हस्ताक्षर गर्न नजान्ने सांसदलाई स्क्रिनटच ल्यापटप !

हस्ताक्षर गर्न नजान्ने सांसदलाई स्क्रिनटच ल्यापटप !


■ रामभरत साह, धनुषा

प्रदेश २ का प्रदेशसभा सदस्यहरूलाई प्रदेश सरकारले महँगो स्क्रिनटच ल्यापटप दिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले निकासा गरेको रकमबाट प्रदेशसभा सचिवालयको १ सय ७ जना प्रदेशसभा सदस्यका निमित्त महँगा ल्यापटप भ्याटबाहेक प्रतिपिस १ लाख १७ हजार ८ सय ७५ रुपैयाँका दरले खरिद गरी वितरण गरिएको हो । डेल कम्पनीको ३३९० मोडलका ती स्क्रिनटच टू इन वन ल्यापटप तीन वर्षको वारेन्टी रहेको र कूल १ सय १८ थान ल्यापटप एक थान सर्भरसहित एक करोड ५९ रुपैयाँ मूल्य परेको बताइएको छ ।

गत माघ २१ गते प्रदेशसभाले आफ्नो स्थापनाको दोश्रो वार्षिक उत्सवको अवसरमै विभिन्न पार्टीका संसदीय दलका नेताहरूलाई उपहारस्वरुप वितरण गरेको थियो भने सांसदहरूलाई चाहिँ समय मिलाएर विस्तार–विस्तार वितरण गरिएको थियो । राम्ररी हस्ताक्षरसम्म गर्न नजान्ने सांसदहरूलाई महँगो स्क्रिनटच ल्यापटप किन दिइएको हो भन्ने प्रश्न उठेको छ । तिनका लागि ती कम्प्युटर ‘बानरको हातमा नरिवल’ हुने निश्चित भएपछि त्यस कोटीका सांसदहरूका लागि प्रशिक्षणको व्यवस्था प्रदेशसभाले गर्ने भएको बुझिएको छ ।

मुख्यतः प्रदेशसभालाई पेपरलेस बनाउने उद्देश्यले कागजरहित निमित्त ल्यापटप वितरण गरिएको तर्क दिइएको छ । प्रदेश सरकारले आवश्यक कागजात प्रतिव्यक्ति कम्तीमा पाँच प्रति प्रतिलिपि गरेर दिनुपर्दा प्रतिवर्ष कम्तीमा २ करोड रुपैयाँ खर्च हुने गरेकोले मितव्ययिता अपनाउन कम्प्युटर दिनुपरेको प्रदेश सरकारको भनाई छ । तर भर्पाई गराएर दिइएको भए पनि ती ल्यापटप फिर्ता लिने कि नलिने खुलाइएको छैन । फिर्ता गरिने शर्त नै भए पनि तीन वर्षपछि प्रदेशसदस्यहरूले कम्प्युटर फिर्ता गर्नेमा विश्वस्त हुने कुनै गुञ्जायस छैन ।

कम्प्युटर गत वर्ष नै टेण्डरद्वारा खरिद गरिएको भनिएको छ । १ करोड १७ लाख ४९ हजार ७ सय ४० रुपैयाँमा आपूर्ति गर्ने शर्तसहित विराटनगरका मेघ टेक प्रा.लि.ले टेण्डर भरेको भए पनि सम्झौता गर्न नआउँदा उक्त कम्पनीले जम्मा गरेको ४ लाख २६ हजार प्रदेश सरकारले जफत गरेको बुझिएको छ । तत्पश्चात काठमाडौंको म्याक्स इन्टरनेशनल प्रा.लि.सँग सम्झौता गरेर किनिएको १ सय १८ थान ल्यापटपमध्ये १ सय ७ थान प्रदेशसभा सदस्यहरूलाई र ११ थान कार्यालय प्रयोजनका निमित्त राखिएको जनाइएको छ ।