दोस्रो बिहे रोक्न माग गर्दै आफन्तको गुहार

दोस्रो बिहे रोक्न माग गर्दै आफन्तको गुहार


टीकापुर नगरपालिका– १ गणेशपुर बस्ने एक महिलाले दुई छोराछोरी छाडेर अर्को विवाह गर्ने तयारी गरेको भन्दै आफन्तले गुहार मागेका छन् । १३ वर्षीया छोरी र १० वर्षका छोरालाई छाडेर मीना चौधरीले कञ्चनपुरको बेलौरी नगरपालिका– ७ बस्ने छंगा रानासँग विवाह गर्ने तयारीका साथ विवाह कार्डसमेत छपाएपछि आफूहरुलाई थाहा भएको पहिलेका श्रीमानकी फुपू पर्ने राजकुमारी डगौराले बताइन् ।

दुई छोराछोरीलाई अलपत्र पारी अर्को विवाह गर्न लागेको भन्दै विवाह रोकिदिनका लागि इलाका प्रहरी कार्यालय टीकापुरमा जाहेरी दिँदा प्रहरीले जाहेरी लिन नमानेको यनको भनाइ छ । पहिलेका श्रीमानसँग सम्बन्धविच्छेद गरी प्रक्रियाअनुसार अर्को विवाह गर्नु स्वाभाविक भए पनि यही अवस्थामा विवाह रोकिदिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

जानकी गाउँपालिका– ५ पथरैया माइत भएकी मीनाले श्रीमान बुधराम चौधरीको नामबाट नेपाली नागरिकता लिएको फुपू डगौराले बताइन् । यस विषयमा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मनोहरप्रसाद भट्टले उमेर पुगेको महिलाले विवाहित भए पनि अविवाहित केटासँग दुवैको इच्छाअनुसार विवाह गर्नका लागि कुनै पनि कानूनले रोक नलगाएको बताए । कानूनी प्रक्रियाका लागि प्रशासनमार्फत जानुपर्ने उनको भनाइ छ ।
rss