कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २,८७३

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २,८७३


कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर ग्रीनवीच समय अनुसार शुक्रबार (२८ फेब्रुअरी) मध्यान्न सम्ममा दुई हजार ८७३ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको उक्त भाइरस विश्वका ५६ देशमा फैलिएको र विश्वभर कूल ८३ हजार ८५३ व्यक्तिमा सङ्क्रमण भएको डब्लुएचओ र सम्बन्धित देशका अधिकारीले पुष्टि गरेको तथ्याङ्कमा बताइएको छ ।

एएफपीका अनुसार बिहीबार साँझपछि उक्त भाइरसको सङ्क्रमण एक हजार २९३ थप व्यक्तिमा देखिएको छ । मूख्यभूमि चीनमा कोरोना भाइरसका कारण शुक्रबारसम्म दुई हजार ७८८ व्यक्तिको मृत्यु भएको छ भने ७८ हजार ८२४ जनालाई सङ्क्रमण पुष्टि भैसकेको छ ।

ग्रीनवीच समय अनुसार बिहीबार साँझ ५ बजेपछि शुक्रबार दिउसो १ बजेसम्म चीनमा थप ४१ जनाको मृत्यु भएको छ भने ३२७ जना नयाँ व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको छ ।

यसबाहेक विश्वका अन्य मुलुकहरूमा कूल पाँच हजार २९ व्यक्ति सङ्क्रमित भएका छन् भने चीनबाहेक अन्य मुलुकमा कूल ८५ जनाको मृत्यु भएको छ । विश्वभर यो अवधिमा थप ९६६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

चीनबाहेक सङ्क्रमण बढी देखिएका मुलुकहरूमा दक्षिण कोरिया अग्रस्थानमा रहेको छ । दक्षिण कोरियामा शुक्रबार मध्यान्नसम्म दुई हजार ३३७ जनालाई सङ्क्रमणको पुष्टि भएकोमा थप ५७१ जनामा विगत २४ घण्टाभित्र सङ्क्रमण पुष्टि भएको हो ।

दक्षिण कोरियामा सङ्क्रमणपछि उपचारका क्रममा १३ व्यक्तिको मृत्यु भएको छ । त्यस्तै इटलीमा १२२ नयाँ सङ्क्रमित व्यक्तिसहित ६५० जनाले सङ्क्रमणपछि विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका छन् । यस सङ्क्रमणका कारण इटलीमा १७ जनाको मृत्यु भइसकेको छ ।

इरानको सरकारी तथ्याङ्कमा उल्लेख भएअनुसार शुक्रबारसम्म ३४ जनाको मृत्यु भएको छ भने कूल १४३ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । इरानमा सङ्क्रमितको सङ्ख्या ३८८ पुगेको छ ।

यसबाहेक जापानको योकोहामास्थित एक पानीजहाजमा ७०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । जापानका अन्य स्थानमा कूल २१० व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको र आठ जनाको मृत्यु भएको बताइएको छ । जापानमा विगत २४ घण्टामा २३ नयाँ विरामीमा कोरोना भाइरसको पुष्टि भएको छ ।