शिवरात्रि सबै मानव जातिका लागि महान् पर्व

शिवरात्रि सबै मानव जातिका लागि महान् पर्व


■ ब्रह्माकुमार रामसिंह ऐर

परापूर्वकालदेखि पूजा, अर्चना, व्रत, जागरण आदि रीतिरिवाजबाट मनाइरहेको हेर्दा शिवरात्रि पर्व हिन्दू धर्मावलम्बी तथा सनातान मतका मानिसको मात्रै महत्वको पर्व हो । किनकि शिव नाम हिन्दूहरूका वेद, पुराण, उपनिषद्, गीता, महाभारत, रामायण आदि शास्त्रमा बढी प्राथमिकता र उच्च आस्थाका साथ उल्लेख एवम् महिमापूर्ण रूपमा वर्णन गरिरहेको पाइन्छ ।

खासगरी वर्षेनी फागुन कृष्णपक्षको चौधौँ रात्रिको बेला शिवरात्रिलाई धार्मिक तथा परम्परागत रूपमा हिन्दूहरूले नै धुमधाम, श्रद्धा, भक्ति र फल प्राप्तिको आशा राखी मनाउने गर्दछन् । व्रत बस्ने, जागरण गर्ने, उपासना गर्ने, धुनी जलाउनेलगायतका रीतिरिवाज तथा विधिविधान पनि हिन्दू मतावलम्बीमा बढी प्रचलनमा रहेको देखिन्छ । यी प्रचलित अवस्था र मान्यताको अध्ययनले साधारणतया उल्लेखित तथ्य नै प्रस्ट हुन आउँछ ।

तर, समग्र प्राचीन शास्त्र पुराण, अति प्राचीन सभ्यता र संस्कृति सबै मूल धर्मले स्वीकार गरेको पुष्ट्याइँलाई आत्मसात् गर्ने हो भने यो पर्व सर्वाधिक महत्व तथा सम्पूर्ण मानव जातिको नै आस्था, श्रद्धा र महत्वको पर्वका रूप सत्य सिद्ध हुन्छ । यस पर्वको सर्वोपरी सत्ता शिव परमात्मा कुनै एक जाति, धर्म र लिङ्गको मात्र नभई समस्त प्राणीजगत्कै पालनहार तथा तारनहार हो भन्ने सत्यलाई नकार्न सकिँदैन । निष्पक्ष रूपमा सत्यलाई स्वीकार गर्ने शुद्ध सकारात्मक मनोभावबाट हेर्ने हो भने शिवरात्रि पर्व सबैका लागि समान महत्व तथा श्रद्धाको पर्व हो ।

शिवरात्रि सर्वज्ञ, सर्वोपरी, सर्वोच्च परमज्योतिर्मय स्वरूप परमात्मा शिव कल्याणकारीले यस धरतीमा साकार प्रजापिता ब्रह्माको मानवीकायामा दिव्य प्रवेश भई महान् कर्तव्य गरेको यादगार पर्व हो । किनकि, परमात्माको जन्म हामी मनुष्यको जस्तो आमाको गर्भमा प्रवेश गरेर नभईकन ब्रह्माको भाग्यशाली रथमा प्रवेश गरेर हुने गर्दछ । पूर्वीय दर्शनका सबै साहित्य, कथा, पुराण आदिमा शिव ज्योतिर्मयको सर्वश्रेष्ठ स्थान रहेको पाइन्छ । शिव परमात्माको वर्णन सबै सभ्यता र संस्कृतिका धुरीका रूपमा रहेको देखिन्छ । प्राचीन इतिहास कथा तथा भाषाको आरम्भसमेत शिवबाट भएको उल्लेख छ ।

सबैले शिवको स्वरूपलाई प्रकाशमय नै वर्णन गरेका छन् । वाल्मीकि रामायणमा होस् वा महाभारत ग्रन्थमा होस् शिव परमात्मालाई आराधना र उपासनाको केन्द्रबिन्दुका रूपमा स्वीकार गरिएको छ तथा प्रकाशमय रूपमा नै व्याख्या गरिएको छ ।

पुराणमा उल्लेख भएअनुसार जब संसारको महाविनाश भयो त्यसबखत पृथ्वीको ठूलो हिस्सा जलमग्न अवस्थामा थियो । त्यसबेला अण्डाकार प्रकाश (शिव) प्रकट हुनुभयो । त्यसको यथार्थतालाई थाहा पाउन ब्रह्माजी गम्भीर भएर लाग्नुभयो । अन्तमा त्यस ज्योतिले आदेश गऱ्यो– ब्रह्मा अब तिमीलाई नयाँ सृष्टिको स्थापनाका लागि निमित्त बन्नुपर्छ । यस्तै प्रकारको उल्लेख मनुस्मृतिमा पनि छ । सृष्टिको आरम्भमा एक अद्भूत अण्डाकार ज्योति प्रकट भयो जो अत्यन्तै तेजस्वी र प्रकाशमान थियो । यजुर्वेदका कतिपय शब्दहरूमा पनि वर्णन छ कि सृष्टिको रचना गर्न विद्युत् पुरुष (ज्योतिर्लिङ्गम्) प्रकट हुनुभएको थियो ।

सम्राट विक्रमादित्य, राजा भतृहरि सबैले शिवलाई भक्तिको केन्द्रबिन्दु बनाएका थिए । कालिदासको मेघदूतमा शिवको नै महिमा छ भने प्रसिद्ध गायक तानसेनले समेत शिवभक्ति अर्थात् शिवलाई आफ्नो आराध्य देवका रूपमा मान्दथे । जान्नुपर्ने र नोट गर्नुपर्ने महत्वपूर्ण पक्ष के भने ती सबैले शिवको स्वरूपलाई प्रकाशमय नै वर्णन गरेका छन् । वाल्मीकि रामायणमा होस् वा महाभारत ग्रन्थमा होस् शिव परमात्मालाई आराधना र उपासनाको केन्द्रबिन्दुका रूपमा स्वीकार गरिएको छ तथा प्रकाशमय रूपमा नै व्याख्या गरिएको छ ।

हिन्दू तथा सनातन मान्यताभन्दा भिन्दै आस्था र विश्वास गर्ने मुख्य अन्य धर्ममा समेत कुनै न कुनै रूपमा शिव ज्योतिर्मयलाई नै आफ्नो परमेश्वका रूपमा लिएको पाइन्छ । उहाँहरूलाई पनि ज्योतिर्मय परमात्म सत्ताको साक्षात्कार भएको कथन पाइन्छ । हजरत मुसासँग त्यस अलौकिक शिखाले प्रत्यक्ष वार्ता गरेको तथा आफूलाई जोहेवा परमेश्वर भएकोसमेत बताएको यहुदीहरूको विश्वास छ । इजरायल देशमा वेलफेगो अर्थात् वाले नामको शिवको प्रतिमालाई ढोग्ने तथा त्यसलाई साक्षी राखी कसम खाने चलनसमेत छ । त्यसैको ठीक मिल्दो नाम भारतमा बालेश्वर नामले शिवलिङ्गको पूजाअर्चना गरिन्छ ।

त्यसैगरी इस्लाम अर्थात् मुसलमान धर्ममा समेत शिवरात्रि जस्तै शवेरात वा शबिबरातलाई धुमधामसँग प्रत्येक वर्ष श्रद्धापूर्वक मनाउने चलन छ । शोधकर्ताहरूको तर्क छ कि शबिबरात शिवरात्रिको नै अपभ्रंश हो । मुसलमानको पवित्र तीर्थ मक्का (अरबस्थित)मा संगे–असवत नामको शिवलिङ्ग आकारको चिह्नलाई नमन गरिने तथा त्यसको सातपटक परिक्रमा गर्ने चलन छ । भारतमा मकेश्वर नामको शिवलिङ्गको पूजा गरिने गरिन्छ । पवित्र ग्रन्थ कुरानमा अल्लाहलाई नूर ज्योतिका रूपमा नै स्वीकार गरिएको छ ।

प्रसिद्ध इतिहासकार कर्नाल टँट र हट्टनका शोधकार्यबाट सिद्ध भएको छ कि अरबको सबभन्दा प्राचीन शहरको नाम नै शिवम् थियो । बेबोलियन सभ्यतामा शिवलिङ्गलाई शिउन नामले पुकारिन्छ । मिश्रको सभ्यतामा, चिनी सभ्यता तथा बर्मा आदि देशमा पनि शिव प्रतिमाको नै गायन र मान्यता छ । अतः संसारभरिका प्राचीन शहरमा चाहे अमेरिकाको टेन्सी शहर होस् या दक्षिण अमेरिकाको सुरिनाममा वा जापानको आइसिस नगरमा अथवा इरानजस्ता देशदेखि युरोपका अन्य देशमा समेत इतिहासकालमा शिव प्रतिमा पूजन र गायनको केन्द्रबिन्दु हुनुका अतिरिक्त म्युजियमहरूमा समेत राखेको पाइन्छ ।

वर्तमान अज्ञानको घोर रात्रिको बेलामा परमात्मा शिवले नन्दी अर्थात् बुद्ध मानव प्रजापिता ब्रह्माको साकार शरीरमा प्रविष्ट भई संसारको पापाचार, अन्याय र अत्याचारको अन्त्य तथा श्रेष्ठाचार, सदाचार र पवित्र सृष्टिको स्थापनाको कार्य गरिरहनुभएको छ । मानव प्राणीले आफ्ना मनोविकारलाई सफा गर्ने तथा दैवी गुण धारण गरी विश्व बन्धुत्वको स्नेह र सम्बन्धमा गाँसिने बेला आएको छ ।

उपरोक्त सम्पूर्ण तथ्य तथा आँकडाबाट के सिद्ध हुन्छ भने मुख्य धर्मका धर्मपिता र पिर पैगम्बरले समेतले परमात्माको स्वरूपका बारेमा जुन सन्देश दिएका छन् त्यसमा ज्योतिर्मय स्वरूपको नै उल्लेख र महिमा गरिएको छ । प्रत्येकका अङ्गुली परमात्मातिर जाँदा उहाँ प्रकाशमय ज्योतिर्मय नै हुनुहुन्छ भन्ने सङ्केत हुन्छ । संसारभरि प्राप्त शिवलिङ्गको प्रतिमाले त्यही सत्य स्वरूपलाई पुष्टि गर्दछ । भगवान् कुनै भौतिक शरीरधारी नभएर एक शाश्वत प्रकाशस्वरूप हुनुहुन्छ ।

शिवरात्रि पर्वको महत्वलाई अझ प्रभावकारी र कल्याणकारी बनाउन सम्पूर्ण मानव जगत्लाई यस सत्यको बोध हुनुपर्छ कि यो पर्व हामी सबै मनुष्य आत्माका पारलौकिक पिता परमात्मा शिवज्योतिर्बिन्दुले दिव्य आवतरण लिई समस्त जगत्लाई अज्ञानताको अन्धकारबाट मुक्त गर्नुभएको यादगार दिवस हो । जतिखेर समस्त जगत् विकारको वशीभूत भई त्राहीमाम थियो, मानिसले मानिससँग गर्ने आसुरी व्यवहार र दानवी कुकृत्यबाट पीडित थियो, त्यस अज्ञानको घोर रात्रिमा नै आएर मुक्तेश्वर, पापकटेश्वर, सर्व दुःख हरेश्वर, ओमकारेश्वर परमात्मा शिव भगवान् पशुपतिनाथले ज्ञानको सत्य प्रकाशबाट सबैको अज्ञान अन्धकार मेटाई कल्याण गर्नुभएको थियो । धर्म, जाति, लिङ्ग, रङ्ग अनेक प्रकारका मतभेदबाट विभक्त मानव समाजलाई आत्मचेतनाको ज्ञान दिई सबैलाई ईश्वरका सन्तान हामी भाइभाइ हौँ भन्ने साक्षात्कार गराउनुभएको थियो । त्यही महान् कर्तव्यको यादगार पर्व शिवरात्रि पछि रीतिरिवाजका रूपमा मनाउने प्रचलन हुन गयो ।

पुनः वर्तमान अज्ञानको घोर रात्रिको बेलामा परमात्मा शिवले नन्दी अर्थात् बुद्ध मानव प्रजापिता ब्रह्माको साकार शरीरमा प्रविष्ट भई संसारको पापाचार, अन्याय र अत्याचारको अन्त्य तथा श्रेष्ठाचार, सदाचार र पवित्र सृष्टिको स्थापनाको कार्य गरिरहनुभएको छ । मानव प्राणीले आफ्ना मनोविकारलाई सफा गर्ने तथा दैवी गुण धारण गरी विश्व बन्धुत्वको स्नेह र सम्बन्धमा गाँसिने बेला आएको छ । यस चेतनाका साथ शिवरात्रि मनाउनाले यस पर्वको विश्वव्यापी महत्व पुनः स्थापित हुनेछ, सबैको बुद्धियोग एक परमात्मासँग जुट्न गई मानव आत्माको दिव्यीकरण भई सुख, शान्तिमय संसारको पुनर्स्थापना हुनेछ ।