सम्पूर्ण सत्ताको ‘मालिक’ बन्दै प्रचण्ड

सम्पूर्ण सत्ताको ‘मालिक’ बन्दै प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टीभित्रको सत्ता–सङ्घर्ष नयाँ चरणमा प्रवेश गरेको छ । गत जेठदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न प्रचण्डबाट भएको प्रयास साउनमा असफल भएको थियो । त्यसयता ‘एमाले’ कित्ताका नेताहरू माधवकुमार नेपाल र वामदेव गौतमलाई केपीसँगको दूरी बढाइदिन सफल प्रचण्डले कार्यकारी अध्यक्षको हैसियत पाएपछि नेकपाभित्रको आन्तरिक सन्तुलन बदलिएको छ ।

कार्यकारी अध्यक्षको हैसियत प्राप्त गरेयता प्रचण्ड ‘एकल अध्यक्ष’झैँ सक्रिय हुनुभएको छ । केपीको इच्छा र सहमतिबिना बहुमतका आधारमा निर्णय लिएर उहाँले देखाइदिन थाल्नुभएको छ । सभामुख चयन प्रकरणमा केपी ओलीलाई रक्षात्मक बनाउँदै आफूले चाहेका व्यक्ति (अग्नि सापकोटा)लाई सभामुख चयन गर्न सफल भएपछि प्रचण्डको मनोबल झनै बढेको छ । यसैबीच ओलीका दाहिने हात मानिने गोकुलप्रसाद बाँस्कोटालाई पदमुक्त गराउन सक्नुलाई पनि प्रचण्डले आफ्नो ‘महान् उपलब्धि’ ठान्नुभएको बुझिन्छ ।

वरिष्ठ नेता माधवकुमार नेपालको साथ आफूलाई रहँदा मात्र केपीलाई परास्त गर्न सकिने विश्वासमा रहनुभएका प्रचण्ड त्यस दिन (फागुन २ गते) झस्किनुभयो जब माधवकुमार नेपालको निवासमा गोकुल बाँस्कोटालाई देख्नुभयो । माधव र केपीबीच बढेको दूरी घटाएर दुई नेताबीच समझदारी बनाउन गोकुल बाँस्कोटा पछिल्लो समयमा सक्रिय भएको र त्यस क्रममा उक्त दिन सहमतिको विशेष प्रस्तावसहित गोकुल माधव नेपालको निवासमा पुग्नुभएको थियो । नेता नेपालसँग गोकुलको छलफल चलिरहेका बेला प्रचण्ड खबरसम्म नगरी अचानक त्यहाँ पुग्नुभएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

गोकुलकै पहलमा प्रधानमन्त्री ओली र नेता नेपालबीच संवाद भएको र दुई नेताबीच समझदारी बढ्ने स्थिति बनेको थियो । यसरी गोकुलको सक्रियता बढ्नु प्रचण्डका निम्ति सैह्य हुन सकेन । माधव नेपाललाई ओलीको निकट हुन नदिन सबभन्दा पहिले ओलीको ‘दाहिने हात’ मानिएका गोकुल बाँस्कोटालाई समाप्त गर्नुपर्ने निचोडमा प्रचण्ड पुग्नुभयो । देशमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता प्रचण्डको हुन्थ्यो भने उहाँ कुख्यात ठेकेदारलाई घरपति बनाएर बस्नुहुने थिएन र आफ्नी बुहारी विना मगरले घुस मागेको आरोप लगाउँदै तत्काल बहालवाला सचिव गजेन्द्र ठाकुरले सार्वजनिक अभिव्यक्ति दिएकै दिन बुहारीलाई पदमुक्त गराउनुहुने थियो । प्रचण्डको मूख्य उद्देश्य गोकुललाई पन्छाएर केपीलाई कमजोर बनाउनु थियो, उहाँ आफ्नो उद्देश्यमा सफल हुनुभएको छ ।

केपीलाई प्रधानमन्त्रीबाट हटाइसकेपछि अध्यक्ष पदबाट पनि पन्छाएर एकलौटी अध्यक्ष बन्ने र एमाले कित्ताका नेताहरूलाई आवश्यकता र उपयोगिताअनुरूप प्रयोग गर्ने चाल प्रचण्ड चल्दै हुनुहुन्छ । ‘एमाले’ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम ०६४/६५ सालतिर गिरिजाप्रसाद कोइराला रहनुभएकै मनोदशामा रहनुभएको झल्को देखिन थालेको छ । त्यसताक गिरिजाप्रसादलाई पनि प्रचण्डले राष्ट्रपति बनाइदिने भन्दै आफ्नो काम पट्याउनुभएको थियो ।

त्यसैले प्रचण्डले आफ्ना निकटस्थ जनार्दन शर्मा प्रभाकरलाई विजय मिश्र नामक व्यक्तिसँग भेटी ‘तारतम्य’ मिलाउन लगाउनुभएको र, जनार्दनकै अगुवाइमा ‘टेप प्रकरण’को उत्पत्ति गराइएको बुझिएको छ । टेपकाण्डबारे सम्बद्ध निकायले छानबिन शुरु गरिसकेकोले सत्य–तथ्य सार्वजनिक हुने नै छ, तर तत्काल यस घटनाबाट प्रचण्डलाई धेरै ठूलो लाभ र प्रधानमन्त्री ओलीलाई गम्भीर क्षति पुगेको छ । गोकुलको पदमुक्तिले केपी ओलीलाई थप रक्षात्मक अवस्थामा पुऱ्याएको छ र, केपीविरुद्ध बनेको बाह्य माहोलले प्रचण्डको योजना कार्यान्वयनलाई थप सहयोग पुऱ्याउने स्थिति छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुनभित्रै मिर्गौला प्रत्यारोपणको सोच बनाउनुभएको छ । उता प्रचण्डले चाहिँ केपीको मिर्गौला प्रत्यारोपणभन्दा अगाडि नै प्रधानमन्त्री बदल्न कदम चाल्ने तयारी गर्नुभएको छ । माधव नेपाल र वामदेव गौतमको साथ निश्चल रहने विश्वास भएपछि केपीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउने तयारी प्रचण्डले गर्नुभएको बुझिएको छ ।

झलनाथ खनाललाई राष्ट्रपति बनाइदिने र लुम्बिनी विमानस्थलमा उनका छोराबाट भएको घोटाला छानबिन नगराउने वचन दिएर प्रचण्डले उहाँलाई विश्वासमा लिनुभएको छ । त्यस्तै, वामदेव गौतमलाई चाहिँ राष्ट्रिय सभा सदस्यले समेत प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने र राष्ट्रिय सभामा पुऱ्याएर प्रधानमन्त्री बनाइदिने विश्वास दिलाएर आफ्नो ‘क्याम्पमा राख्नुभएको’ छ । उता वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि प्रचण्डले प्रधानमन्त्री या राष्ट्रपति जे चाहनुहुन्छ त्यही बनाइदिने वचन दिनुभएको बुझिएको छ । उल्लिखित तीनैजनाको विश्वास लिएर केपीलाई पदमुक्त गर्ने र त्यसपछि उत्पन्न हुने स्थितिमा उपयुक्त निर्णय लिएर आफ्नो अवस्था थप मजबुत बनाउने रणनीतिक योजनामा प्रचण्ड रहनुभएको छ ।

केपीलाई प्रधानमन्त्रीबाट हटाइसकेपछि अध्यक्ष पदबाट पनि पन्छाएर एकलौटी अध्यक्ष बन्ने र एमाले कित्ताका नेताहरूलाई आवश्यकता र उपयोगिताअनुरूप प्रयोग गर्ने चाल प्रचण्ड चल्दै हुनुहुन्छ । ‘एमाले’ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम ०६४/६५ सालतिर गिरिजाप्रसाद कोइराला रहनुभएकै मनोदशामा रहनुभएको झल्को देखिन थालेको छ । त्यसताक गिरिजाप्रसादलाई पनि प्रचण्डले राष्ट्रपति बनाइदिने भन्दै आफ्नो काम पट्याउनुभएको थियो । सरकार बदल्ने र केपी ओलीलाई सम्पूर्ण रूपले समाप्त गर्ने जुन योजना प्रचण्डले बनाउनुभएको छ, उहाँले आफ्नो योजना कसरी कार्यान्वयन गर्नुहुने हो, अहिले त्यसैको प्रतीक्षा भइरहेको छ । केपीलाई पछारिसकेपछि अर्को वर्ष राष्ट्रपति पनि बदल्ने योजना प्रचण्डको हो । आफ्नो हातमा पार्टीको सम्पूर्ण सत्ता आइसकेपछि विद्यादेवी भण्डारीलाई एक वर्षपछि हटाउने र उहाँको स्थानमा झलनाथ खनाल या माधवकुमार नेपाललाई बाँकी कार्यकालको लागि राष्ट्रपति चयन गरिदिने योजना प्रचण्डको भएको बुझिन्छ ।

आगामी आमनिर्वाचनभन्दा पहिले संविधान संशोधन गरेर ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’ बनाउने र अब हुने चुनावमा आफैँ ‘कार्यकारी प्रमुख’को उम्मेदवार बन्ने सोच प्रचण्डले बनाउनुभएको बुझिएको छ । एकपटक प्रचण्ड ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’ बन्नुभएमा त्यसपछि नेपालको स्थिति कस्तो होला त्यसको अहिले नै अनुमान गर्न सकिन्छ । आफ्नो यसप्रकारका योजना कार्यान्वयन गर्न सफल हुनुभएमा प्रचण्ड उत्तर कोरियाका किम जोङ उन बन्न नसके पनि जिम्बाबेका रोबर्ट मुगावे बन्नेचाहिँ निश्चित मान्न सकिन्छ ।