अडियो टेप प्रकरण अनधिकृत ढङ्गले आएको प्रधानमन्त्रीको प्रष्टोक्ति

अडियो टेप प्रकरण अनधिकृत ढङ्गले आएको प्रधानमन्त्रीको प्रष्टोक्ति


प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न सङ्गठित प्रयत्नविरुद्ध एकताबद्ध हुनका लागि कार्यकर्तालाई आह्वान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै उनले अहिले बाहिर आएको अडियो टेप प्रकरण पार्टी, सरकार र नेताको चरित्र हत्या गर्न सङ्गठित प्रयास भएको दाबी गरे ।

‘आरोप सत्य हो कि होइन भनेर हामीले हेर्नुपर्छ । कसैले २० करोड खाको भन्छ, कसैले भन्छ घुस माग्यो । यही आरोप सत्य हो भने ऊ सजायको भागीदार हुन्छ, होइन भने त्यसको खण्डन दृढताका साथ गरिन्छ’, उनले भने । कम्युनिष्ट पार्टीको आचरण र आदर्श भ्रष्ट नहुने दाबी गर्दै उनले कोही भ्रष्ट भएमा त्यसलाई कारवाही गरिने बताए ।

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा अडियो टेप प्रकरण अनधिकृत ढङ्गले आएको उनको प्रष्टोक्ति थियो । ‘मेरो बारेमा प्रश्न उठेको हुनाले गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिन्छु भनेर राजीनामा दिनुभएको हो । मैले राजीनामा स्वीकृत गरेँ’, प्रधानमन्त्रीले भने– ‘उहाँले यो टेप मेरो होइन भनिरहनुभएको छु । म न्याय खोज्छु भन्नुभएको छ । स्वीस राजदूतावासले पनि उसको प्रतिनिधि होइन भनेर भनेको छ । त्यसको कुनै सत्यता पुष्टि भएको छैन । त्यसकारण उक्त टेपमा कुनै प्रमाण छैन । त्यो टेप प्रकरण प्रमाणित हुँदैन ।’

आफ्नो नाममा पनि उक्त टेप प्रकरणमा उजुरी हालिएको छ भन्दै त्यो काम नलाग्ने प्रम ओलीले बताए ।

पार्टीको सही नीति तथा व्यापक र सुदृढ सङ्गठन भए पनि प्रचारमाध्यममा मात्र कमी रहेको जिकिर गर्दै उनले केही विरोध गर्न नपाएपछि आफ्नो जन्मदिनमा जनताले केक काटेर उत्सव मनाएकामा पनि नेपाली काङ्ग्रेसले विरोध गरेको आरोप लगाए । ‘भारतले नाकाबन्दी गर्दा बोल्न नसक्ने काङ्ग्रेस केकमा राष्ट्रवाद भन्न थालेको छ’, उनले भने– ‘मेरो जन्मस्थलमा मसँगै पानी, बिजुली पुगेपछि जनताले केक काटेर उत्सव मनाएका हुन् । कसले केक ल्याए, मलाई थाहा छैन । मैले केक छोइदिएको मात्र हुँ । केक उनीहरुले नै काटेका हुन् ।’

संसदबाट आफू कहिल्यै नभागेको पनि प्रधानमन्त्री ओलीले बताए । ‘संसद्मा बोल्दाखेरि हुलहुज्जत गरेर बोल्न नदिने, अनि भाग्यो भनेर भन्ने ? संसद्मा दुई तिहाई ल्याएको पार्टीको नेता हुँ, म कहिल्यै भाग्दिनँ’ भन्दै उनले आफू कुनै समय संसद् जाने र प्रतिपक्षको कुरा सुनेर जवाफ दिने स्पष्ट गरे । ‘प्रधानमन्त्री विभिन्न कामले सधैँ संसद्मा पुग्न सक्दैन, म कुनै समयमा त्यहाँ गएर उहाँहरुका कुरा सुनेर जवाफ दिन्छु ।’

केही दिनमा मिर्गाैला प्रत्यारोपण

प्रधानमन्त्री ओलीले केही दिनभित्र आफूले मिर्गाैला प्रत्यारोपण गर्ने जानकारी दिँदै मिर्गौला प्रत्यारोपण गरेर पाँच दिन अस्तपालमा बस्ने र छैटौँ दिनमा घर आएर काम शुरु गर्ने अभिव्यक्ति दिए । अझै पनि १०–१५ वर्ष आफ्नो स्वास्थ्यमा तलमाथि नहुने दृढता पनि उनले व्यक्त गरे । ‘अहिले मानिसले मलाई बिरामी भने पनि म दैनिक १७–१८ घण्टा काम गरिरहेको छु’, उनले भने, ‘बिरामी हुँदा पनि काम गर्ने मेरो बानी परेको छ । अलिअलि बिरामी परिहालिन्छ । जिन्दगी यस्तै हो ।’

pict: rss