प्रहरीमाथि विश्वसनीयताको पहिलो शर्त : आन्तरिक शुद्धीकरण र सदाचार

प्रहरीमाथि विश्वसनीयताको पहिलो शर्त : आन्तरिक शुद्धीकरण र सदाचार


महानगरीय प्रहरी प्रभाग भैँसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले शिशु बोकेकी एक महिलालाई लाठी हानेर दुर्व्यवहार गरेको भनिएको विषय अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

एक अवकासप्राप्त पूर्वसैनिक अधिकारीसँगको विवादको विषयमा उक्त घटना भएको थियो । शान्ति सुरक्षा कायम गर्ने क्रममा घटना भएको महानगरीय प्रहरी परिसर ललितपुरले बताएको छ । उक्त घटनामा सार्वजनिक भएजस्तो दुव्र्यवहार नभएको दाबी गर्नुहुने परिसरका प्रहरी उपरीक्षक दुर्गा सिंहकै नेतृत्वमा अहिले छानबिन समिति गठन गरेको छ । घटनामा दोषी पाइए कारवाही हुने उहाँले प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

काठमाडौँको स्वयम्भूका छ जना प्रहरीले यही फागुन १ गते आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गौशाला पुगेर अवैध मोबाइल भित्रिएको सूचनाका आधारमा कहीँ खबरै नगरी छापा मारे । छापा मार्दा महानगरीय अपराध नियन्त्रण महाशाखाको स्वयम्भू वृत्तमा कार्यरत प्रहरी अधिकृतसहित छ जनाको टोली संलग्न थियो । उनीहरु अहिले नसिहतमा परेका छन् ।

पछिल्लो तीन महिनामा उपत्यकाको विभिन्न क्षेत्रमा कार्यक्षेत्रभन्दा बाहिर गएर काम गर्ने, बर्दी लगाएर भिडियो बनाउने, थुनुवासँग आर्थिक लोभमा पर्ने, कमजोर अनुसन्धान गर्ने, कार्यालय समयमा मादक पदार्थ सेवन गर्नेलगायत ६५ जना प्रहरी कर्मचारी कारवाहीमा परेका छन् ।

महिलालाई लाठी हानेको भनिएको घटनाबाहेक अन्य घटना उपत्यकाको तीन जिल्ला हेर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गठन गरेको ‘परफरमेन्स अडिट टिम’को सूक्ष्म अनुगमनमा फेला पारेर कारवाही गरिएको हो । लाठी हानेको विषय अहिले अनुसन्धानमै छ । यस्ता घटनाले प्रहरीमाथिकै विश्वसनीयतामा प्रश्न उठ्दै आएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल भन्नुहुन्छ, ‘प्रहरीमाथिको विश्वसनीयताको पहिलो शर्त भनेको आन्तरिक शुद्धीकरण र उनीहरुको असल व्यवहार हो, त्यसतर्फ कठोररूपमा प्रस्तुत भएका छौँ, केही परिणाम आउन थालेका छन्, केही आउन बाँकी छ ।’

उहाँले प्रहरीले गर्ने कुनै पनि अनैतिक र कानून विरुद्धका गतिविधि देखिएमा खबर गर्नसमेत सर्र्वसाधारणलाई आग्रह गर्नुभएको छ । ‘कानून विपरीतका काम गर्ने प्रहरी कर्मचारीलाई छुट छैन, त्यसमा सम्झौता पनि गर्न सकिँदैन’, पोखरेलले भन्नुभयो ।

महानगरीय प्रहरी कार्यालयले आर्थिक प्रलोभनमा पर्ने र गलत बानिबेहोरा प्रदर्शन गर्ने विरुद्ध मात्रै होइन मेस सुधार अभियान पनि चलाउँदै आएको छ । उपल्लो दर्जाका प्रहरीहरु जवानसँगै गएर खाना खाने अभियान चलाइएको छ । यसले उनीहरुलाई आत्मबल बढ्ने प्रहरीको विश्वास छ ।

प्रहरीमा देखिएको राजीनामाको लहरलाई रोक्न उनीहरुको आत्मबल बढाउने र प्रेरणा दिने खालका कार्यक्रम थालेको पोखरेल बताउनुहुन्छ । यस्ता विभिन्न समस्याको सूक्ष्म अध्ययन गरी आन्तरिक शुद्धीकरण गर्न कार्यालयले गत पुस २२ गते प्रहरी उपरीक्षक रेवति ढकालको नेतृत्वमा ‘परफरर्मेन्स अडिट टिम’ बनाएको थियो ।

विगतमा प्रहरीभित्र जस्तो अवस्था थियो त्यसमा सुधार भएको उल्लेख गर्दै ढकालले आन्तरिक शुदृढीकरण र बाह्य शान्ति सुरक्षामा नतिजामुखी बनाउनु नै यसको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

‘प्रहरीलाई आर्थिक लोभबाट हटाउने, कार्यालय व्यवस्थापन, शान्ति सुरक्षामा प्रहरी परिचालन, व्यवहारमा शुद्धता ल्याउने हाम्रो योजना हो, त्यसमा प्रगति भएका छन्, केही हुने क्रममा छन्’, ढकालले थप्नुभयो । उहाँका अनुसार असल काम र व्यवहार प्रदर्शन गर्ने ३५ जना पुरस्कृतसमेत भएका छन् ।

अपराध अनुसन्धानलाई चुस्त बनाइँदै

आम नागरिकको न्याय र सुरक्षामा जोडिएको तथा नागरिकको दैनिक सेवा खोज्ने प्रहरी सङ्गठनको महत्वपूर्ण क्षेत्र हो अपराध अनुसन्धान शाखा तर विगतमा उसले गरेका काम कारवाहीमा प्रश्न उठ्ने गरेका छन् ।

मान्छे हेरेर काम गर्ने, ढिलासुस्ती गर्ने, लोभलालचमा जोडिने, घटना विशेषलाई प्राथमिकता दिने, पारदर्शी नअपनाउने तथा समान व्यवहारमा नदेखाउने प्रवृत्ति प्रहरी अनुगमनमा फेला परेपछि त्यसलाई रोक्नु प्रमुख चुनौती हो ।

जनगुनासोहरु आएकाले आज मात्रै कार्यालयले उपत्यकाको तीनै जिल्लाको अपराध अनुसन्धानमा खटिएका प्रहरी अधिकृत तथा कर्मचारीलाई बोलाएर काम चुस्त बनाउन ठाडो निर्देशन दिएको छ । कार्यालयको कार्ययोजना सुनाउँदै प्रहरी नायब महानिरीक्षक पोखरेलले भन्नुभयो, ‘अनुसन्धान तहकिकातमा केही गुनासा आएका छन्, तसर्थ अपराध अनुसन्धानलाई कसरी नतिजामुखी बनाउने भनेर लागेका छौँ, मेट्रोलाई ‘नमूना पुलिसिङ’ बनाउने उद्देश्य हो ।’

rss