दैलेख कारागारका महिला कैदीबन्दीमा मानसिक समस्या

दैलेख कारागारका महिला कैदीबन्दीमा मानसिक समस्या


जिल्ला कारागार दैलेखमा रहेका १२ कैदीबन्दी र एक थुनुवा महिलामध्ये नौ जनामा आत्तिने र दुई जनामा अवसाद (डिप्रेसन)को समस्या देखिएको छ । नेपाल प्रहरी अस्पतालका मानसिकरोग विशेषज्ञ डा. आशिष दत्तले उनीहरुमा यस्तो समस्या भएको बताउनुभयो ।

दैलेख जिल्ला कारागारमा बहुविवाहका लागि कैद सजाय भुक्तान गरिरहेका यी महिला मानसिक समस्यामा परेका छन् । कैद भुक्तान भइसकेपछि श्रीमानसँगै बस्न नपाउने, दोस्रो विवाहबाट जन्मिएका बच्चाले वैधानिकता नपाउने र समाजमा अपहेलित हुने डरले ती महिलामा मानसिक समस्या परेको हो ।

स्वास्थ्य सेवा कार्यालय दैलेखले गरेको कैदीबन्दी लक्षित मानसिक स्वास्थ्य परीक्षणमा बहुविवाहको मुद्दामा सजाय भोगिरहेका महिलामा बढी समस्या देखिएको हो ।

डा. दत्तका अनुसार कैदीबन्दीको मानसिक स्वास्थ्य परीक्षण, अपराध हुँदाको अवस्था र मुद्दा किनारा लागिसकेपछिको मानसिक अवस्था कस्तो छ भन्नेबारे तीन दिनसम्म चिकित्सकद्वारा कैदीबन्दीको अध्ययन गरिएको थियो । उहाँले बहुविवाहको मुद्दामा सजाय भोगिरहेका महिला कैदीबन्दीमा मानसिक समस्या देखिएको बताउनुभयो ।

‘कैद भुक्तान भइसकेपछि श्रीमानसँगै बस्न नपाउने, दोस्रो विवाहबाट जन्मिएका बच्चाले वैधानिकता नपाउने र समाजमा अपहेलित हुने डरका कारण ती महिलामा यस्तो समस्या देखिएको हो’, दत्तले भन्नुभयो ।

त्यसैगरी, लागुऔषध ओसारपसार तथा दुर्व्यसनी मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीमा आत्तिने समस्या देखिएकाले बिरामीलाई औषधि सेवन गर्न सुझाव दिइएको छ । मानसिक स्वास्थ्य कार्यक्रमअन्तर्गत कैदीबन्दीलाई लक्षित गरेर मानसिक स्वास्थ्य परीक्षण, परामर्श तथा औषधोपचार गरिएको दैलेख अस्पतालका डा निरञ्जन पन्तले जानकारी दिनुभयो ।

‘अब नियमितरूपमा परीक्षण गरिनेछ’, पन्तले भन्नुभयो । कैद भुक्तानपछि पनि समाजमा जाँदा गाउँ समाजबाट एक्लिने डर र चिन्ताले गर्दा बहुविवाह गरेका महिलामा मानसिक समस्या उत्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । असी पुरुष र २० महिला गरी १०० जनाको क्षमता रहेको जिल्ला कारागारमा कैदीबन्दी र थुनुवा गरी १४२ जना रहेका छन् । दुई नाबालक पनि आमाबाबुसँगै जेलजीवन बिताउन बाध्य छन् ।
rss