मौसम सुधार हुन केही दिन लाग्छ : मौसम पूर्वानुमान महाशाखा

मौसम सुधार हुन केही दिन लाग्छ : मौसम पूर्वानुमान महाशाखा


पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै दुई–तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का वर्षा भइरहेको मौसमविद् राजु प्रधानांगले बताए । ‘अहिलेकोे प्रकृति हेर्दा अझै दुई–तीन दिन मौसम सुधार हुने अवस्था छैन,’ प्रधानांगले भने ।

उनका अनुसार प्रिमनसुनको मौसमको पूर्वावस्था भएकाले पनि यस्तो गतिविधि तथा मौसम फेरबदल भइरहेको हो । नेपालमा प्रिमनसुन भित्रिने सरदर समय मार्च १ हो । यसलाई हेर्दा अब प्रिमनसुन प्रवेश गर्न सात–आठ दिन बाँकी छ । अंग्रेजी महिना मार्चदेखि शुरु हुने प्रिमनसुन मे महिनासम्म रहने गर्छ । त्यस अवधिमा पहाडी भेगमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख हावाहुरी, मेघगर्जन र चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ ।

हाल न्यूनचापीय प्रणालीको प्रभावले पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ भने बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

राति देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्यभेगका केही स्थान र पश्चिमका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको राससले जनाएको छ । बिहीबार देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली भई हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।