मिथिला परिक्रमा शुरु, पन्ध्र दिनसम्म धार्मिक यात्रा

विश्वकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा आज (११ फागुन) देखि विधिवत् शुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ । एक सय ३३ किलोमिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो सङ्ख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुको सहभागिता रहने गरेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत् रुपमा शुरु भएको हो ।



फागुन कृष्णपक्षको औंसीमा धनुषाको ठेरा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा शुरु भएको हो । आज राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालु सोमबार बिहान पूजापाठ गरी भारतको विहार राज्यस्थित कल्याणेश्वरका लागि प्रस्थान गर्नेछन् । फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिलाविहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत् रुपमा शुरुआत् हुने परम्परा रहेको महन्थ नवल बाबाले बताए ।

महाशिवरात्रिलगत्तै शुरु भएको मिथिलाको सर्वाधिक लोकप्रिय १५ दिने माध्यमिक परिक्रमाका कारण मिथिलाञ्चलमा यसपालाको फागुन महिना उल्लास एवं भक्तिमय हुने भएको छ । धार्मिक झाँकी, भजनकीर्तनसहित परिक्रमाको डोला आइतबार जनकपुरबाट शुरु भई सीमावर्ती भारतीय गाउँ कलानेश्वर महादेव स्थान पुग्नेछ ।

परिक्रमामा सहभागीहरु क्रमशः फुलहरको गिर्जास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर मडै धु्रवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विसौल हुँदै पुनः कलानेश्वर र फागुन पूर्णिमाका दिन जनकपुर फर्कनेछ । मिथिलाविहारीको नेतृत्वमा पारम्पारिक रुपले आयोजना हुँदै आएको यो परिक्रमामा हजारौँ सहभागिता रहने यस धार्मिक यात्रालाई व्यावसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।

परिक्रमामा सहभागीका लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले सहभागीको सुविधाका लागि पन्ध्रवटै विश्रामस्थलमा बिजुली, खानेपानी लगायतको व्यवस्था मिलाएको छ । परिक्रमावासी राति गाउँभन्दा टाढा खुला चौर, बगैँचा वा पोखरीको डिलमा विश्राम गर्छन् । स्थानीय बासिन्दाले पनि सहभागीका लागि अन्न, दाउरा तथा परिक्रमामा सहभागी गोरुका लागि परालसमेत उपलब्ध गराउने गर्दछन् । सहभागी दिनभरि यात्रा गर्छन् र भजनकीर्तन तथा सत्सङ्ग गरेर रात बिताउँछन् ।

नेपाल–भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालको धनुषा र महोत्तरीका १३ तथा भारतका दुई गरी १५ विश्रामस्थल छन् । मिथिला महात्मयमा यी विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनमा अटुट आस्था रहेको पाइन्छ ।

मिथिला महात्म्यअनुसार १८औँ शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालको १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर भूमिका पैदलयात्रा तय गर्ने परम्परा रहेको छ । परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभङ्गहा, सीतामढी, बैजनाथधामका साधुहरु उल्लेख्य रुपमा सहभागिता हुने गर्दछ ।

परिक्रमामा सहभागी हुनाले मन वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको कुरा पण्डित लालबाबु झाले बताए । राससले जनाएअनुसार प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापना भएका चार शिवालय कलानेश्वर जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ । गृहस्थाश्रमदेखि साधुसन्तसम्मको विशाल सहभागिता रहेको यस यात्राका सबै सहभागीलाई यसको महत्वबारे जानकारी नभए पनि उनीहरु उत्साहका साथ यस पर्वमा सहभागी हुने गर्दछन् ।

मिथिला महात्म्यमा माध्यमिकी परिक्रमा गर्न नसक्नेले छोटो दूरीको अन्तःगृह परिक्रमा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । अन्तःगृह परिक्रमाको सीमा क्षेत्र जनकपुर नगरपालिकाभित्र पर्दछ । मिथिला महात्म्यमा हरिहर क्षेत्रबाट प्रारम्भ भई गण्डकी नदीको किनार हुँदै हिमालय क्षेत्र, कोशी नदी भएर पुनः हरिहर क्षेत्रमा समापन हुने बृहत् परिक्रमाको चर्चा गरिएको छ ।

भारतको पटनास्थित गङ्गा नदीको तटमा हरिहर क्षेत्र अवस्थित छ । तर यो परिक्रमा अचेल सधुसन्तको सीमित सङ्ख्याले मात्र गर्ने गरेका जानकी मन्दिर जनकपुरका महन्थ तपेश्वर दासले बताउनुभयो । बृहत् माध्यमिकी र अन्तःगृह परिक्रमा मङ्सिर, माघ, फागुन र वैशाख महिनामा गर्न सक्ने वैदिक मान्यता भए पनि ती परिक्रमा फागुन महिनामै हुने परम्परा रहेको महन्थ दासले बताउनुभयो ।

केही दशकयता माध्यमिकी परिक्रमाको क्षेत्र र अवधि विस्तारित भए पनि जनकपुरस्थित रत्नसागर स्थानका स्व महन्त बाबा नारायण दासजीले करीब डेढ सय वर्षपूर्व समयदेखि दुई सयसम्म साधुसन्तलाई लिएर वनजङ्गलको बाटो भएर माध्यमिकी परिक्रमालाई मिथिला महात्म्यको निर्देशअनुसार प्रारम्भ गर्नुभएको बताइन्छ । त्यसलाई करीब पचास वर्षपछि स्थानीय सीताकुण्डका महन्त परमहंश सियालाल शरणले पाँच सय साधुसहित बाजागाजासहित परिक्रमा गरेका थिए ।

पाँच सयको सानो सङ्ख्यालाई बढाएर २० हजार पुऱ्याई परिक्रमाको महत्व बढाउने तथा वैष्णव सम्प्रदायको प्रवद्र्धनमा महन्त परमहंशको उल्लेखनीय योगदान रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताउनुभयो । माध्यमिकी परिक्रमामा करीब साठी वर्षअघिदेखि मिथिला महात्म्यको कथा वाचन गर्ने मुख्य पण्डित रामदुलारी शरणजी महाराजले सत्तरी वर्षसम्म उक्त भूमिका निर्वाह गरेर सो परिक्रमाको धार्मिकी करण गर्नुभयो । उहाँको निधनपछि मिथिला महात्म्यको कथा वाचन गर्ने काम उहाँका शिष्य सियाराघव शरणले गरिरहनुभएको छ ।

मिथिलाञ्चालको सांस्कृतिक धरोहरका रुपमा रहेको परिक्रमा यात्रीले प्रयोग गर्ने सडकमार्गको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् जनकपुर तथा सडक डिभिजन कार्यालय मुजेलियाले परिक्रमा सडक भनेर निर्माण कार्य थालेका छन् । पहिलो चरणको निर्माण कार्यअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको पकडियादेखि महोत्तरीको हरिहरपुर हरिणमरीसम्म कालोपत्र सडक निर्माण भइसकेको छ ।

परिक्रमा यात्रीका लागि बाटोमा पर्ने विभिन्न स्थानमा पानी, सर्वत, नास्ता, औषधि आदिको व्यवस्था गरिएको हुन्छ । परिक्रमामा सहभागी हजारौँ यात्रु र सो अवसरमा डोला विश्राम गर्ने मेलामा सहभागी लाखौँ श्रद्धालु भक्तजनको भीडलाई व्यवस्थित तथा नियन्त्रण गर्न सरकारीलगायत गैरसरकारी क्षेत्रका संस्था प्रयासरत रहेका छन् ।

pict: rss

प्रतिक्रिया