‘प्रथम गोर्खा ट्रेलब्लेजर’ आयोजनाको तयारी

‘प्रथम गोर्खा ट्रेलब्लेजर’ आयोजनाको तयारी


■ मनिता चाम्लिङ, धरान

दोश्रो पुर्खा दिवसको उपलक्ष्यमा धरानमा ‘प्रथम गोर्खा ट्रेलब्लेजर’को आयोजना हुने भएको छ । गोर्खा सिमिष्ट्रिज ट्रष्ट नेपाल काठमाडौले धरानमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी चैत्र महिनाको २२ गते ‘प्रथम गोर्खा ट्रेलब्लेजर’ आयोजना हुने जनाएको हो ।

ट्रष्टका अध्यक्ष महेन्द्र राईले विश्व शान्ति स्थापनाका लागि शहिद हुने वीर गोर्खालीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ट्रेलब्लेजरको आयोजना गर्न लागिएको बताए । उनले ट्रेलब्लेजरको लागि धरानमा सम्भावित क्षेत्रको खोजी जारी रहेको जानकारी पनि दिए ।

पहाडी क्षेत्रमा आयोजना गरिने यस ट्रेलब्लेजरमा अल्ट्रा धाविका मिरा राईको पनि सहभागिता रहने भएको छ । ३ सय जना मात्र सहभागी हुने उक्त ट्रेलब्लेजरको दुरी १५ किलो मिटर हुने र १६ वर्ष माथिकाले मात्र सहभागिता जनाउन पाउने आयोजकले बताएको छ । विजेता महिला तथा पुरुष प्रथमलाई २५ हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई १० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

सन् २००६ मा हङकङमा स्थापना भए पनि नेपालमा भने २०७५ श्रावण ३० गते दर्ता गरिएको यस ट्रष्टको युके र सिंगापुरमा पनि दर्ता गर्न प्रयासरत रहेको अध्यक्ष राईको भनाई छ । हरेक वर्षको अप्रिल ५ मा पुर्खा दिवस मनाउँदै आएको ट्रष्टले अघिल्लो दिन को आयोजना गर्दै आएको छ । अध्यक्ष राईका अनुसार ट्रेलब्लेजरकै अवसरमा चैत १५ गते कवि श्रवण मुकारुङको संयोजकत्वमा काठमाडौंमा कवि गोष्ठी समेत आयोजना गरिने भएको छ ।