महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ : ट्रम्प

महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ : ट्रम्प


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका सशक्त रूपमा उभिने प्रतिबद्धता जनाएका छन् । भारत भ्रमणमा रहेका ट्रम्पले मंगलबार गान्धीको समाथिस्थल राजघाटमा पुगेर गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गान्धीको दृष्टिकोणप्रति अठोट व्यक्त गरेका हुन् ।

समाथिस्थलमा राखिएको आगन्तुक पुस्तिकामा उनले लेखेका छन्, ‘स्वायत्त र स्वतन्त्र भारतका लागि महात्मा गान्धीले खेल्नुभएको भूमिका र महात्मा गान्धीका अन्य दृष्टीकोणप्रति अमेरिकी जनता सशक्त रूपमा उभिन्छन्, यही नै तपाईंप्रति श्रद्धासुमन छ ।’

महात्मा गान्धीलाई श्रद्धाञ्जली दिन अमेरिकी प्रथम महिला तथा ट्रम्पपत्नी मेलानिया ट्रम्प पनि राजघाट गएकी थिइन् । त्यहाँ रहँदा उनीहरूले एक मिनेट मौन धारण गरेका थिए । सो अवसरमा उनीहरू लाई केन्द्रीय मन्त्री हरदीप सिंह पुरीले महात्मा गान्धीको अर्धकदको प्रतिमा उपहारस्वरूप प्रदान गरेका थिए ।

राजघाटमा राष्ट्रपति ट्रम्पदम्पतीले वृक्षरोपण पनि गरेका थिए । दुईदिने भ्रमणका लागि सोमबार भारत आएका ट्रम्पको टोली भ्रमणको पहिलो दिन गुजरातमा बनाइएको संसारकै सबैभन्दा ठूलो मानिने मोटेरा क्रिकेट रंगशाला र प्रेमको प्रतीक मानिने ताजमहल गएका थिए ।

रंगशालामा नमस्ते ट्रम्प नाम दिइएको भव्य कार्यक्रमको आयोजना गरिएको थियो र त्यहाँ दुवै नेताले सम्बोधन गरेका थिए । आफ्नो कार्यकालको अन्तिम वर्ष भारत भ्रमणमा आएका ट्रम्प मंगलबार राति स्वदेश फर्किने कार्यक्रम रहेको छ । ट्रम्पको भारत भ्रमणले भारत र अमेरिकाबीचको सम्बन्धमा सकारात्मक प्रभाव पर्ने विज्ञहरूले विश्वास व्यक्त गरेका छन् ।
रासस–एएनआई