जापानमा कोरोना भाइरसको संक्रमण परीक्षण निःशुल्क तुल्याइँदै

जापानमा कोरोना भाइरसको संक्रमण परीक्षण निःशुल्क तुल्याइँदै


■ जापान प्रतिनिधि

जापानमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्दा लाग्ने जापानी येन १ मानभन्दा बढी शुल्क नलाग्ने भएको छ । भाइरसको संक्रमण भए–नभएको पत्ता लगाउन नै १३ हजारदेखि झण्डै २ मानसम्म लाग्ने गरेकोमा जापान सरकारले त्यो रकम आफूले तिरिदिएर निःशुल्क बनाउन लागेको हो ।

स्वास्थ्य परीक्षण गर्दा लाग्ने शुल्क सरकारले सम्बन्धित अस्पतालहरुलाई भुक्तानी गरेर नागरिकलाई निःशुल्क गराउन लागेको जनाएको छ ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार अहिले पोलिमर्स चेन रियाक्सन पिसिआर प्रविधिबाट कोरोना भाइरसको परीक्षण हुँदै आएको छ ।

लगातार ७२ घण्टा भन्दा बढी समय ज्वरो आएमा, रुघाखोकी तथा घाँटी दुखेर सास फेर्न गाह्रो हुने, चिरचिर पसिना आएमा कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।

यस्ता संकेत देखिएमा सार्वजनिक स्वास्थ्यकेन्द्रमा फोन गरेर सल्लाह लिनुपर्नेछ । त्यसपश्चात अस्पताल गएर चिकित्सकको सल्लाहअनुसार कोरोना भाइरसको संक्रमण आंशका गरिएका व्यक्तिको स्वास्थ्य परीक्षण हुनेछ ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले स्वास्थ्य परीक्षण गर्दा लाग्ने शुल्कको रुपमा अस्पतालहरुलाई १३ हजार ५ सय येन र परीक्षण गर्ने संस्थाहरुलाई १८ हजार जापानी येन भुक्तानी गर्ने जनाइएको छ ।

यस्तो खर्चलाई जापान सरकारले सार्वजनिक खर्चको बजेटबाट भुक्तानी गर्ने जनाएको छ ।