क्यान्सर अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न सरकार सकारात्मक : गृहमन्त्री थापा

क्यान्सर अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न सरकार सकारात्मक : गृहमन्त्री थापा


गृहमन्त्री रामबहादुर थापा बादलले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न सरकार सकारात्मक रहेको बताएका छन् । अस्पतालको मंगलबार निरीक्षणपछि प्रतिक्रिया दिँदै गृहमन्त्री थापाले यस अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्नुपर्ने बताएका हुन् ।

अस्पताललाई थप अत्याधुनिक बनाएर देशकै क्यान्सर रोग उपचारको प्रमुख केन्द्रका रूपमा विकास गर्नुपर्ने पनि उनको भनाइ थियो । ‘सुखी नेपाली स्वस्थ नेपाली’ भन्ने सरकारको नारालाई यस अस्पतालले सार्थक बनाएको उनको भनाइ थियो । देशभर र छिमेकी देशबाट समेत बिरामी उपचारका लागि आउने यस अस्पतालमा बिरामीले दुःख पाउन नहुने थापाले बताए । उनले स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति भएकाले यसमा सरकारको विशेष जोड रहेको पनि उल्लेख गर्नुभयो ।

सो अवसरमा अस्पतालका नवनियुक्त अध्यक्ष डा. निर्मल लामिछाने, कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्य र कानून अधिकृत गोकर्ण सापकोटाले अस्पतालका विषयमा जानकारी गराएका थिए । तीन वर्षअघि सो अस्पताल अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरी निगरानीमा राखेको थियो । त्यसपछि कार्यकारी निर्देशकमा आचार्य नियुक्त भएसँगै अस्पतालले सुधारको बाटो लिएको हो । मन्त्री थापाले आजै भरतपुर महानगरपालिका–१६ मा निर्माण भएको क्रुजको अवलोकन र परीक्षण यात्रा पनि गरेका छन् ।

rss