प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन खोज्ने ६ जना विद्यार्थी पक्राउ

प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन खोज्ने ६ जना विद्यार्थी पक्राउ


पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउन खोज्ने ६ जना विद्यार्थी पक्राउ परेका छन् ।

प्रदेशस्तरीय कार्यकर्ता भेला र कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि सोमबार दिउँसो प्रधानमन्त्री ओली पोखरा गएका बेला समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थीले पोखरा सभागृहमा प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी गरिरहेका बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा समाजवादी विद्यार्थीका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटालगायत ६ जना रहेको बताइएको छ । उनीहरूले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरण, यती होल्डिङ्सलाई सार्वजनिक जग्गा उपलब्ध गराएको, नेकपा सरकार भ्रष्टाचारमा लिप्त भएकोलगायतका आरोप लगाउँदै नाराबाजी गरेका थिए ।

पोखरा सभागृहमा सोमबार र मंगलबार प्रशिक्षण र बैठक बस्दै छ । प्रशिक्षणमा करिब १६ सय सहभागी हुँदै छन् ।