जगन्नाथ मन्दिरमा एक वर्ष हवन र निःशुल्क भोजन

जगन्नाथ मन्दिरमा एक वर्ष हवन र निःशुल्क भोजन


धार्मिक तथा ऐतिहासिक महत्व एवं प्रचुर मात्रामा पर्यटनको सम्भावना बोकेको प्रसिद्ध जगन्नाथ मन्दिर परिसरमा बूढानीलकण्ठ नगरपालिका–८ हात्तीगौंडामा ३६५ दिनसम्म हवन र निःशुल्क भोजन खुवाउने (भण्डारा) कार्यक्रम सुरु भएको छ । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न एक कार्यक्रममा उक्त जानकारी दिइएको थियो ।

जगन्नाथ क्षेत्र संरक्षण समितिका अध्यक्ष रविन अधिकारीको अध्यक्षतामा मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा श्री १००८ जगद्गुरु हिमालय बाबाजी (यतिराज उपाध्याय)लाई प्रमुख संरक्षकको रूपमा नियुक्तसमेत गरिएको छ । कार्यक्रममा महन्त–पीठाधीपति एवं जगन्नाथ मन्दिरका प्रमुख संरक्षक जगद्गुरु हिमालय बाबाले पनि सम्बोधन गरेका थिए ।

उक्त अवसरमा जगद्गुरुले भने, ‘हामी यस धर्तीका पाहुना हौँ, यस पवित्र धर्ती अस्थायी घर हो, त्यसैले यहाँ रहुन्जेलसम्म धर्मकर्मकै माध्यमबाट दीनदुःखीलाई सहयोग गर्नु मानवजातिको कर्तव्य हुन्छ ।’ उनले विश्वका ३३ कोटी देवतामध्ये २२ करोड देवता नेपालको भूमिमा रहेकोले नेपाल धार्मिक दृष्टिकोणले ज्यादै उत्कृष्ट एवं दैविक शक्तिको लागि अनुपम उपहार भएको बताए ।

हामी यस धर्तीका पाहुना हौँ, यस पवित्र धर्ती अस्थायी घर हो, त्यसैले यहाँ रहुन्जेलसम्म धर्मकर्मकै माध्यमबाट दीनदुःखीलाई सहयोग गर्नु मानवजातिको कर्तव्य हो ।

जगन्नाथ मन्दिरको जीर्णोद्वार गरी प्राण स्थापनाका लागि शनिबार विशेष पूजा र हवनसमेत गरिएको थियो । कार्यक्रममा समाजसेवी श्यामप्रसाद पाण्डेयले धार्मिक पर्यटकका रूपमा यस क्षेत्रलाई चिनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख एवं प्रमुख अतिथि खरेलले बूढानीलकण्ठ नगरपालिकालाई देशकै नमूना नगरपालिकाको रूपमा विकास गर्न लागिपरेको बताए । उनले नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरकारी जग्गालाई प्रयोग ल्याई विकासका पूर्वाधारहरू थप्दै लैजाने कार्यक्रमअनुसार जगन्नाथ मन्दिरमा पछिल्लो समय विभिन्न पूर्वाधारहरू निर्माण गरिने बताए । उनले मन्दिरका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न नगरपालिका तयार भएको बताए ।

मन्दिर परिसरमा महिला पुरुषको छुट्टाछुट्टै कोठासहितको शौचालय निर्माण गर्नुका साथै मन्दिर जानका लागि प्रवेशद्वार, सुरक्षा गर्न मन्दिरवरिपरि घेराबार तथा हराभरा बनाउन विविध प्रकारका बिरुवाहरू रोपिएको जगन्नाथ मन्दिर क्षेत्र संरक्षण समितिका अध्यक्ष रविन अधिकारीले बताए ।

धार्मिक मठमन्दिरको संरक्षण गरी पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित जगन्नाथ मन्दिरसहित पर्यटन कार्यक्रम लागू गरिएको अध्यक्ष अधिकारीले बताए । जगन्नाथ मन्दिर दर्शनका लागि आउने भक्तजन तथा दर्शनार्थीलाई लक्षित गर्दै भौतिक पूर्वाधारमा जोड दिइएको उनको भनाइ थियो ।

प्रा.डा. रामप्रसाद उप्रेतीले स्वागत मन्तव्य राखेको कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष सुमन तामाङ, समाजसेजी पदम पाण्डेलगायतले बोलेका थिए । कार्यक्रममा सहभागी भक्तालुहरूले भण्डारा प्रयोजनका लागि चामल, दाल, तेल, चिनी, नुनलगायत विभिन्न सामग्रीको सहयोगका साथ दानहरूको घोषणा गरेका थिए । कार्यक्रममा रेशम सापकोटासहितको टोलीले विभिन्न धार्मिक भजनहरू प्रस्तुत गरेर मनोरञ्जनसमेत प्रदान गरेको थियो ।