सवारी दुर्घटनामा परेका महासचिव मैनालीको अवस्था खतरामुक्त

सवारी दुर्घटनामा परेका महासचिव मैनालीको अवस्था खतरामुक्त


सवारी दुर्घटनामा परी घाइते हुनुभएका नेकपा (माले)का महासचिव सिपी मैनालीको अवस्था खतरामुक्त रहेको छ । काठमाडौंको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उहाँको दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको र शरीरमा भित्री चोट नभएको चिकित्सकको भनाइ उद्धृत गर्दै मालेको खेलकुद विभाग प्रमुख शङ्कर पोखरेलले जानकारी दिएका छन् ।

नेत मैनालीको बाहिरी भागमा चोटपटक लागेको पनि सिटी स्क्यान गर्दा भित्री अङ्गमा चोटपटक लागेको नदेखिएको सम्बन्धित चकित्सकलाई उद्धृत गर्दै पोखरेलले बताए । उनका अनुसार मैनालीको निधार र घाँटीमा चोट लागेको छ भने उहाँले सामान्य रुपमा बोलचालसमेत गरिरहनुभएको छ ।

भाइको छोरीको विवाहमा गएर झापाबाट काठमाडौं फर्कदै गर्दा महासचिव मैनाली विपी राजमार्गको सिन्धुली क्षेत्रमा दुर्घटनामा पर्नुभएको थियो । उहाँ सवार बा. ७ च २१२० नम्बरको जिपलाई विपरीत दिशाबाट गइरहेको ना४च ७६८० नम्बरको भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा मनौलीका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन् ।

दुर्घटनालगत्तै घाइतेको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार गरिएको थियो । थप उपचारका लागि नेता मैनालीलगायतलाई राजधानीस्थित ग्राण्डी अस्पतालमा ल्याइएको हो ।