कोरोनाको संक्रमणका कारण अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास स्थगित

कोरोनाको संक्रमणका कारण अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास स्थगित


संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाबीच निकट भविष्यमा हुन लागेको सैन्य अभ्यास स्थगित भएको छ । कोरियामा प्राणघातक कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै दुवै मुलुकले सैन्य अभ्यास स्थगित गर्ने घोषणा गरेका हुन् ।

कम्बाइन्ड फोर्सेज कमान्ड (संयुक्त सैन्य कमान्ड) ले जारी गरेको पछिल्लो विज्ञप्तिमा कोरियाले कोरोना संक्रमणको स्तर निकै गम्भीर मोडमा पुगेको जानकारी गराएकाले अर्को सूचना प्रकाशन नहुँदासम्म संयुक्त सैन्य अभ्यास स्थगित गर्नुपरेको उल्लेख छ ।

कोरियाली प्रायद्वीपमा आणविक अस्त्रको सम्भावित होडबाजीबीच सुरक्षाका लागि दक्षिण कोरियामा हाल संयुक्त राज्य अमेरिकाका करिब २८ हजार पाँच सय सैन्य तैनाथ छन् । अमेरिकाबाहिर कोरियामा सबैभन्दा ठूलो संख्यामा अमेरिकी सेना तैनाथ छ ।

यद्यपि उत्तर कोरियासँगको सम्बन्ध सामान्यीकरण गर्ने र आणविक अस्त्र त्याग्न लगाउने प्रयासस्वरूप पछिल्ला केही समयदेखि संयुक्त सैन्य अभ्यासको संख्यामा कटौती गरिएका छन् । उत्तर कोरियाले भने विगत लामो समयदेखि अमेरिकी र दक्षिण कोरियाली सैन्य अभ्यासप्रति आपत्ति जनाउँदै आएको छ ।

कोरियाली संक्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बिहीबार अरू पाँच सयभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको जनाएको छ । कोरोनाकै कारण कोरियामा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । कोरियामा हालसम्म एक हजार ७ सय ७६ जनामा कोरोना संक्रमण भएको केन्द्रले जनाएको छ । चीनबाहिर यति ठूलो संख्यामा कोरोना संक्रमित भेटिएको कोरिया नै हो ।
रासस–एएफपी