सञ्जय स्मृतिद्वारा विनिता र चन्द्र सम्मानित

सञ्जय स्मृतिद्वारा विनिता र चन्द्र सम्मानित


राष्ट्रिय भलिबल टिमका पुर्वखेलाडी विनिता बुढाथोकी र चन्द्रबहादुर कुँवर सञ्जय स्मृति प्रतिष्ठानबाट सम्मानित भएका छन् । बिहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर प्रतिष्ठानले राष्ट्रिय महिला टिमकी पुर्व कप्तान बुढाथोकी र कुँवरलाई नगद सहित सम्मान गरेको हो । बुढाथोकी विभागीय टिम एपीएफ र कुँवर नेपाल पुलिस क्लबमा आबद्ध छन् ।

राष्ट्रिय टिम र क्लबको माध्यमबाट भलिबल क्षेत्रमा विशेष योगदान पुऱ्याएको भन्दै प्रतिष्ठानले दुई खेलाडीलाई सम्मान गरेको हो । राष्ट्रिय खेलकुद परिषद् र प्रतिष्ठान अध्यक्ष निरोज मास्केले दुवै खेलाडीलाई जनही ३० हजार रुपैयाँ सहित सम्मान गरेका थिए ।

प्रतिष्ठानले प्रत्येक दुई बर्षमा भलिबल खेलाडीलाई सम्मान गर्दै आएको छ । अघिल्लो संस्करणमा प्रतिष्ठानले मन्जु गुरुङ र सञ्जय अर्याललाई सम्मान गरेको थियो ।

कार्यक्रममा राखेप सदस्य सचिव रमेशकुमार सिलवालले प्रतिष्ठानले खेलकुद र समाजिक कार्यमा गर्दै आएको सहयोगको प्रशंसा गरेका थिए । उनले यसप्रकारको सम्मान कार्यक्रम तथा सहयोगलाई निरन्तरता दिन समेत प्रतिष्ठानलाई अनुरोध गरे ।

प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले खेलकुदमा गर्दै आएको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने बताइन । उनले भलिबलको विकासमा प्रतिष्ठानले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरिन् ।

प्रतिष्ठानले एआईपीएस स्पोटर््स मिडिया अवार्ड विजेता नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्वल ओलीलाई सम्मान गरेको थियो । कार्यक्रममा १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजत पदक विजेता राष्ट्रिय महिला भलिबल टिम र सागमा सहभागी राष्ट्रिय पुरुष भलिबल टिमलाई प्रतिष्ठानका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।