नेम्वाङ र देवकोटाबाटै कार्यदलको अवज्ञा

नेम्वाङ र देवकोटाबाटै कार्यदलको अवज्ञा


संविधान संशोधन गर्न भनेर अध्ययनका लागि नेकपाले गठन गरिएको भनिएको कार्यदलमा बस्न नेकपाकै नेताले अस्वीकार गरेका छन् ।

वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने उद्देश्यसहित राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधनका लागि पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा गठन गरिएको भनिएको कार्यदलमा बस्न नेकपाका नेता सुवास नेम्वाङ र खिमलाल देवकोटाले अस्वीकार गरेका हुन् ।

नेकपा सचिवालय बैठकले संविधान संशोधन गर्न भनेर वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको विषय सार्वजनिक भएको थियो । तर, उक्त कार्यदल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छाविपरीत गौतम र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा गठन गरिएको बुझिएको छ ।

औपचारिक रूपमा कार्यदल गठन भएको नेकपाका नेताहरूले नै अस्वीकार गर्दै आए पनि संयोजक तोकिएका नेपालले सोमबार आफ्नै घरमा कार्यदलको बैठक बोलाएपछि नेम्वाङ र देवकोटाले आफूहरू कार्यदलमा बस्न नसक्ने बताएका हुन् ।

प्रत्यक्षतर्फको चुनावमा पराजित भएका गौतमले आफू प्रधानमन्त्री बन्ने सुनिश्चित भएपछि मात्रै राष्ट्रिय सभामा जान तयार रहेको बताउँदै आएका छन् । गौतमको सोही चाहना पूरा गर्न उनकै चाहनाअनुसार राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधनका लागि अध्ययन गर्न कार्यदल बनाएको बुझिएको छ । राष्ट्रिय सभा सदस्य बन्न इन्कार गर्दै आएका गौतम यदि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन भए राष्ट्रिय सभा सदस्य बन्न तयार छन् ।

यदि सबैतिरबाट गौतम प्रधानमन्त्री बन्ने तारतम्य मिलेमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्यमा उनलाई नेकपाको तर्फबाट मनोनीत गर्ने तयारी छ । हाल अर्थमन्त्री रहेका डा. युवराज खतिवडाको पदावधि सकिन लागेकोले सोही स्थानमा नेकपाले गौतमलाई राष्ट्रिय सदस्य बन्न प्रस्ताव गरेको हो ।