ट्रम्पले भने- ‘भारत र अमेरिकी नेतृत्व इन्डो-प्यासिफिक रणनीतिमा साझेदार’

ट्रम्पले भने- ‘भारत र अमेरिकी नेतृत्व इन्डो-प्यासिफिक रणनीतिमा साझेदार’


भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहमदावादको कार्यक्रम र आग्रास्थित ताजमहलको अवलोकनपछि सोमबार (२४ फेब्रुअरी) साँझ नयाँ दिल्ली पुगेका छन् । नयाँ दिल्लीमा उनलाई संघीय मन्त्री हरदीप सिंह पूरीले दिल्लीस्थित विमानस्थलमा उनको स्वागत गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया, छोरी इभान्का र ज्वाईँ जारेद कुश्नरसहितको अमेरिकी प्रतिनिधिमण्डल सोमबार दिल्लीस्थित सुविधासम्पन्न आइटीसी मौर्या होटेलमा आराम गर्नेछन् भने मङ्गलबार दिनभर विभिन्न छलफल तथा भेटघाटमा व्यस्त रहने एएनआईले जनाएको छ ।

मङ्गलबार ट्रम्पले दिल्लीस्थित हैदरावाद हाउसमा विभिन्न चरणमा रक्षा, व्यापारलगायत विषयमा छलफल गर्ने बताइएको छ । तर, पूर्वअपेक्षित व्यापार सम्झौता भने उनको भ्रमणका क्रममा हुने छैनन् ।

सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आउने अमेरिकी राष्ट्रपतिहरुको क्रममा ट्रम्प सातौँ राष्ट्रपति भएका छन् । यसअघि तत्कालीन राष्ट्रपति बाराक ओवामाले सन् २०१५ जनवरी २५–२७ मा तीन दिने भारत भ्रमण गरेका थिए । ओबामाले आफ्नो दुवै कार्यकालमा भारतको भ्रमण गरेका थिए ।

सोमबार भारतको अहमदावादस्थित एक विशाल कार्यक्रमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक विशाल सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

अहमदावादस्थित सरदार पटेल स्टेडियम (रंगशाला) मा आयोजित ‘नमस्ते ट्रम्प’ शीर्षकको कार्यक्रममा विश्वका दुई शक्तिशाली अर्थतन्त्रको नेतृत्व गरेका दुवै नेताले आफ्नो सम्वोधनमा एकअर्काको प्रशंसामा व्यापक समय खर्चिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको गुजरातमा भव्य सार्वजनिक स्वागत गरियो भने विमानस्थलमा उनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कसिलो अङ्कमाल गरेर स्वागत गरेका थिए । दुई नेताबीच पटक–पटक अङ्कमाल गरी विशेष निकट सम्बन्धको सन्देश दिइएको थियो । महात्मा गान्धीले १३ वर्ष बिताएका सावरमती आश्रमको अवलोकन भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पलाई साथ दिएका थिए ।।

राष्ट्रपति ट्रम्पको भ्रमण संसारका दुई सबैभन्दा ठूला प्रजातान्त्रिक देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउनमा केन्द्रित हुने बताइएको छ । ट्रम्पलाई स्वागत गर्न गुजरातमा हजारौँ मानिसहरू सडकका दायाँबायाँ उभिएका दृश्य देखिएको थियो ।

प्रधानमन्त्री मोदीले ट्रम्प र उनकी पत्नी मेलानियाको मन खोलेर प्रशंसा गरेका थिए । राष्ट्रपति ट्रम्पको भ्रमणले दुई देशको मित्रतालाई विशेष उचाइमा पुर्याएको बताएका थिए ।

ट्रम्पले पनि भारतीय हिन्दुवादी नेता तथा प्रधानमन्त्री मोदीको प्रशंसा गरेका थिए । भारत र अमेरिकाको नेतृत्व इन्डो–प्यासिफिक रणनीतिमा साझेदारीका साथै विश्व अर्थतन्त्र विकासका लागि महत्वपूर्ण रहने भनाइ ट्रम्पको थियो । उनले भने– ‘हामीले इन्डो–प्यासिफिक कार्यक्रममार्फत विश्वकै प्रगतिमा योगदान गर्नसक्छौं ।’