एआइजी बढुवाका लागि तारिणी, शैलेश र हरि सिफारिस

एआइजी बढुवाका लागि तारिणी, शैलेश र हरि सिफारिस


नेपाल प्रहरीमा रिक्त एआइजी पदका लागि एआइजी बढुवा समितिले तीन डिआइजीको नाम सिफारिस गरेको छ। गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य–सचिव रहेको बढुवा सिफारिस समितिले बिहीबार (१५ फागुनर) तारिणी लम्साल, शैलेश थापा क्षत्री र हरि पालको नाम सिफारिस गरेको हो।

बढुवा सिफारिस भएकामध्ये लम्साल आगामी असार २४ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएकाले बाँकी रहेका दुई एआइजी क्षत्री र पालबीच भावी आइजीका लागि प्रतिस्पर्धा हुने भएको छ ।

तीन एआइजीको सिफारसिका लागि लम्साल, क्षत्री र पालसँगै प्रद्युम्न कार्की, निरज शाही, सूर्य उपाध्याय र विश्वराज पोखरेल प्रतिस्पर्धामा थिए । तर बढुवा समितिले यसपटक डिआइजीको बरियतामा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेकैलाई एआइजी बढुवाका लागि सिफारिस गरेकोले लम्साल, क्षत्री र पाल सिफारिसमा परेका हुन् ।

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै उनका ब्याचका २२ उच्च प्रहरी अधिकृतले ३० वर्षे उमेरहदका कारण गत माघ २८ गते एकैसाथ अनिवार्य अवकाश पाएपछि माथिल्लो तहमा धेरै दरबन्दी खाली हुन पुगेको थियो । उक्त समयमा तीन एआइजी र १८ डिआइजीको पद खाली भएको थियो । त्यसपछि डिआइजीबाट ठाकुरप्रसाद ज्ञवाली प्रहरी महानिरीक्षकमा बढुवा भएका थिए । आइजीपी ज्ञवालीको सेवाअवधि आगामी असार २५ सम्म छ ।

अबको एआइजी हुने लाइनमा डिआइजीहरु तारिणी लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, नीरजबहादुर शाही, प्रद्युम्न कार्की, सूर्य उपाध्याय र विश्वराज पोखरेल रहेकामा बिहीबारको बढुवा सिफरिसपछि शैलेश र हरि पालबीच भावी आईजीपीमा प्रतिष्पर्धा हुने भएको छ ।