङ्ख्या पनि बढ्दै गइरहेको छ । जनसङ्ख्याको वृद्धि, शहरीकरण र बसाइँसराइका कारण सडकमा यात्रुको सङ्ख्या बढ्नु पनि स्वाभाविक हो । जहाँ सवारीचालक र सडक–यात्रुबीच तालमेल हुँदैन त्यहाँ दुर्घटना बढी हुन्छ । दुर्घटना भनेको असुरक्षित कानून वा अवस्थाबाट हाम्रो इच्छाविपरीत हुन गएको घटना हो जसमा कुनै मानवीय वा भौतिक क्षति हुन वा नहुन पनि सक्छ । यो सामान्य वा जटिल दुवै प्रकृतिको हुन सक्दछ । राज्यले विगत केही वर्षयता सडकसम्बन्धी कानूनमा कडाइ गरे तापनि विगत पाँच वर्षको नेपालको सडक दुर्घटनाको तथ्याङ्क विश्लेषण गर्दा यो घट्नुको साटो बढेको पाइन्छ । नेपालमा सडक दुर्घटनामा दैनिक सरदर १० जनाको मृत्यु हुने नेपाल प्रहरीको रेकर्डमा देखिन्छ ।

सडक दुर्घटनाका विभिन्न कारण हुन सक्छन्, तर दुर्घटना हुनुका मुख्य कारणमा चालक वा सडकयात्रुमा सडक सुरक्षासम्बन्धी ज्ञानमा कमी र हेलचेक्र्याइँ गर्ने बानी मुख्य देखिन्छन् । सडक दुर्घटना न्यूनीकरणका लागि सवारीचालक, पैदल यात्रु र राज्य तीनै पक्ष संवेदनशील हुन जरुरी देखिन्छ ।

नेपालमा हुने गरेका अधिकांश सवारी दुर्घटनामा सवारीचालकको लापरबाही देखिन्छ । सवारीचालक यात्रुप्रति संवेदनशील बन्न आवश्यक छ । सडक पार गर्दा होस् वा अन्य अवस्थामा, चालकले पहिलो प्राथमिकता पैदलयात्रुलाई दिनुपर्छ । सडकरेखाको ख्याल नगर्ने, जहाँ पायो त्यहाँ रोक्ने, अत्यधिक गतिमा सवारीसाधन गुडाउने, सडक पूरै नियन्त्रणमा लिएजस्तो गर्ने आदिका कारण शहरी क्षेत्रमा बढी दुर्घटना भएको देखिन्छ । विश्वभर जेब्रा क्रसिङ पैदलयात्रुका लागि अति नै सुरक्षित स्थानका रूपमा लिइन्छ । तर, नेपालमा भने जेब्रा क्रसिङमा रहेका वा गरिरहेका पैदलयात्रुलाई ठक्कर दिने वा सोही स्थानमा गाडी रोक्नेजस्ता गलत काम भएका धेरै उदाहरण छन् ।

सडक सबैको सामूहिक र साझा सम्पत्ति हो । त्यसैले प्रत्येक नागरिकले सडक अरूका लागि पनि सुरक्षित राख्न जिम्मेवार रहनुपर्छ । कुनै पक्षले सडक आफ्नो मात्र हो भन्ने सोच राखेमा सडक दुर्घटना निश्चित छ । तसर्थ सडक सुरक्षा र अनुशासनका लागि हामी सबै जिम्मेवार बने अमूल्य जीवन बाँच्न र बचाउन सकिन्छ ।

त्यस्तै सडक दुर्घटना कम गर्न पैदलयात्रुका कारण पनि हुने गरेको छ । पैदलयात्रुले जथाभावी सडक पार गर्दा, कुनै पनि ट्राफिक सङ्केतहरूको पालना नगर्दा धेरैजसो दुर्घटना यात्रु स्वयम्का कारण हुने गरेको देखिन्छ । त्यसैले पैदलयात्रुले पनि सडक अनुशासन पालन गर्न अति नै आवश्यक छ । यसबाट यात्रु स्वयम्को जीवन सुरक्षित रहन्छ ।

सडक दुर्घटना कम गर्न अर्को जिम्मेवार पक्ष भनेको राज्य हो । यसमा राज्यको भूमिका र जिम्मेवारी अहम् रहन्छ । राज्यको आम्दानीको मुख्य स्रोतहरूमध्ये यातायात पनि एक हो । राज्यले सवारी दर्ता र नवीकरणलगायतबाट अर्बौं रकम असुल्ने गर्दछ । यसरी असुली गरेको रकम सडकको ट्राफिक संरचना सुधारमा खर्च गर्न आवश्यक छ । काठमाडौंलगायत देशका प्रमुख शहरका सडकका विभिन्न स्थानहरूमा हालसम्म न त ट्राफिक बत्तीहरू देखिन्छन्, न त सडकरेखा । भएका सडकरेखाहरू पनि हिलोमैलाका कारण नदेखिने अवस्थामा छन् । सडकबत्तीहरूको व्यवस्था पनि सरकारबाट गरिनुपर्छ । यहाँसम्म कि राजधानीको मुटु रत्नपार्कमा समेत प्रस्ट देखिने जेब्रा क्रसिङ छैन । कतिपय मुख्य स्थानमा सडकरेखाहरू बनाइएको छैन र भएका पनि प्रस्ट देखिने अवस्थामा छैनन् । राजमार्गलगायतका विभिन्न सडकमा खाल्टाखुल्टी अत्यधिक छन् । यसलाई पुर्न पनि तदारुकता देखाउन जरुरी छ । शहरका विभिन्न सडकलगायत राजमार्गमा सीसीटीभी जडान गरिनुपर्छ । यातायात क्षेत्रलाई समयसापेक्ष आधुनिकीकरण र प्रविधिमैत्री बनाउन राज्यको ठूलो लगानी गर्न आवश्यक छ ।

सडक सबैको सामूहिक र साझा सम्पत्ति हो । त्यसैले प्रत्येक नागरिकले सडक अरूका लागि पनि सुरक्षित राख्न जिम्मेवार रहनुपर्छ । कुनै पक्षले सडक आफ्नो मात्र हो भन्ने सोच राखेमा सडक दुर्घटना निश्चित छ । तसर्थ सडक सुरक्षा र अनुशासनका लागि हामी सबै जिम्मेवार बने अमूल्य जीवन बाँच्न र बचाउन सकिन्छ ।