पानीको घिउ

■ रामेश्वर राउत ‘मातृदास’



आकाश गड्गडाइरहेकाले
पृथ्वी हड्बडाइरहेकी छिन्
यो सौम्य/शान्त महानताको जुनी
पानी खान दिँदा इनार र पँधेरै हडप्ने
यी निष्पट्ट अन्धकार अन्यायीहरूलाई देखेर
घाम–बादलभित्र लुक्न खोज्छन्
पानी–पृथ्वीकै गर्भगृहमा अलप हुन चाहन्छिन्
अग्नि–धुवाँको पछ्यौरा ओडेर
आख छोपेर धरधरी रुन्छन्
वायु–आफ्नै वेगमा बेपत्ता हुन खोज्छन् बस्तीबाट
यो सौभाग्यको अन्योलग्रस्त महासागरमा
उन्मत्तिएर पात्तिएका पागलहरूको माझमा बसेर
कस्तो कविता लेखुँ म ?
म कुन रसको गीत गाऊँ यहाँ ? ।।१।।

सम्झनुहोस्–एकनिमेष कल्पनुहोस् धड्कन रोकेर,
कथम्कदाचित दिक्क मानेर आकाश नै बेपत्ता भए भने
घाम–कहाँ झुल्केलान् ?
जून– केमा समातेर उदाउलिन् ?
वायु वेगवान बेपत्ता भए भने,
यी दम्भैदम्भका विषाक्त काँडाहरू
आफ्नो भ्रम र मूर्खतापूर्ण दम्भ कहाँ लगेर टेको लगाउलान् ?
र, पानी विरक्तिएर पृथ्वीकै गर्भगृहमा बेपत्ता भइन् भने,
यी आततायीहरूको घैँटो के खरानीको थुप्रोमा रसाउला ? ।।२।।

कसैलाई हाँसेर बाँचेको र मिलेर बसेको देख्न नचाहने
एऽ दम्भात्मक घमण्डी तुवाँलो हो !
के आकाश–तिमीहरूको पौरखले पाँजिएको हो ?
यो धरती–के तिमीहरूकै मात्र एकलौटी बिर्ता र बपौती हो ?
आगो–कसको शक्ति, सामथ्र्य र शोध–साधनाले आविष्कार भयो ?
अरूको जन्मजात सार्वभौम अधिकारमाथि
अनाधिकार ईष्र्याको अरिँगाल खनिन शरम नमान्ने
एऽ दुष्टात्मक आततायी अत्याचारी ड्रोन हो !
के आफ्नै शक्ति र सामर्थ्यले,
तिमीहरू बेग्लै आकाश र छुट्टै धरती रचना गर्न सक्छौ ? ।।३।।

यी जगमा पसेका मुसाहरू
हरेक युगलाई उडेको पन्छी–झरेको प्वाँख बनाउन तल्लीन छन्
आफैँ बोलिरहेका छन् निर्दोष फूलहरू
मनका कथा–मनमै राखेर
छुटेका कविता अविरल खोजिरहेका छन् सर्वत्र
मनको मलम–मन बुझाउने गीत गाएर
अन्धकारमा कुथुर्किरहेका छन् कठै निर्दोष जून !
मूल बाटो पहिल्याएर आऊ
म त रुन्न भनेर दृढतापूर्वक अग्लिरहेका छन् अदम्य हिमालहरू
ढुङ्गाको बिउ/पानीको घिउ
घामको घर/जूनको छानो ओढेर
सत्य–धर्म–न्याय र विवेकको बाँसुरी बजाइरहेको छ समय
बागमतीको वेदना/हाम्रो राम्रो फूलबारी
वैदिक साम्यवाद–हराएको हीरा
अदम्य अविनाशी छ पृथ्वीको सङ्कल्प !

– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती

प्रतिक्रिया