तपाईंलाई आफ्नो जन्मघरले चिन्यो प्रधानमन्त्रीज्यू ? : रिजाल

तपाईंलाई आफ्नो जन्मघरले चिन्यो प्रधानमन्त्रीज्यू ? : रिजाल


मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले मनाएको आफ्नो ६९औँ जन्मदिनको खुलेर आलोचना गरेका छन् ।

उनीहरूले राजसंस्थामा राजाहरूले भन्दा बढी तामझामका साथ राजसी ढर्रासहित मनाइएको उक्त जन्मोत्सवको प्रधानमन्त्रीले आँखामा आँखा जुधाएर जवाफ दिनुपर्ने बताएका छन् ।

बैठकमा बोल्दै सांसद गगन थापाले भने, ‘संसदमा प्रधानमन्त्रीले डाँडाकाँडा घुमेर होइन, तालतलैया हेरेर होइन, आँखामा आँखा जुधाएर जवाफ दिनुपर्छ ।’

उनले प्रधानमन्त्रीलाई संसदमा उपस्थिति हुन रुलिङ गर्नुपर्ने पनि बताए । उनले भने, ‘जन्मदिनबारे जनता के भन्दै छन्, थाहा छ ? ०६०–६१ सालको राजाको झल्को मेटिएको छ । प्रधानमन्त्री ओेलीवरिपरि रहेकाहरूले राजाका भारदारीको झल्को भेटाएका छन् ।’

सांसद डा. मीनेन्द्र रिजालले प्रधानमन्त्रीले आफ्नो जन्मदिन मनाउने क्रममा सत्ता–उन्मादको प्रदर्शन गरेको बताए । उनले भने, ‘पुराना राजाहरूको जन्मदिनको तस्बिर केही अघि देखेको थिएँ । शैली सामान्य नै थियो । तर, जन्मदिनमा तपाईंको सत्ता–उन्माद देखेर आमनागरिक दिक्दार छन्, निराश छन् ।’ उनले आफू जन्मेको घरमा जन्मदिन मनाउँदा प्रधानमन्त्री ओलीले राजा–महाराजाको शैली अपनाएको उल्लेख गर्दै भने, ‘त्यो घरलाई पनि लाग्यो होला आफ्नो खड्गप्रसाद होइन, राजा महाराजा हो, त्यो घरको आत्माले तपाईंलाई चिनेन होला । त्यो घरको अगाडि उभिएर जनता कुन लोकमा र तपाईं कुन लोकमा हुनुहुन्छ भन्ने सोच्नुभयो ?’

रिजाल यतिमा मात्र रोकिएनन् । अगाडि भने, प्रधानमन्त्रीले जन्मदिनमा चार हजार वृद्धवृद्धालाई सारी र कोट बाँडेको सुनियो । पहिले आफ्नो जन्मदिनमा केटाकेटीलाई मिठाई बाँडेर चित्त बुझाउनुपर्ने राजा–महाराजालाई पनि त्यो देखेर इर्ष्या लाग्यो होला प्रधानमन्त्रीज्यू । ‘हिजो मदन भण्डारी राजालाई राजनीति गर्ने भए श्रीपेच फुकालेर आऊ भन्थे । आज थरीथरीका श्रीपेच लगाएका कम्युनिस्ट मित्रलाई देखेर भण्डारी के भन्दै होलान्,’ रिजालले भने ।