मेयर-उपमेयर विवादले रोकिएको नगरसभाको मिति तय

मेयर-उपमेयर विवादले रोकिएको नगरसभाको मिति तय


■ रौतहट प्रतिनिधि

लामोसमय देखी विवादको कारण अडकिएको फतुवा विजयपुरको तेस्रो नगरसभा अगामी २२ गते बिहीबार हुने भएको छ ।

नगरपालिकामा हालै आएका प्रशासकीय अधिकृत सुुरेन्द्र प्रधानका विशेष पहलमा बिहीबार (१५ फागुन) नगर कार्यपालिकाको बोर्डको बैठक बसी यही फागुन २२ गते तेस्रो नगरसभा हुने निर्णय गरिएको हो ।

भागबण्डाको विषय लिएर दुुई–दुुई पटक स्थगित नगरसभा नगरप्रमुख गोपालप्रसाद यादव र उपप्रमुख कान्तिदेवी महतो पक्षलाई उचित विकासको बजेट बिनियोजनसहित तेस्रो नगरसभा हुुन लागेको अधिकृत प्रधानले बताए ।

गत अषाढ मसान्तमा हुनुुपर्ने नगरसभा हालसम्म नहुुँदा नगरपालिकाको सम्पुर्ण विकास निर्माणको काम ठप्प भएको छ । त्यति मात्र नभई नगरपालिकाको रकम निकासा नहुुँदा नगरक्षेत्रका अधिकांश विद्यालयमा विद्यार्थीहरुको लागि सञ्चालन भएको दिवाखाजा कार्यक्रम प्रभावित भएको छ ।

फतुवा विजयपुर नगरपालिका अन्तरगतका २९ वटा विद्यालय, एक मदर्सा, पाँच स्वास्थ कार्यालय, कृषि कर्मचारी, करारका कर्मचारीले गत साउनदेखि हालसम्म तलब पाउन सकेका छैनन् ।

कर्मचारीको तलबवापत चार करोड बढी बक्यौता रहेको नगरशिक्षा संयोजक बुनिलाल यादवले बताए ।

गत पुस ११ गते मेयर गोपाल यादवको अगुुवाईमा भएको तेस्रो नगरसभा उपमेयर कान्ति महताको लिखित उजुुरीपछि उच्च अदालत हाल वीरगञ्जले बदर गरेको थियो ।

त्यसैगरी गत फागुन १० गते हुने भनिएको तेस्रो नगरसभा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अवैध भनी बदर गरेको थियो ।

विगतमा फतुवा विजयपुरको प्रशासकीय अधिकृतका रुपमा आउने नायव सुुब्बाहरु कोही मेयरतर्फ कोही उपमेयरतर्फ हुने गरेको कारण नगरपालिकामा ठुलो विवाद हुुँदै आएको थियो ।

नगरपालिकामा नयाँ अधिकृतको जिम्मेवारीसहित आएका उपसचिव सुरेन्द्र प्रधानको सुझबुझ र पारदर्शिताले मेयर–उपमेयर पक्षबीच सहमति भएपछि आउँदा दिनमा विगतको जस्तो समस्या नहुुनेमा नगरवासी उत्साहित देखिएका छन् ।

विगतमा प्रमुख उपप्रमुख मिल्न खोज्दा पनि केही बिचौलियाले ब्यक्तिगत फाइदाको लागि मिल्न नदिएर भाँडभैलो गर्दै आएका थिए ।

फतुवा विजयपुर नगरपालिकामा नगर कार्यपालिका बोर्डमा नेपाली कांग्रेसका मेयर यादव अल्पमतमा रहेका छन् भने नेकपाकी उपमेयर महतो बहुमतमा रहेकी छिन् ।