प्रहरीसँग दायित्वबोध र जनविश्वास

प्रहरीसँग दायित्वबोध र जनविश्वास


■ रमेश भट्टराई ‘सहृदयी’

नेपालको संविधानको धारा २९६ को उपधारा १ बमोजिम व्यवस्थापिका संसद्ले तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’लाई प्रतिस्थापना गरी ‘मुलुकी देवानी (संहिता), २०७४ लाई नेपालमा २०७५ भदौ १ गतेदेखि सङ्घीय पद्धतिअनुरूप लागू गरिएको छ । वर्तमान सङ्घीय पद्धतिमा प्रहरी र जनताले अब मिलेर समाजलाई शान्ति, अमनचयन गर्नु आवश्यक छ, कर्मशील बनेर देश जोगाउने प्रहरीको बर्दीले कलङ्कको दागबाट टाढा रहँदा मात्र न्यायको मार्ग बलियो बन्छ । इतिहासका पानामा जो–जसको नाम लेखिएला, कुनै व्यक्ति र समूह सम्मानित होला, तर त्यहाँ सेना प्रहरीको देन लुक्न सक्दैन । अबको कानुनी दायरामा प्रहरीले गाउँदेखि उपल्ला तहतप्कासम्ममा निष्पक्ष न्यायिक छानबिन गर्न भूमिका खेल्नुपर्ने देखिन्छ । मदन भण्डारीको हत्या, राजदरबार हत्याकाण्डको ताण्डवलीला, निर्मला पन्तलगायतका सर्वसाधारणको हत्याजस्ता घटना थाहा नलाग्दा जनमानसमा कतै राजनीतिक दबाब त कतै ठूलाको इसाराको असर भन्ने प्रतीत नभएको होइन ।

सबैभन्दा बढी कानुनी विषयमा त अब प्रहरी सक्षम बन्दै अघि बढ्नुपर्ने पनि देखिन्छ । आजको समाज असत्य र राजनीतिक शक्तिको दुरुपयोग गरेर अत्याचारी बनिरहेको छ । अपराधका प्रकृति पृथक् धारबाट जर्जर बन्दै गएका छन् । यद्यपि जुनसुकै खालका दोषी पत्ता लगाउने मापदण्ड के–कति हो भन्ने आधारलाई निरीक्षण, अन्वेषण गरी सामाजिक न्याय स्थापना गर्ने दायित्व प्रहरीकै थाप्लोमा जान्छ । नागरिकको शान्ति, सुरक्षा र समाजको विकासमा सजगताले सदियौँदेखि प्रहरी प्रतिष्ठा जीवन्त छ । सेना–प्रहरीले व्यवस्थाका परिवर्तनमा जे–जति मर्यादालाई पालना गरे त्यसमा आचरण र अनुशासनको उदाहरण पेस भइरहनुपर्छ । प्रशासनिक मर्यादामा रहेर नागरिक जिउधनको सुरक्षा गर्दै विपद्मा सहयोगी भूमिका खेलेका पक्ष प्रशंसनीय छन् । आजसम्मका फरक–फरक परिवर्तित व्यवस्थाअनुरूप रहेर देश र जनताको सेवामा कटिबद्ध रहने प्रहरी–प्रशासन सधैँ भीष्म पितामहझैँ प्रतिज्ञारत रहने गौरवमय सेवा हो । कानुनको दायरालाई बोध गर्दै सोहीअनुरूप आफू परिवर्तित बनेका प्रहरीले अबको सङ्घीय व्यवस्थामा जनचाहनाअनुरूप सेवारत बन्न सक्नुपर्छ । एउटा दोषीको अन्त्यसँग हजारौँ बच्ने भए गोली चल्ला, तर रक्षक नै भक्षक बनेमा मर्यादित आदर्श नामेट हुन्छ । लोकतान्त्रिक पद्धतिअनुरूपका कानुनी दायरामा प्रहरी शक्तिले कुप्रथा, कुकर्मलाई निरुत्साहित गर्नेदेखि समाजका अग्रज व्यक्तित्व सत्यवादीहरूसँग रहेर समाज अनुकूल पनि बन्न सक्नुपर्ने अबको आवश्यकता हो ।

यद्यपि सुनकाण्ड, बलात्कारका गतिविधि, शक्तिको दुरुपयोग, फटाहालाई साथ दिनेजस्ता विषयमा केही व्यक्ति तथा समूह नै आपराधिक संलग्न रहँदा प्रहरी शक्तिमा दुरुपयोग हुनु लज्जास्पद दुःखद घटना हुन् । ट्राफिक नियमको पालनामा सत्यताभन्दा बढी दादागिरी भएका घटनाले घुसवादी परम्परामा प्रहरी अमर्यादित हुँदा सर्वसाधारणले सुविधासँग अनावश्यक यातना पनि भोगेका गुनासा छन् । रक्तदान नै जीवनदानका नारा, सडकदेखि सदनको सुरक्षा र पहरेदार बन्ने प्रहरीले यसरी लालच बन्नुहुन्न । २००७ को परिवर्तनदेखि २०३६ को आन्दोलनमा, २०४६ को बहुदलीय शासनको जनसागरभित्र, १२ वर्षे सशस्त्र जनयुद्धमा सयौँ प्रहरीले अधिकार कम भएका अवस्थामा पनि आफ्नो ज्यानलाई अचानामा राख्नुपरेको कुरा स्मरणीय छन् । कतिपय निहत्था प्रहरी हताहत भएका अमानवीय अवस्था, बाध्यता र आदेशका बीचमा ०६२/६३ को जनमानसलाई निष्पक्ष शान्ति प्रदान गर्ने कोसिसदेखि गाउँका स–साना झै–झगडामा प्रहरीको भूमिका उत्तिकै सराहनीय छ । गणतान्त्रिक धारसम्म आइपुग्दा नेपालको तीनै तहको चुनावी माहोलमा अहम् भूमिकाभित्र सेना–प्रहरीले दिएको सुरक्षाको कार्य पक्कै सम्माननीय छ । गोली चलाएर शक्तिको दुरुपयोग गर्ने नभई प्रहरीको उद्देश्य बचाउनेमै हुन्छ, त्यहाँ विश्वास र भरोसा हुनुपर्छ ।

नाकाबन्दीको मारमा जनताका आडभरोसामा जनताका साथी बनेकादेखि बन्द, हडताल, चक्काजाममा आफ्नोभन्दा बढी ख्याल राख्ने प्रहरीमा आडम्बर हुनुहुन्न । सेवामा खटिने प्रहरीले दनदनी बलेको आगोको ज्वाला भनेको छैन, मुसलधारे पानीमा खस्दै गरेको पहिरो भनेन, भूकम्पमा उद्धार गऱ्यो । बाढी, पहिरोमा सेना–प्रहरीको जमात सजग बन्दै सेवामा जुटिरहेकै छ । कहिले सेवाका जटिलतामा आफ्नै प्राण आहुति दिनुपरेको छ त कहिले जिउँदै नजलाइएको पनि होइन । कानुनको दायरामा लक्ष्मणरेखालाई नाघ्न नजान्ने सच्चा इतिहास बनाएकै थियो ।

‘प्रहरी’ शाब्दिक अर्थ र आजका साथी

‘प्रहर’ मूल शब्दमा ‘ई’ प्रत्यय लागेर बनेको ‘प्रहरी’ नाम वर्गको तत्सम् (संस्कृत) शब्दको अर्थलाई हामी देशभित्र शान्तिसुरक्षाको व्यवस्था कायम गर्न खटिएको सरकारी कर्मचारी भनेर बुझ्छौँ । जब समाजका नियम तोडिन्छ तब हामी झट्ट याद गर्छौँ – प्रहरीलाई । प्रहरीको समानार्थी ‘पुलिस’ आगन्तुक शब्दसँग परिचित यो चोरको विपरीत देशको सेवामा खटिएको व्यक्ति वा समुदाय भन्ने मर्म हुन्छ । तर, मानिसले ‘पुलिस’ शब्दलाई घृणाको भावले किन हेर्छन् ? वास्तवमा ‘प्रहरी मेरो साथी’ कार्यक्रमसँगै प्रहरीको सान, स्वाभिमान अनि गौरवगान सगरमाथासँगै उच्च हुन पुगिरहेको भान नभएको होइन । व्यक्तिगत स्वार्थलाई भन्दा राष्ट्रिय स्वार्थको स्वर्णिम स्वपना बोकेर बर्दी लगाएका राष्ट्रका खम्बा हुन्– नेपाल प्रहरी । वर्तमानकै केही घटनालाई हेर्दा बर्दीमा रहेको प्रहरीको स्वाभिमानमा ठूला मानिसले नै अपमान गर्नु दुःखद देखिन्छन् । यथार्थमा हेर्दा त सीमारेखा मिच्न नदिने, सामन्तीले गरिबको अस्मितालाई थिच्न नदिने देशका ढाल र तरबार बन्ने भवितव्यका मित्र प्रहरीलाई चोरले सुध्रिएर साथी बनाउन सक्छ । प्रहरीले न्याय नछोड्ने सीमा नतोड्ने नियम र आचरण अनि अनुशासनलाई मौरीझैँ व्यवस्थित, संयमित बनाउने सिङ्गो उदाहरण बन्न सक्नुपर्छ । अलैँचीका पातमा रगत बगाउने, सडक, पुल पुलेसा सजाउने मात्र होइन आदर्श नियम र आचरणको सुन्दर व्यावहारिक पाठ सिकाउने प्रहरी हामी सबैका साथी बनून्, सर्वसाधारणको चाहना हो ।

चन्द्रसूर्यअङ्कित झन्डामुनि बसेर पार्टी, संस्थाको लोलोपोतो नगर्ने, रामको सेवा बुझ्ने ः विभीषण र रावणलाई चिन्ने, दुराचारी, भ्रष्टाचारी, अत्याचारी, लुटमारी, अनैतिकताले टाउको उठाउने मौका नपाउने वातावरण बनाउने क्षमता तिनमा हुनुपर्छ भन्ने नै हो । समाजले शान्तिसँग ल्होसार, छठ, दशैँ, तिहार मनाउँछन्, सभा र जात्रा चलाउँछन्, सङ्गीतको धुनमा राष्ट्रियतालाई गाउँछन् । मेला, पर्व, भेला सबैमा प्रहरी शान्तिको विगुल लिएर पुग्छ । विकास निर्माणका अभियानमा अझै प्रहरीले जाग्ने बाटो स्पष्ट पाइरहेका छैनन् तथापि राष्ट्र उत्थानका लागि जनआकाङ्क्षालाई सँगै बोकेर दौडिएको छ । यात्रु वा नागरिक सहायता कक्षमा, हरेक काम, कार्य र प्रगतिमा नागरिकलाई स्वतन्त्रता दिइरहेकै छ । सङ्क्रमणकालीन युगसन्धिमा बगेको समाजको विद्रुपतालाई चिर्न उद्यत् बन्यो । अन्धविश्वासलाई मारिरहेकै छ । सञ्चारकर्मीको सुरक्षा, मानवअधिकारकर्मीलाई साथ दिन्छ । विद्यार्थी वर्गको विकास गर्दै राज्य र नागरिकबीचको दूरीलाई नजिक बनाउने पुल बन्छ । फलतः हरेक घटनाको जानकारी सर्वसाधारणले दिन्छन्, अभियुक्तको सुराकी र घटनास्थलको सुरक्षामा पुग्छन् । अनलाइनबाट बालक हराएका या अन्य अप्ठ्यारा देश–विदेशका समस्यामा प्रहरीको साथ नै आधार हो ।

बाटो भुलिएला, बूढीआमालाई सडक पार गर्न गाह्रो भइरहेको होला, पैदलयात्रीलाई सवारी दुर्घटनाबाट बचाउन सडकपेटीबाट हिँड्न सिकाउनुपर्ला, विकलाङ्गलाई सहयोगको हात बढाउने ट्राफिक प्रहरीले सवारी दुर्घटनाको लापरबाहीमा खबरदारी गरेका हुन्छन् । आमाबाबाबाट विछोडिएका बालबालिकाको घर पत्ता लगाउने प्रहरीको बर्दीले साहस र सच्चा मित्रलाई उद्बोधन गर्न कसुर छाडेको नहोला । आड र भरोसाको शिखर अनि मानवताको साँचो निशानी प्रहरीको बर्दीसँग स्वाभिमानका राष्ट्रसेवकको भाव हुनुपर्छ । प्रहरीले आदेशलाई तोड्दैन कर्तव्यलाई छोड्दैन । काम, कर्तव्य र अधिकारको आदर्श नियमको पर्याय बनेको प्रहरीले शान्ति स्थापनार्थ सञ्चालित मिसनमा दर्बिलो भूमिका खेल्नैपर्छ । शान्ति व्यवस्थालाई सुदृढ पार्दै राष्ट्रनिर्माणमा जुट्ने प्रहरीले आफ्ना लागि त चाडपर्व, रमरसका विषयमा तिलाञ्जली दिनुपरेको पनि हुन्छ । दुर्गम ग्रामीण स्थानमा समेत विधिको शासन कायम गराउने प्रहरीहरू सामाजिक विकृति, विसङ्गतिको अन्त्यमा जुटेका कार्यहरू प्रशंसनीय अवश्य छन् । अपराध न्यूनीकरण गर्दै शान्ति र अमनचैन कायम गर्नलाई लागूपदार्थ दुव्र्यसनी, वन्यजन्तु तथा काठपातको अनैतिक चोरी–निकासी घटाउन प्रहरी सजग बनिरहेका सराहनीय पक्ष छन् । समाजमै प्रहरी बस्छ तब प्रहरीले समाज चिन्छ अनि समाजले प्रहरीको सम्मान गरिरहन्छ ।

बर्दीको रवाफ र नवप्रविधि

सुरक्षाको बलियो अनुभूतिले चर्चा पाउने प्रहरीले कानूनभन्दा माथि बन्न खोजेर छवि बिगारेका घटनाले जनतामा पीडा दिएको छ । न्यायाधीश काण्डदेखि सुनकाण्डसम्म, भ्रष्टाचारमा नाममा, सुन तस्करीको जालोमा, गुण्डालाई संरक्षण र तस्करको रिहाइका कुरामा प्रहरीका उच्चपदस्थ सामेल हुनु भनेको बर्दी र फुलीको रवाफ हो । दुई पैसाको लालचमा घुसेर प्रहरी सङ्गठनलाई कलङ्कित पार्ने कार्य नहोस् तब समाजसेवाको भाव स्पष्ट हुन्छ । जनताले चिनोस्– प्रहरीले गल्तीलाई खबरदारी गर्छ र राम्रोलाई स्याबासी दिन्छ । उपल्ला तहका व्यक्ति पनि कलङ्कित बन्दा सायद कतिले सोच्दा हुन्, ‘हिजो सलोट हानियो : आज लठ्ठी हान्नुपऱ्यो ।’ फिल्मी ढङ्गका भ्रष्टाचारी साँठगाँठ, सिमानाका विमानस्थलमा आफ्नै नेपालीलाई ठग्न उद्यत, कालोबजारीका धन्दामा फुलीको धज्जी उडाएर जनतालाई निर्मम दुःख दिने कर्तुतले प्रहरी सेवाको विश्वासमा आघात पुगेका विडम्बना हुन् । जनतालाई सुरक्षित महसुस गराउनका खातिर वितण्डा मच्चाउनेको सेखी उतार्ने र सुरक्षाको प्रत्याभूति दिलाउने राष्ट्रसेवक जसले ‘सत्य सेवा सुरक्षणम्’को मर्मलाई मूल मन्त्रमा निःस्वार्थ सेवा गर्ने प्रण गरेको हुनुपर्ने हो । जसको हातमा सारा जनताका सुरक्षाको कवच हुन्छ । तर, आज त अचम्म पो देख्नुपरेको छ– बलात्कारजस्ता जघन्य अपराधका, समाजमा कलङ्क मच्चाएका अपराधी प्रहरीलाई प्रहरीले खोजी गरेर प्रहरीद्वारा नै जेलमा थुन्नुपरेको छ ।

कतिपय अवस्थामा हेपिएको पेसा अनि आजसम्म गालीगलौजको सिकार बनाइएका प्रहरीले आजको सङ्घीय गणतान्त्रिक व्यवस्थामा हातेमालो गरेर जनताको मनलाई आफूतिर खिच्नुपर्ने हो । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सबै तन्त्रमा जय नेपाल भन्यो, हस् साब भन्यो; अब परम्परित धारणालाई बदल्नु जरुरी छ । अतः प्रहरी स्वयम् पनि सुध्रिनैपर्छ । फुलीको अहम् भावनाले बर्दीको तुजुक देखाएर जनताको पसिना पिउने कर्ममा संलग्न केही प्रहरीको कुकृत्यले जनतामा प्रहरीको सेवा र सुरक्षाको साटो विश्वासघातको भाव पैदा गराएको छ । तर, अबको सङ्घीय संरचनामा रहँदा माथिल्लो दर्जाका व्यक्तिको कर्तुतलाई, नियम उल्लङ्घनलाई पनि बढुवा, सरुवा वा अन्य लोभले टुलुटुलु हेरेर थाहा नपाएजस्तो गर्नु प्रहरीको धर्मविपरीत कर्म बन्छ ।

‘जिब्रोको गरिमा, मीठो बोलीमा’ भन्ने भावसँगै असभ्य भाषामा मिठासता ल्याउनुपर्छ, अपराधीलाई अफिसरको दबाबले चेन अफ कमान्डको चाप्लुसी हट्नुपर्छ अनि बर्दीको आडम्बरी दमनमा सच्चा प्रहरीले खबरदारी गर्नुपर्छ । प्रहरी आफैमा न्यायमूर्ति बन्न नसक्दा जनतालाई प्रहरीद्वारा अन्याय गरिएका, पैसामा बिकेर निर्दोषलाई सजाय दिलाइएका विषय पक्कै मानवअधिकारविपरीत हुन् । निर्दोषले वर्षौँ जेलमा सजाय भोगेर सम्पूर्ण जीवन अमानवीय प्रताडनाले थिल्थिलिएका खबर हृदयविदारक लाग्छन् । संवेदनशील मानवीय न्यायमा प्रहरीको सबल नीति र कर्मगत सुधारसँग वैज्ञानिक चेतको आवश्यकता छ । वास्तवमा अधिकार र शक्तिको दुरुपयोग गर्ने घृणित कर्ममा सचेत नबन्ने मानिसले प्रहरी बन्नुहुँदैन किनकि यो पेसा मात्र होइन यो त न्यायिक निःस्वार्थ जनसेवा हो । समाजमा निरीहलाई आड भरोसा दिनुको साटो लाञ्छना लाएर अमानवीय यातना दिएका तीता घटनामा न्यायिक विश्वास नधमिलिएको भन्ने छैन । यस्तै कतिपय विसङ्गतिलाई बढाबा दिनमा प्रहरीले बर्दी र शक्तिको धज्जी उडाएका पक्ष गम्भीर छन् ।

‘प्रहरी हाम्रा सच्चा मित्र हुन्’– जनतासँग साथको अपिल हुनुपर्छ । अत्याधुनिक साधनस्रोत, प्रविधि र समयानुकूल सङ्घीय ऐन कानुनको खाँचो प्रहरी सेवामा छ । समाजमा शान्ति, सुरक्षा प्रवद्र्धनमा प्रविधिमैत्री तथा समयसापेक्ष सेवाको खाँचो छ । अतः जनतालाई सुशासनको अनुभूति दिलाउन सार्वजनिक निकायमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वबोध गर्दै प्रहरीका दण्डनीतिमा छानबिनको सबल पक्षका कार्यदिशालाई आधुनिक, नवप्रविधिमुखी निःस्वार्थ सेवाको पर्याय बनाउँदै लगिनु आवश्यक छ । प्रहरीमा ‘सत्य सेवा सुरक्षणम्’ नमक्काओस् ।

[email protected]