अनियमितता छोप्न कागजी प्रक्रिया मिलाउँदै राखेप

अनियमितता छोप्न कागजी प्रक्रिया मिलाउँदै राखेप


■ श्रीविक्रम भण्डारी

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पोसाकतर्फ लाखौँको अनियमितता भएको चर्चा चलेको छ । टेन्डर प्रक्रियामा राष्ट्रिय खेलकुद परिषद्ले अधिकतम मूल्यभन्दा कम मूल्य हाल्न लगाएर पानीमाथिको ओभानो बन्न खोजे पनि त्यस्तो नभएको बुझिएको छ । राखेपले आमखेलप्रेमीलाई भ्रममा राख्दै नियमसम्मत कागजी प्रक्रिया मिलाएर लाखौँको अनियमितता गरेको स्रोतले दाबीे छ । भ्रष्टाचारको कुनै गन्ध आउन नदिन राखेपले यस्तो रणनीतिको अख्तियार गरे पनि पोसाकहरू निकै कमसल भएका कारण अहिले पोसाक खरिदमा लाखौँको अनियमितता भएको आशङ्का गरिएको छ । निकै चलाखीका साथ टेन्डर आह्वान गरिएको मूल्यभन्दा कम मूल्यको टेन्डर पारेर एक–आपसमा गरिएको मिलोमतोमा राज्यको लाखौँ रुपैयाँ लुट्ने कार्य राखेपले गरेको छ ।

खेलाडीले लगाएको दौरा, सुरुवाल, साडी र ब्लेजर निकै कमसल भएको स्वयम् खेलाडीले बताएका छन् । तसर्थ राखेपले टेन्डर आह्वानद्वारा खरिद गरेका पोसाकप्रति प्रश्न उठेको छ । साथै महिला र पुरुषको लागि खरिद गरिएको सेटको राखेपले बिलमा उल्लेख गरेको रकमजति नपर्ने खुद खेलाडीले जानकारी गराएका छन् । यहाँ मिलेमतोमा ठूलो आर्थिक चलखेल भएको छ, वास्तवमा ती पोसाकहरू निकै कमसल छन्, बजारमूल्य त्योभन्दा पनि न्यून छ, यो पत्याउनै सकिँदैन । राखेपले टेन्डर गर्दा सेटको एकमुस्ट रकम तोकेको छ । सेटमा प्रदान गरिएका सामानको छुट्टाछुट्टै मूल्य राखेको छैन । यसरी कुन सामानको कति मूल्य प¥यो, त्यसको कुनै हिसाबकिताब छैन । यसको अर्थ पोसाक जस्तोसुकै स्तरहीन भए पनि मूल्यचाहिँ गुणस्तरीय राखेर मिलेमतो गरेको देखिन्छ ।

राखेपले १३औँ सागमा महिला, पुरुष खेलाडी, उच्चस्तरीय निर्देशन समिति, आयोजक समिति, कार्यसमिति र विषयगत समितिको लागि पोसाकको टेन्डर गरेको थियो । परिषद्ले महिला र पुरुष खेलाडीको पोसाकका लागि अधिकतम १० हजार पाँच सयको टेन्डर आह्वान गरे पनि सबैभन्दा बढी आठ हजार पाँच सय ७० रुपैयाँ परेको थियो । जसमा पुरुष खेलाडीतर्फ आठ हजार पाँच सय ७० र महिलातर्फ आठ हजार तीन सय २० रुपैयाँ अधिकतम परेको थियो । त्यस्तै, विषयगत समितिलाई सिलाइएको ब्लेजरको मात्रै पाँच हजार आठ सय ९६ रहेको छ ।

पुरुष खेलाडीको दौरा, सुरुवाल, ब्लेजर, जुत्ता, टोपी र मोनोग्रामको लागि चार सय ५७ र महिला खेलाडीको साडी, ब्लाउज, जुत्ता र मनोग्रामका लागि तीन सय २३ थानको अर्डर गरेको थियो । त्यस्तै विशेष समितिका लागि तीन सय ६ थान ब्लेजरको अर्डर गरेको थियो । यसरी १३औँ सागका लागि राखेपले खेलाडी र विभिन्न समितिका लागि कुल एक हजार ९६ थान देखिन्छ । त्यस्तै, अन्य प्रयोजन अर्थात् नेकपा पार्टीका कार्यकर्ता, नेता र मन्त्रीहरूका १५ थान दौरा, सुरुवाल, ब्लेजर, जुत्ता, टोपी र मनोग्रामको लागि बेग्लै व्यवस्था गरेको राखेप स्रोतबाट थाहा भएको छ ।

झ्वाट्ट हेर्दा यो मूल्य त्यति असामान्य लाग्दैन, सामान्य नै लाग्छ । यति त पर्छ नै होला जस्तो लाग्छ । सत्य कुरो के हो भने आठ हजार तीन सय ३० रुपैयाँमा ब्लेजरको कपडा त आउँदैन भने कसरी दौरा, सुरुवाल, ब्लेजर, जुत्ता, टोपी र मोनोग्राम आउँछ ? कुरोको चुरो यहाँ छ । किनकि बजारमा ब्लेजरको कपडा मिटरको सय रुपैयाँदेखि मिटरको एक लाख पर्ने पनि छन् । यस्तो अवस्थामा खेलाडीलाई प्रदान गरिएको त्यो ब्लेजरको कपडाको मूल्य कति हो त्यसबारे जानकारी हुन आवश्यक छ । तीन मिटर कपडाले ब्लेजर बन्छ, यो सबैलाई थाहा भएकै कुरा हो । यदि ब्लेयर सिलाउँदा प्रतिमिटरको मूल्य ३ सय पर्ने कपडा प्रयोग गरिन्छ भने सिलाइ जोड्नुहोस् ब्लेजर कति मूल्यमा तयार हुन्छ, सोझै अनुमान गर्न सकिन्छ । त्यस्तै, दौरा–सुरुवालको पनि कहानी हुन्छ, सबै मिलेमतोमा ‘सेट’मा फिक्स गरिन्छ ।

सामान्यतया जस्तोसुकै नाम चलेको टेलरिङमा राम्रै देखिने ठीकैखाले कपडामा ब्लेजर सिउँदा पनि ३५ सयभन्दा बढी पर्दैन । यहाँ त हजारौँ थान ब्लेजरको कुरा छ, एउटा ब्लेजर सिलाउँदा र हजारौँ सिलाउँदा त्यसको मूल्यमा आकाश–पातलको फरक हुन्छ । यहाँबाट मिलेमतो सुरु हुन्छ, किनकि पहिलो पक्षले डिमान्ड राखेपछि दोस्रो पक्ष व्यापारीले पनि आफ्नो मार्जिन राख्छ । अझ त्यसमा बिचौलिया छन् भने त अझ कुरो नै अर्को हुन्छ । व्यापारीको काम नै कमाउने हो, उसले जसरी पनि कमाउँछ । त्यसपछि उसले के गर्छ सायद भनिरहनु नपर्ला । मिटरको पाँच सय पर्ने कपडा राख्नुपर्नेमा एक सय, दुई सय पर्ने राखिदिन्छ । जसलाई नेपाली उखानमा ‘सर्प पनि मर्ने लौरो पनि नभाँचिने’ भन्दा फरक नपर्ला । १३औँ सागको पोसाक खरिदमा पनि यस्तै भएको छ, जहाँ देखाउने दाँत र खाने दाँत भिन्दाभिन्दै छन् । त्यो कुरा आमखेलाडी, प्रशिक्षक, पदाधिकारी र कर्मचारीले राम्रोसँग बुझेका छन् । भण्डारका कर्मचारी र पुरेन्द्र लाखेको त के कुरा ? उनीहरू यो मामलामा त ‘बिचरा’ नै हुन् । उनीहरूले सुको देख्न पाएका छैनन्, सबै सदस्यसचिवको एकद्वार प्रणालीबाट कुन–कुन द्वारमा पुगेको छ भोलि त्यसको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि थाहा होला ।

राखेपले पुरुष खेलाडीको पोसाकको सेटको मूल्य आठ हजार पाँच सय ७० रुपैयाँको बिल तयार गरेको छ । चार सय ५७ थानको होलसेलको मूल्यको चर्चा गर्दा यो सेटको सात हजार पाँच सयभन्दा बढी पर्ने देखिँदैन । यसरी एउटै सेटमा एक हजारका दरले अनियमितता गरे पनि चार सय ५७ थानमा चार लाख ५७ हजार हुन आउँछ । त्यस्तै, महिला खेलाडीको एक सेटको मूल्य पुरुष खेलाडीको तुलनामा पाँच सय ५० कम छ । तीन सय २३ थानका लागि राखेपले आठ हजार तीन सय २० रुपैयाँमा महिला सेटको बिल तयार गरेको छ । महिलाको साडी र जुत्ताको बजारको होलसेल मूल्यको चर्चा गर्दा सात सयभन्दा माथि पर्ने देखिँदैन । साडी र जुत्ता निकै कमसल भएको कुरा प्रयोगकर्ता थुप्रै खेलाडीले बताएका छन् । ‘हेर्नुहोस् न यही हो, स्विपरले लगाउनेजस्तो छ, एकपटक लगाएपछि अर्कोपटक लगाउन मिल्दैन, यस्तो पनि साडी हुन्छ ?’ एक खेलाडीले भनिन् । यसको मूल्य कति हो हामीलाई थाहा छैन, तर बजारमा किन्न गयो भने पाँच सयभन्दा बढी पर्दैन होला । यसरी बजार मूल्य, क्वान्टिनी र क्लालिटीको आधारका चर्चा गर्दा महिला सेटको कुल मूल्य ६ हजार आठ सयभन्दा बढी पर्ने देखिँदैन । यसरी महिलाको एउटै सेटमा मिलेमतोमा १५ सयको बढी बिल बनाएको देखिन्छ । जसलाई ३ सय २३ मा गुणा गर्दा लगभग ५ लाखबराबरको अनियमितता भएको देखिन्छ ।

त्यस्तै विषयगत समितिका लागि तयार गरिएका तीन सय ६ थान ब्लेजरमध्ये एक थानको राखेपले पाँच हजार आठ सय ९६ रुपैयाँको बिल तयार पारेको छ । एउटा ब्लेजरको सिलाइ खर्च र कपडाको स्तर हेर्दा पाँच हजारभन्दा माथि पर्ने देखिँदैन । यसरी यहाँ पनि सोझै एक हजारको घोटाला देखिन्छ र मिलेमतोमा तीन लाख ६ हजारभन्दा बढी बिल बनाएको स्पष्ट हुन्छ । यसबाहेक १५ वटा दौरा, सुरुवाल, कोट, जुत्ता र मोनोग्राम राखेपले बनाएको छ । त्यो विशेष रूपमा नेकपाका नेता, सदस्यसचिव र सरकारका मन्त्रीहरूका लागि अर्डर गरिएको बुझिएको छ । जसको मूल्य अन्यको तुलनामा निकै बढी भएको स्रोतले बताएको छ । सरकारी ढुकुटी रित्याउन र मन्त्रीहरूको चाकरी गर्न राखेपले कुनै कसर बाँकी नराखेको समाचार सञ्चारमाध्यममा आएपछि पछि केही मन्त्रीले उक्त पोसाक लिन अस्वीकार गरेका थिए । १३औँ सागको पहिलो विवादको काण्ड यही दौरा–सुरुवाल बनेको थियो ।