गोकुल प्रकरणका केही तथ्य केही प्रश्न

गोकुल प्रकरणका केही तथ्य केही प्रश्न


■ विशेष संवाददाता

स्विट्जरल्यान्डको एक कम्पनीको एजेन्ट दाबी गर्ने विजय मिश्र नामक व्यक्तिसँगको ‘कमिसन डिल’सम्बन्धी ‘टेप’ सार्वजनिक भएपछि गोकुलप्रसाद बाँस्कोटाले फागुन ८ गते मन्त्री पदबाट राजीनामा दिएका छन् । पदत्याग गरेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा छानबिन प्रक्रिया अघि बढाएको छ । छानबिनको निष्कर्षपछि मात्र ‘टेप प्रकरण’बारे सत्य–तथ्य स्पष्ट हुने भए पनि केही तथ्य र प्रश्नहरूले यसलाई रहस्यमयी बनाएको छ ।

केपी ओली नेतृत्वको वर्तमान सरकारले डेढ वर्षअघि नै ‘सिक्युरिटी प्रेस’ खरिद गर्न आवश्यक प्रक्रिया शुरु गरेको थियो । निजी क्षेत्रलाई सहभागी गराइँदा वा ग्लोबल टेन्डरमार्फत खरिद प्रक्रिया सुरु गर्दा उत्पन्न हुने जटिलताहरूलाई दृष्टिगत गरी सरकारले सरकारसँगै सम्झौता गरेर (जीटूजी मोडलमा) प्रेस खरिद गर्ने निर्णय लिएको थियो । यस क्रममा बेलायत, फ्रान्स, जर्मनी र जापानलगायतका मुलुकले शुरुमा चासो प्रकट गरेका भए पनि सरकारले सहुलियत ऋण या अनुदानमा प्रेस झिकाउने सोच (योजना) रहेको जानकारी गराएपछि बेलायत र जापान पछि हटेका थिए । नेपाल सरकारले स्विट्जरल्यान्ड सरकारलाई पत्र लेखेकोमा त्यसको सामान्य जवाफसमेत स्विस सरकारले दिएको थिएन । अन्ततः फ्रान्स र जर्मन सरकारले मात्र ऋणमा सिक्युरिटी प्रेस उपलब्ध गराउन प्रस्ताव गरेका थिए ।

‘जीटूजी’ मोडलमा निर्णय लिने सम्पूर्ण अधिकार मन्त्रिमण्डलमा निहित हुन्छ र, मन्त्रालय या मन्त्रीविशेषले यसमा सहजकर्ताको भूमिका मात्र निर्वाह गर्न सक्छ । त्यसैले जर्मनी र फ्रान्सले राखेका प्रस्तावमध्ये कुन उपयुक्त छ त्यसको अध्ययन गरी आवश्यक निर्णय प्रक्रिया शुरु गर्न मन्त्रिमण्डलले सञ्चार मन्त्रालयलाई जिम्मेवारी सुम्पेको थियो । मन्त्रिमण्डलको बैठकले दिएको जिम्मेवारी पूरा गर्न सञ्चार मन्त्रालयले फ्रान्स र जर्मनीको प्रस्तावमाथि अध्ययन गरिरहेकै समयमा संसद्को लेखा र अर्थ समितिले यससम्बन्धी सम्पूर्ण कागजपत्र माग गरी ‘अनुसन्धान’ शुरु गऱ्यो । संसदीय समितिले फाइल अध्ययन गरेर एउटा निर्णय नलिएसम्म यस सम्बन्धमा मन्त्रालय र मन्त्रिमण्डलले कुनै निर्णय गर्न सक्ने अवस्था रहन्न । र, निर्णय लिँदा पनि फ्रान्स या जर्मनीबाहेक अर्को कुनै मुलुक या कम्पनीसँग सरकारले प्रेस खरिद गर्नै सक्दैन, दुईमध्ये एउटा देशको प्रस्तावलाई मात्र स्वीकार गर्न सक्ने अवस्थामा सरकार छ । फ्रान्स या जर्मनीबाहेक अन्य मुलुक या कम्पनीसँग प्रेस खरिद गर्नै नसक्ने–नमिल्ने अवस्थामा स्विट्जरल्यान्डको एजेन्ट दाबी गर्ने व्यक्तिसँग ‘कमिसन डिल’ किन र कसरी हुन सक्छ भन्ने प्रश्न यहाँ खडा भएको छ ।

सम्बद्ध निकायहरूको छानबिनपश्चात् सत्य–तथ्य विवरण प्राप्त हुने विश्वास त छँदै छ, तथापि ‘प्रोजेक्ट’ दिनै नसकिने र नमिल्ने कम्पनीका एजेन्टसँग कसैले किन ‘डिल’ गर्छ भन्ने प्रश्न विचारणीय छ । छानबिनले यस्ता प्रश्नहरूको स्पष्ट जवाफ खोज्ने आशा गरिएको छ । उद्यम या व्यापारिक क्षेत्रका मानिस कसैसँग ‘डिल’ गर्नुपर्दा तिनले अडियो या भिडियो रेकर्ड गराउने गर्दैनन् । यस्ता व्यवहारले आफूलाई समेत सकसमा पार्न सक्छ भन्ने हेक्का उद्यमी–व्यापारीहरूले राख्ने गरेको पाइन्छ । तर, व्यापारिक क्षेत्रमा कहिल्यै नाम नसुनिएका विजय मिश्रले टेप प्रकरण रचेर आफूलाई किन चर्चामा ल्याउन चाहे भन्ने प्रश्न पनि उठेको छ ।

प्राप्त जानकारीअनुसार विजय मिश्र नामक व्यक्ति लमजुङका बासिन्दा हुन् र उनी ‘नेकपा एमाले’को कार्यकर्तामा रूपमा आफूलाई चिनाउने गर्दथे । एमालेको कार्यालय र एमाले नेताहरू विष्णु पौडेल तथा पृथ्वी सुब्बा गुरुङको घरमा बारम्बार देखा परिरहने मिश्रलाई गोकुल बाँस्कोटा भने चिन्दैनथे । मिश्रलाई बाँस्कोटासम्म पुऱ्याउने नेता को थिए र मिश्रले किन ‘टेप प्रकरण’ रचे भन्ने प्रश्नमा पनि छानबिन गरी सम्बद्ध निकायले सत्य–तथ्य जुटाउने अपेक्षा गरिएको छ ।

यो पनि हेर्नुहोस्–

चितुवाबाट जोगिएका गोकुल बने मान्छेको सिकार !