कोरियामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एघार

कोरियामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एघार


■ सविना कार्की, दक्षिण कोरिया

कोरोना भाइरसबाट दक्षिण कोरियामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । सोमबार (२४ फेब्रुअरी) रातिसम्म ८ जनाको मृत्यु भएको थियो भने मंगलबार साँझसम्म थप ३ जनाको गरी ११ जनाको मृत्यु भएको हो ।

सोमबारसम्म भाइरसबाट संक्रमित हुनेको संख्या ८ सय ३३ थियो मंगलबार संक्रमितको संख्या बढेर ९ सय ७७ पुगेको कोरिया यासबियास च्यानलले प्रशारण गरेको छ ।

त्यसैगरी, १३ हजार ८८० जनामा कोरोना भाइरसको लक्षण देखा परेर चेकजाँच लिर्इ विशेष निगरानीमा छन् भने २२ जना संक्रमित भर्इ सामान्य अवस्था भएपछि घर फर्किएको कोरिया एनआरएनए सचिव मनोज गौतमले जानकारी गराएका छन् ।

कोरोना भाइरस संक्रमित विभिन्न क्षेत्रमा कोरोना संक्रमितको संख्या सबैभन्दा धरै कोरियाको सहर थेगुमा देखापरेको छ । फेब्रुअरी २५ साँझसम्म थेगुमा मात्र ५ सय ४३ जना उक्त भाइरससंक्रमित फेलापरेका छन् भने ख्यङ्बोकमा २ सय ४८, बुसानमा ४३, ख्यङ्गिमा ४२, सउलमा ४०, ख्ङनाम २३, ख्वाङ्जुमा ९, खाङ्वन ६, छुङ्बोक ५, थेजनमा ३ , उल्सानमा ३, छन्बोक ३, इन्छन २, छन्नाममा २, छेजुमा २ र छुङ्नाममा २ गरी जम्मा ९ सय ७७ जना संक्रमित भैसकेका छन् । लक्षण देखापरेर चेकजाँच गर्नेको संख्या पनि दिनमा हजार बढि थपिँदै गएको छ ।

कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अझै बढ्ने सक्ने अशंका गरिएको छ । कोरियास्थित नेपाली दुतावासले विज्ञप्ति निकाल्दै सम्पूर्ण नेपालीलाई सचेत रहन अनुरोध गरिसकेको छ भने अवैधानिक रहेका कामदारहरुलाई पनि लक्षण देखापरे सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने र उपचारको सिलसिलामा नपक्रिने पनि जानकारी गराइएको छ । कोरियन सरकारले संक्रमित क्षेत्रलाई विशेष निगरानीमा राखि सतर्कता अपनाइरहेको छ ।

कोरोना भाइरस संक्रमित बढेसँगै कोरियामा कार्यरत नेपालीहरुमा पनि त्रास फैलिएको छ । संक्रमित क्षत्रमा रहेका केही नेपालीले सुरक्षाका उपाय अपनाइए पनि डर लागिरहेको बताए । कतै कतै कम्पनीमा कार्यरत साथीको मृत्युपछि संक्रमण फैलिन सक्ने डरले कम्पनी बन्द पनि भएको बुझिएको छ ।

कोरियामा कार्यरत भुवन चौलागाई कोरोना भाइरसको त्रासले कम्पनीमा काम गर्न जान, बजारमा सपिङ गर्नलागायत दैनिक काममा बाधा भएको र भय बढेको बताउँछन् । अर्का नेपाली शुक्रराज लिम्बू यसैगरी कोरोना भाइरसको संक्रमण बढिरहे सरकारले नेपालीको बारेमा सोेचेर केही समाधान निकाल्नुपर्ने सुझाव दिन्छन् ।