मिलेमतोको आशंकामा सरस्वती क्लबका कप्तान दीपेशलाई दुई वर्ष प्रतिबन्ध

मिलेमतोको आशंकामा सरस्वती क्लबका कप्तान दीपेशलाई दुई वर्ष प्रतिबन्ध


अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सरस्वती युवा क्लबका कप्तान दीपेश श्रेष्ठलाई दुई वर्ष फुटबल खेल्न प्रतिबन्ध लगाएको छ । उनलाई प्रतिबन्धसँगै ५० हजार जरिवानासमेत गरिएको छ ।

एन्फाले बुधबार (१४ फागुन) विज्ञिप्ति जारी गर्दै हालै सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत हिमालयन शेर्पा क्लबसितको खेलमा सरस्वतीका कप्तान दीपेशले मिलेमतो गरेको आरोप लगाएको छ । उनलाई आजको मितिदेखि खेल्न प्रतिबन्ध लगाइएको हो ।

दीपेशले प्रतियोगिता नियमावलीविपरीत काम गरेको भन्दै एन्फाले कारवाही गरेको हो । हिमालयनसितको खेलमा दीपेशले मिलेमतो गरेको आशङ्का गरिँदै आएको थियो । सरस्वतीले उक्त खेलमा हिमालयनलाई ४–३ गोलले पराजित गरेको थियो ।

प्रतियोगिताभर सरस्वतीले जितेको त्यो मात्र एउटा खेल थियो । ‘ए’ डिभिजन लिगमा सरस्वती एउटामा जित, एउटामा बराबरी तथा ११ खेलमा हारका साथ रेलिगेसनमा पर्दै डिभिजन ‘बी’ मा झरेको थियो । दीपेश हाल धगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिम टोलीबाट खेलिरहेका छन् ।

यसैगरी हिमालयनका टोली ब्यवस्थापक विजेन्द्र पुडासैनीलाई तीन महिनाका लागि निलम्बन गरिएको छ । उनलाई ३० हजार जरिवाना गरिएको छ । एन्फाले हिमालयनका गोलकिपर मिनबहादुर बस्नेतलाई सुध्रिने मौकासहित चेतावनी दिएको छ ।