प्रधानमन्त्री ओलीको पुस्तक : ‘भिजन टु एक्सन’ सार्वजनिक

प्रधानमन्त्री ओलीको पुस्तक : ‘भिजन टु एक्सन’ सार्वजनिक


मुलुकको समृद्धिको योजना र आफ्नो अनुभव समेटिएको प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार (१० फागुन) आयोजित विशेष समारोहमा उहाँको ६९औँ जन्मोत्सवको अवसर पारेर राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दीपुरुष सत्यमोहन जोशीले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभयो ।

प्रधानमन्त्री ओली आइतबार ७० वर्ष टेक्दै हुनुहुन्छ । उक्त समारोहमा ९० वर्षीय उहाँका पिता मोहनप्रसाद ओलीले ६९औँ जन्मोत्सवको अवसरमा मञ्चमा राखिएको पुस्तकको आवरण खोलेर प्रधानमन्त्री ओलीलाई शुभकामना दिनुभयो । प्रधानमन्त्री ओलीले अङ्ग्रेजी भाषामा लेख्नुभएको पुस्तकलाई ‘कल्पना र कर्म’, ‘मित्रता र कूटनीति’, ‘व्यापार र लगानी’ तथा ‘काम र श्रम’ गरी चार भागमा विभाजन गर्नुभएको छ ।

आन्तरिक र विदेशी नीतिका बारेमा विभिन्न ठाउँमा दिइएको भाषण, अभिव्यक्ति र अन्तर्वार्ताका विषयवस्तु पुस्तकमा समेटिएको छ । देशलाई गोलबद्ध बनाएर अघि बढाउने प्रधानमन्त्री ओलीको गहिरो सदीक्षा पुस्तकमा प्रकट छ । प्रधानमन्त्री ओलीले मुलुक सञ्चालनका दौरान प्राप्त गर्नुभएको सीप, अनुभव, मुलुकलाई बदल्न अघि सार्नुभएको दृष्टिकोण र त्यसको कार्यान्वयनका विषय पुस्तकमा समेट्नुभएको छ ।

पुस्तक सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राकृतिक हिसाबले सुन्दर र उर्वर भूमिमा अव्यवस्थाका कारणले मानिसले खान, लगाउन र बस्ने ठाउँ नपाएको उल्लेख गर्दै वितरणमा समुचित व्यवस्था गर्न नसक्दा समस्या आएको बताउनुभयो । उहाँले मुलुकलाई २१औँ शताब्दीजस्तो बनाएर अघि बढाउने उद्देश्यका साथ सरकार लागेको बताउँदै भन्नुभयो, ‘अटोक्रेसी टु डेमोेक्रेसी त आइहाल्यो, अबको गन्तव्य पोभर्टी टु पस्पेरिटी हो ।’

उक्त पुस्तकमा अबको नेपाललाई कसरी अगाडि बढाउने भनेर विभिन्न ढङ्गले आफ्नो दृष्टिकोण प्रस्तुत गरेको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो । मेट्नै नसकिने खालको मुलुकको विकासको सम्भावनाहरु अथाह रहेको बताउँदै प्रधानमन्त्री ओलीले स्वस्थ प्रतिष्पर्धाका साथ अघि बढ्दा सफलता प्राप्त हुन्छ भन्नुभयो । उहाँले हिमाल, पहाड र तराईमा विविधतायुक्त, समृद्ध र उर्वर प्रकृति रहेको उल्लेख गर्दै विकासका लागि त्यसको खास अर्थ रहेको बताउनुभयो ।

नेपाललाई ढुङ्गा, काठ, माटो, दाउरा, बाँस, पराल सबै प्रकृतिले दिए पनि उचित व्यवस्थापनको अभावमा घर बन्न नसकेको सन्दर्भ जोड्दै उहाँले केही वर्षभित्रमै मुलुक आवासविहीनताको अन्त्य हुने उद्घोष गर्नुभयो । प्रधानमन्त्री ओलीले देश गरीब भए पनि भोमकमरी नभएको जिकिर लिँदै भन्नुभयो, “कोही भोको पर्दैन, कोही भोकै मर्दैन, सरकारले जिम्मा लिन्छ ।” उहाँले धेरै ठूलाठूला कुरा गर्नुभन्दा पहिले त्यसको व्यवस्था गर्नुपर्छ भनेर सरकारले काम थालिसकेको प्रधानमन्त्रीले जानकारी दिनुभयो । सरकारले सडक बालबालिका, सडकमानव र सडकमा पछारिएका बेहाल मान्छे रहने अवस्थाको अन्त्य गरेको समेत बताउनुभयो ।

समृद्धिको यात्रामा अघि बढेको मुलुकमा विगतको सुस्ततालाई चिर्दै अहिले हरेक दिन छ किलोमिटर सडक बनिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘दुई वर्षमा साढे तीन सय पुल बनेको छ, तुइन विस्थापित भएको छ, ऊर्जा उत्पादनमा असाधारण वृद्धि भएको छ, सञ्चिति र बचतमा वृद्धि भएको छ, व्यापार असन्तुलन अलिकति भए पनि न्यून गरेका छौँ ।’ प्रधानमन्त्री ओलीले व्यापार सन्तुलनमा लैजान उत्पादन र उत्पादकत्व बढाउँदै उपभोगको ढाँचा प्रवृत्ति र तरिकालाई फेर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ‘केमिकल’ स्वाद भएका वस्तुहरु आयात गरेर स्वास्थ्य र अर्थतन्त्र बिगार्ने काम भइरहेकाले आनीबानी बदल्नुपर्ने सुझाव दिनुभयो ।

सार्वसौमसत्ता र जनता निर्णयक भएको वास्तविक लोकतान्त्रिक प्रणालीको थालनी गरिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले ढङ्ग पुऱ्याइएन भने मुलुक सार्वभौम भए पनि समस्या यथावत रहेन बताउनुभयो । उहाँले प्राकृतिक स्रोत साधनलाई समुचित ढङ्गले उपयोग गर्न सक्ने गरी शिक्षा र तालिमको आवश्यकता महसुस गर्नुभयो । प्राकृतिक स्रोतभित्रको असाधारण सम्भावनालाई समुचित प्रयोग गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।

अन्य देशमा पानी, माटो र श्रम शक्तिको सन्तुलनमा समस्या रहेको तर नेपालमा यथेष्ट जमिन, पानी, खनिज र काम गर्ने जनशक्ति भएकाले मुलुकले विकास गर्ने सामर्थ्य राख्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि भिजन र कार्यान्वयन गर्ने प्रतिबद्धताको खाँचो रहेको औँल्याउनुभयो । उहाँले मुलुकको यो अवस्थितिलाई नकारात्मक ढङ्गले बुझेर त्यसैलाई दोष लगाउनु गलत हो भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सन्तुलित, प्रभावकारी र उचित प्रकारको छिमेक र वैदेशिक सम्बन्ध विकास गर्दै भिन्दाभिन्दै राजनीतिक, आर्थिक र सामाजिक प्रवृत्ति बोकेको छिमेकीसँग सन्तुलन कायम गर्नुपर्ने आवश्यकता औँल्याउँदै भन्नुभयो, ‘हामी दुई ठुला ढुङ्गा बीचमा छौँ भने फैलिन नपाउने होला, यसैमा समृद्धि हासिल गर्न सक्छौँ ।’ सूर्य, चन्द्रमा, पृथ्वीसमेत सन्तुलनमा घुमिरहेको उदाहरण प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले दुनियाँ नै सन्तुलनमा चलेको अवस्थामा नेपालले दुई छिमेकीसँग सन्तुलन मिलाउन नसक्ने भन्ने कुरै नहुने बताउनुभयो । पारस्परिक लाभ र पारस्परिक मागका आधारमा अघि बढ्नुपर्नेमा उहाँको जोड थियो ।

सरकारले मुलुकलाई अधुनिक विकासमा केन्द्रित गरेको प्रधानमन्त्रीले जानकारी दिनुभयो । नेपालका सहयोगी शुभेच्छुकहरु धेरै रहेको र दुनियाँमा लगानी कहाँ गरौँ भन्ने लगानीकर्तासमेत रहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई सरकारले अनुकूल वातावरण मिलाउँदै लगेको बताउनुभयो ।

आयातकर्ताभन्दा पनि निर्यातकर्ता देशको रुपमा रुपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै कृषि उपजलाई आधुनिकीकरण गरी जैविक कृषि प्रणालीको विकास गर्न सके नेपाल दुनियाँकै आकर्षणको देश बन्ने प्रधानमन्त्रीको दाबी छ । अहिलेको सरकार गन्तव्यमा पुग्न हिसाब गरेरै अघि बढेको उहाँले बताउनुभयो । “ढुङ्गा टिपेर फाल्दा जहाँ खस्छ त्यहाँ निशाना हो भन्नुभन्दा पनि अहिलेको सरकार पहिले निशाना तय गरेर त्यस निशानामा पुग्ने बाटो तय गर्दै अघि बढेको छ”, प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानतासहितको समृद्धिमा जाने मुलुकको चाहना रहेको प्रष्ट्याउँदै आफ्नो पुस्तकमा ती कुरालाई समावेश गरिएको जानकारी दिनुभयो ।

पुस्तकको टिप्पणीका क्रममा कूटनीतिज्ञ शम्भुराम सिङ्खडाले प्रधानमन्त्री ओलीलाई रङ्गीन, मौलिक र आफ्नो कुरालाई प्रस्तुत गर्नसक्ने शक्तिशाली व्यक्तिको सङ्ज्ञा दिँदै उहाँको पुस्तकमा संयुक्त राष्ट्रसङ्घ, भारत, चीनलगायत नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, व्यापार, लगानी, व्यापारघाटा र त्यसलाई पूर्ति गर्न आवश्यक पर्ने सुधारको बारेमा उल्लेख भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सयौँ वार्षिकोत्सवमा सम्बोधन गर्नुभएको र सरकारले अघि सारेको सामाजिक सुरक्षाको विषय पनि पुस्तकमा समावेश छ । पुस्तकमा उहाँले समन्यायिक र सामाजिक विकासको परिकल्पना समेट्नुभएको छ । सन् २०३० सम्ममा मुलुकलाई विकासको नयाँ स्थानमा पुऱ्याउने लक्ष्य किताबको ठाउँठाउँमा व्यक्त भएको सिङ्खडाले बताउनुभयो । ‘वैचारिक धरातल, नीतिगत दृष्टिकोण र कामको फेहरिस्त पुस्तकको रुमपा आएको छ, अब वुद्धिजीवी भन्नेहरुले त्यसको चिरफार गरेर कि सकारात्मक दृष्टिकोण दिनुपऱ्यो कि आलोचना गर्न छाड्नुपऱ्यो’, सिङ्खडाले भन्नुभयो । उहाँले सबैभन्दा महत्वपूर्ण शक्तिशाली संयन्त्र र त्यसको सवलीकरण तथा प्रभावकारी विकासबिना समाजको रुपान्तरण सम्भव नभएकाले त्यस संयन्त्रको नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको बताउनुभयो ।

आफ्नो र मौलिक किसिमको परिवर्तनको प्रक्रियामा रहेको नेपाललाई वैचारिक चिन्तनको गहिराइका लागि प्रधानमन्त्री ओलीले वौद्धिक विष्लेषण र सार्वजनिक बहसलाई पुस्तकमार्फत खुला गर्नुभएको सिङ्खडाको भनाइ थियो । ‘सबै कुरा बिग्रियो, भत्कियो भन्ने मनस्थितिबाट माथि उठेर आशा र विश्वासको वातावरण सिर्जना गर्नुपर्छ’, पुस्तकको टिप्पणीको अन्त्यमा सिङ्खडाले भन्नुभयो, ‘किताबको सबैभन्दा ठूलो पक्ष भनेको आशा र विश्वासका लागि सबैभन्दा आवश्यक कुरा हाम्रो चिन्तन, सोच र काम हो ।’

अर्का टिप्पणीकार डा. विन्दु लोहनीले सीप, स्तर र नैतिकतामा आधारित अर्थतन्त्र बनाउने प्रधानमन्त्रीको सोच किताबमा झल्किएको बताउनुभयो । नेपालका धेरै विकासका कामको अभिभारा प्रधानमन्त्री ओलीले सफलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै उहाँले पुस्तकका विषयवस्तुमा पूर्ण सहमति जनाउनुभयो ।

उहाँले अहिले मुलुकको आर्थिक अवस्था उकास्ने समयमा ठूला कार्ययोजना कार्यान्वयनमा लैजानुपर्छ भन्नुभयो । सुशासनमा भ्रष्ट व्यक्ति पार्टीमा रहन सक्दैन भन्ने प्रधानमन्त्रीको कुराले आफूलाई छोएको उल्लेख गर्दै लोहनीले थप्नुभयो, ‘पहिलोमा भ्रष्टाचार विकासको शत्रु हो, विकासका लागि भने दोस्रो कानूनको शासन, तेस्रो आर्थिकवृद्धि, चौथो संस्थागत संरचना र पाँचौँ शिक्षा र प्रविधिलाई प्रधानमन्त्रीले आफ्नो पुस्तकमा जोड दिनुभएको छ ।’

पुस्तक प्रकाशन संस्था रत्नपुस्तक भण्डारका सञ्चालक गोविन्दप्रसाद श्रेष्ठले पुस्तकको असर पुस्तक र पाठकका बीचको सम्बन्धमा मात्र सीमित नभई यस दृष्टिकोणमा आधार भएर मुलुक सञ्चालन भइरहेको छ भन्ने अभिव्यक्ति छ भन्नुभयो । उहाँले पुस्तक देख्न र पढ्नका लागि मात्रै नभई मुलुक र जनताको जीवनमा परिवर्तनका लागि महत्वपूर्ण रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो दृष्टिकोण मुलुकको हितका लागि पुस्तकमार्फत अघि सारेको श्रेष्ठले बताउनुभयो ।

pict: rss