कोरोना भाइरसका कारण जापानका सबै विद्यालय बन्द गर्न प्रधानमन्त्रीको आह्वान

कोरोना भाइरसका कारण जापानका सबै विद्यालय बन्द गर्न प्रधानमन्त्रीको आह्वान


■ श्याम क्षेत्री, टोकियो (जापान)

प्रधानमन्त्री सिन्जो आवेले जापानका सबै विद्यालय बन्द गर्न आह्वान गरेका छन् । द्रुत गतिमा फैलिरहेको कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै मार्च २ देखि हारु यासुमी (वसन्त ऋतुमा दिइने लामो बिदा) सम्म जापानभरिका सार्वजनिक विद्यालय बन्द गर्न आह्वान गरेका हुन् । यो विदा अप्रिलको आरम्भसम्म रहन्छ ।

हिजो मात्र होक्काइदो प्रान्तमा रहेका १६०० विद्यालयहररुलाई एक हप्ता बन्द गर्न आह्वान गरिएको थियो । प्राथमिक तथा जुनियर हाइस्कुलका ५० भन्दा बढि विद्यार्थी र शिक्षकहरुमा कोरोना भाइरसको संक्रमण देखिएपश्चात छोटो समयका लागि विद्यालय बन्द गर्ने निर्णय गरेकै भोलिपल्ट देशभरका प्राथामिक, माध्यमिक तथा उच्च विद्यालयहरु बन्द गर्न आह्वान गरिएको हो ।

कोरोना भाइरस फैलिन नदिन र जनस्वास्थ्यमा असर हुन नदिन जापान सरकारले सक्दो प्रयास गरिरहेको छ । जापानका विभिन्न क्षेत्रमा रहेका विद्यालयहरुले शैक्षिक गतिविधिहरुलाई घटाएका थिए ।

टोकियोमा रहेको ओच्यानोमिजु विश्वविद्यालयले सम्बन्धन पाएका किन्टरगार्टेन, प्राथमिक, माध्यमिक तथा उच्चमाध्यमिक विद्यालयहरु शुक्रबारदेखि नै एक महिनाका लागि बन्द गर्ने बताएको छ ।

कानागावामा रहेका विद्यालयहरुको स्नातक र प्रवेश समारोहहरुमा परिवारका सदस्य तथा अभिभावकहरुलाई नआउन भनेको छ । होक्काइदोको साप्पोरोमा रहेका ३०० विद्यालयहरु यही शुक्रबारदेखि मार्च ६ सम्म बन्द छन् ।

बिहीबारसम्म जापानभरका टोकियो, होक्काइदो, आइची तथा चिवासहित १९ वटा प्रान्तहरुमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । जसमा १७५ जना मानिसहरु संक्रमित छन् ।